सरकारले बजेट घोषणा गरेको ६ महिनापछि सुनको भन्सारदर घटाएको छ।
गत जेठ १५ गते तत्कालीन अर्थमन्त्री वर्षमान पुनले आर्थिक ऐन मार्फत सुनको भन्सारदर २० प्रतिशत पुर्याएका थिए। साउन १ देखि कार्यान्वयन गर्न डेढ महिनाअघि बजेट ल्याइए पनि भन्सार महसुलहरू बजेट सार्वजनिक गरिएको दिनबाटै कार्यान्वयन हुन्छ।
गत जेठअघि १५ प्रतिशत कायम रहेको सुनको भन्सारदर ५ प्रतिशत थप बढाएर २० प्रतिशत पुर्याइएको थियो। अघिल्लो मन्त्रिपरिषद बैठकबाट १० प्रतिशतमा झार्ने निर्णय भएको अर्थ मन्त्रालयका एक अधिकारीले बताए।
सरकारले सुनको भन्सारदर घटाएर कार्यान्वयनमा ल्याइसकेको छ। यद्यपि यो निर्णय अझै राजपत्रमा प्रकाशित भएको छैन।
'अतिरिक्तांक राजपत्रमा सोही दिनको मितिमा यो विषय प्रकाशित हुनेछ,' अर्थ मन्त्रालयका एक अधिकारीले बताए।
सामान्यतया, बजेटको दिन बाहेक राजस्व दर तथा भन्सार महसुल परिवर्तन गरिँदैन। तर यसपटक ठूलो मात्रामा भन्सार चुहावट र सुनको वैधानिक कारोबार घटेको कारण देखाउँदै बजेट सार्वजनिक भएको केही महिनामै भन्सार घटाइएको हो।
अर्थ मन्त्रालयले आर्थिक ऐनको दफा १८ उपदफा १ अनुसार भन्सार घटाउने प्रस्ताव लगिएको थियो। उक्त दफामा सरकारलाई राजस्व दर घटाउन, बढाउन वा छुट दिन सक्ने प्रावधान छ।
'प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए पनि नेपाल सरकारले आवश्यकता अनुसार यो ऐन र अन्य प्रचलित कानुनबमोजिम दस्तुर, शुल्क, महसुल वा करको दर घटाउन, बढाउन वा आंशिक वा पूर्ण रूपमा छुट दिन सक्छ,' उपदफामा उल्लेख छ।
भारत र नेपालको सुनको भन्सार महसुलमा ठूलो अन्तर देखिएपछि सरकारले महसुल समायोजन गर्न बाध्य भएको अर्थ मन्त्रालयका अधिकारीले बताएका छन्। गत वर्षदेखि नै वैधानिक रूपमा आयात भएर आउने सुनको कारोबारमा गिरावट आएको थियो।
चालु वर्षको बजेटमा सरकारले १५ प्रतिशतको भन्सारदर २० प्रतिशत पुर्याएको थियो। सोही समयमा भारतले बजेटमार्फत सुनको भन्सारदर जम्मा ६ प्रतिशत कायम गर्यो। यसअघि नेपाल र भारतमा समान भन्सारदर कायम रहेको अवस्थामा भारतले घटाएपछि दुवै देशको महसुलमा ठूलो अन्तर भएको थियो। यस्तो असमानताले नेपालमा सुनको तस्करी बढ्ने जोखिम देखिएपछि सरकार महसुल समायोजन गर्न बाध्य भएको हो।
व्यवसायीहरूका अनुसार भन्सार महसुल अन्तर एक तोला सुनको मूल्यमा २२ हजारसम्म पुगेको थियो। यो अन्तर कम गर्न अहिल्यै भन्सार घटाउनुपरेको अर्थका अधिकारीले बताएका छन्।
'कारोबार हुने तर दुई देशबीचको भन्सार अन्तरले ठूलो मात्रामा राजस्व गुम्ने भएपछि भन्सार घटाउनुपरेको हो,' अर्थका ती अधिकारीले भने।
भन्सार अन्तरकै कारण वैधानिक आयात भएको सुनको बिक्री हुन छाडेको बैंकर, व्यवसायी तथा सरकारी अधिकारीको भनाइ छ। दैनिक १० देखि १५ किलो वैधानिक सुन कारोबार हुने बजारमा पछिल्लो समय दुई किलो पनि हुन सकेको थिएन। भन्सार विभागको तथ्यांक अनुसार चालु वर्षको पहिलो तीन महिनामा एक अर्ब ८४ करोड २८ लाख रूपैयाँ बराबरको एक लाख ७४ हजार १०५ अर्थात् १४ हजार ९१३ तोला सुन आयात भएको छ।
परिमाणात्मक रूपमा अघिल्लो वर्षको तीन महिनामा आएको भन्दा यो ८२.१४ प्रतिशत कम हो। अघिल्लो वर्ष असोज मसान्तसम्म ९ लाख ७४ हजार ६०८ ग्राम सुन आयात भएको थियो।
यो वर्ष मात्र नभइ पछिल्लो तीन वर्षदेखि यसरी नै सुनको आयात घटेको छ। तिहारको धनतेरस (एकै दिन) मा ५० किलो सुन बिकेको प्रतिक्रिया व्यवसायीहरूले दिए पनि बैंकहरूले सुन नबिकेको गुनासो गरेका थिए। नेपालमा सुन आयात वाणिज्य बैंकहरूले गर्छन्।