रूपन्देहीको तिलोत्तमा नगरपालिका–१४ का कमल तिवारीले आफ्नै व्यवसाय गर्ने धोकोले सुरू गरेको मौरी पालनमा मग्न थिए। कमाइ पनि बढ्दै थियो।
छ वर्षअघि घरेलु तथा साना उद्योग कार्यालयमा ‘दुर्गालक्ष्मी मौरीपालन केन्द्र’ दर्ता गरेर मौरीपालन व्यवसाय सुरू गरेका थिए। चार वर्ष पश्चिम नवलपरासीको सुनवलमा मौरीपालन गरे। त्यहाँबाट तिलोत्तमा सरेर दुई वर्ष मौरीपालनमै बिताए।
कमलले कुल ८० घार मौरी पालेका थिए। सुरूका तीन वर्ष सन्तोषजनक आम्दानी गरे। त्यसपछि आम्दानी घट्दै र खर्च बढ्दै गयो। व्यवसायीहरूका बीचमा अस्वस्थ प्रतिस्पर्धा हुन थाल्यो। मह बेच्न धौधौ भयो।
अनि उनले व्यवसाय बन्द गरे।
‘बिचौलियाहरूले भारततिरबाट सस्तोमा ल्याउने महका कारण हामीले गाउँमा उत्पादन गरेको मह बजारमा बिक्री गर्न धौधौ पर्दै गयो। उपभोक्तालाई सस्तो चाहिन्छ, गुणस्तर हेर्दैनन्। हाम्रो महले बजार पाउन छोडेपछि व्यवसाय नै बन्द गरिदिएँ,’ उनले भने।
मौरीपालन छाडेपछि उनले बुटवलमा एउटा होटलमा काम गर्न थालेका छन्। मौरीपालन गर्नुअघि उनले कतार र कुबेतमा गरी १० वैदेशिक रोजगारी गरेका थिए।
‘विदेशमा कति बस्ने, स्वदेशमै केही व्यवसाय गरौं भन्ने सोचेर छ वर्षअघि घर आएँ तर व्यवसाय गर्न सहज भएन,’ उनी भन्छन्।
नेपालमा व्यवसाय गर्ने वातावरण नै पाउन नसकेको कमलको गुनासो छ।
‘बैंकलाई चर्को ब्याज तिरेर व्यवसाय ऋण लिनुपर्छ। उत्पादनले बजार नपाएर सस्तोमा बेच्नुपर्छ,’ उनले निराशा प्रकट गरे, ‘सरकारले दिने अनुदान किसानको पहुँचमा छैन। झोलामा कागजी व्यवसाय गर्नेहरूले खान्छन्। यस्तो वातावरणमा व्यवसाय गर्छु भन्नु नै अपराध रहेछ।’
उनले करिब पाँच लाख रूपैयाँ लगानी गरेर २५ घारबाट मौरीपालन सुरू गरेका थिए। घार थप्दै गए, लगानी करिब १५ लाख रूपैयाँ पुग्यो। व्यवसाय बन्द गर्दा उनीसँग ८० वटा घार थिए। उनले भने, ‘व्यापार नभएपछि लगानी पनि नउठाई व्यवसाय बन्द गर्नु पर्यो।’
तिलोत्तमा–११ का थानेश्वर शर्माले पाँच वर्षअघि कुखुरा पाल्न सुरू गरेका थिए।
‘भुल्का पोल्ट्री फर्म’ दर्ता गरेर पहिलो वर्ष १३ सय चल्ला पाले। पहिलो खेपमा कुखुरा राम्ररी हुर्के तर बजारमा मूल्य ह्वात्तै घट्यो। प्रतिकिलो १४० रूपैयाँमा बेच्नु पर्यो, लागत नै उठेन।
उनले दोस्रो र तेस्रो खेप पनि कुखुरा पाले तर बजारमा मूल्य घटेको घट्यै गर्यो। पछिल्ला दुई खेपमा मुश्किलले दानाको र चल्ला किनेको लगानी उठाउन सके। ब्रोइलरबाट नाफा लिन नसकेपछि उनले लेयर्स (अन्डा पार्ने) कुखुरा पाल्न सुरू गरे। लेयर्सले अन्डा दिन सुरु गरेको थियो, कोरोना भाइरस संक्रमणको महामारी आइदियो। अन्डा उत्पादन भयो तर बजार पुर्याउन सकेनन्।
उनले भने, ‘भूतले खाजा खाने बेला व्यवसाय सुरू गरेजस्तै भयो, फर्म सुरु गरेको एक वर्षमा कोरोना महामारी आयो, व्यवसाय पनि डुब्यो।’
