त्रिभुवन अन्तर्राट्रिय विमानस्थल परिसरमा रहेको नेपाल आयल निगमको हवाई इन्धन डिपो स्थानान्तरण गरिने भएको छ।
विमानस्थलको उत्तरतर्फ नेपाली सेनाको गल्फ कोर्श नजिकै गुह्येश्वरीमा डिपो स्थानान्तरण गरिने भएको हो।
बुधबार एक कार्यक्रम गर्दै निगमले अत्याधुनिक प्रविधि सहितको डिपो निर्माणका लागि विस्तृत संभाव्यता अध्ययन (डिपिआर) गर्न नेपाल इञ्जिनियरिङ संस्थान, पुल्चोकसँग सम्झौता गरेको छ।
डिपिआर बनाउन दुई संस्थाबीच एक करोड ९८ लाख रूपैयाँमा सम्झौता भएको हो। नागरिक उड्डयन प्राधिकरण (क्यान) को ५० रोपनी जग्गामा डिपो बन्ने छ।
यो डिपोले स्थानीय बासिन्दाका साथै हवाई क्षेत्रमै जोखिम ल्याएकाले डिपो सार्न लागिएको सिनामंगल डिपो प्रमुख इ.प्रदिप यादवले जानकारी दिए।
'यो डिपो जोखिममा छ। धन्न अहिलेसम्म यहाँ कुनै दुर्घटना भएको छैन,' उनले भने।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्ड अुनसार डिपो स्तरोन्नति गर्नुपर्ने भएकाले पनि अन्यत्र सार्न लागिएको उनको भनाइ छ।
यादवका अनुसार इञ्जिनियरिङ संस्थानले बढीमा ६ महिनाभित्र डिपिआर तयार गरी निगमलाई प्रतिवेदन दिनेछ। तीन वर्षभित्रमा डिपो निर्माण कार्य सम्पन्न गरिने निगमको योजना छ।
क्यानले निगमलाई विगतदेखि नै पटक–पटक डिपो सार्न ताकेता गर्दै आएको थियो। तर, निगमले भने आलटाल गरिरहेको थियो।
गत साउनमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएपछि भने डिपो सार्न निगम तातेको गरेको हो। हवाई इन्धन डिपोतर्फ विमान दुर्घटना भएमा धेरै धनजनको क्षति हुने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि डिपो सार्न निर्देशन दिएका थिए।
गत साउन २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले एक वर्ष भित्रमा हवाइ इन्धन डिपो सुरक्षित र सुविधायुक्त स्थानमा सार्न निर्देशन दिएको थियो।
विमानस्थलको हवाई यातायात क्षमता अभिवृद्धि गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल स्तरोन्नति गरी फराकिलो र सुरक्षित बनाउने कार्य सुरू गरेको छ।
विमानस्थलको मुख्य धावन मार्गमा विमान पुग्न प्रयोग गरिने समानान्तर मार्ग (प्यारालल ट्याक्सी वे) निर्माण गर्न लागेकाले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) र प्राधिकरणको गुरूयोजना अनुसार मुख्य धावन मार्गको केन्द्रदेखि ट्याक्सी वे बीचको दुरी १७२.५ मिटर कायम गर्नुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ।
सो ट्याक्सी वे निर्माण गर्दा अहिले रहेको निगमको हवाई इन्धन डिपोको करिब आधा क्षेत्रफल हटाउनु पर्ने अवस्था छ।