कुखुरापालनले २० लाख रूपैयाँ ऋण थपिएको थानेश्वरले बताए। उनले भने, ‘आफ्नै जग्गामा फर्म सञ्चालन गरेकोले भाडा तिर्नु परेन तर खोर बनाउँदा र दानापानी खुवाउन भाँडा वर्तन जुटाउँदा १५–२० लाख रुपैयाँ खर्च भएको थियो। लगानी नउठ्ने देखेपछि फर्म नै बन्द गरिदिएँ।’
बुटवल उपमहानगरपालिका–११ की भगवती अर्याल कँडेलले गार्मेन्ट उद्योग चलाउँथिन्। सात वर्षअघि सुरू गरेको गार्मेन्टले दुई वर्ष सन्तोषजनक आम्दानी दियो। तीन तहका निर्वाचनका बेला राम्रो आम्दानी भयो। विद्यालयका पोशाक बनाउने काम पनि भ्याईनभ्याई नै थियो। तीन वर्षअघिदेखि गार्मेन्टमा अर्डर घट्दै गयो। सरदर दैनिक २० जनाले सिलाइको काम गर्ने उनको ‘एपी गार्मेन्ट उद्योग’ मा कामदारको संख्या घटाउनु पर्ने अवस्था भयो।
'हुँदाहुँदा चार जनालाई पनि सिलाइको काम नपुग्ने दिन आयो,' उनले भनिन्, 'नाफाको त के कुरा, व्यापार नै हुन छाडेपछि मैले यस वर्ष उद्योग बन्द गरेँ।'
बुटवलकी जमुना सुवेदी पनि गार्मेन्ट उद्योग चलाउँछिन्। उनका अनुसार चार वर्षअघिको तुलनामा उत्पादनमा ७५ प्रतिशतभन्दा बढी ह्रास आएको छ।
‘उत्पादन भएका वस्तु बिक्री नभएर गोदाममै थन्किएका छन्। बजारबाट माग आउँन छोडेपछि नयाँ उत्पादन हुने कुरै भएन,’ उनी भन्छिन्, ‘बिक्री नभएपछि उत्पादन घटाउनु पर्यो। बैंकको ब्याज, कामदारको तलब, घरभाडा बुझाउन नसकिने भयो।’
जमुनाका श्रीमान् पनि वैदेशिक रोजगारीमा थिए। दस वर्ष विदेश बसेका श्रीमानलाई समेत बोलाएकी थिइन्। अहिले व्यापार ठप्प भएपछि उनी निराश छिन्।
भन्छिन्, ‘उद्योग छोडेर फेरि विदेश जानुपर्ने जस्तो भएको छ। नेपालमा अहिले कुनै पनि उद्योग–व्यवसाय सञ्चालन गर्न सकिने अवस्था छैन।’
रूपन्देहीमा पछिल्लो एक वर्षमा कम्तीमा २०० वटा साना उद्योग बन्द भएका छन्। घरेलु तथा साना उद्योग कार्यालय, रूपन्देही (भैरहवा) का अनुसार गत आर्थिक वर्ष २०७९/८० मा २१७ वटा उद्योग खारेजीमा परेका छन्। कार्यालयका शाखा अधिकृत नेत्र भुसालले भने,यीमध्ये अधिकांश उद्योग सञ्चालकहरू स्वयंले खारेज गराएका हुन्।
‘गत वर्ष (२०७९/८०) उत्पादनमूलक ८४ वटा, कृषि तथा वनजन्य १९ वटा, पर्यटनतर्फ ५ वटा र ६३ वटा सेवामूलक उद्योग खारेजीमा परे,’ उनले भने।
उनका अनुसार उद्योग खारेज गराउन आएका अधिकांशले देशको आर्थिक अवस्थाप्रति निराशा प्रकट गर्दै वैदेशिक रोजगारीमा जाने बताएका थिए।
‘उद्योग बन्द गर्नुको कारण एउटामात्रै छैन,’ उनी भन्छन्, ‘अर्थतन्त्रमा देखिएको मन्दी, झन्झटिलो बैंकिङ प्रक्रिया, चर्को ब्याज, पारिवारिक व्यवसायलाई निरन्तरता दिन नयाँ पुस्ताको अनिच्छा, युवाहरूमा वैदेशिक रोजगारीप्रतिको आकर्षण जस्ता अनेक कारण छन्।’
घरेलु तथा साना उद्योग कार्यालय, रूपन्देहीका अनुसार करिब २०० उद्योग बन्द हुँदा कम्तीमा १२ हजार कामदारको रोजगारी गुमेको छ। लोडसेडिङ, आर्थिक मन्दी, बैंकको चर्को ब्याज र उत्पादनले बजार नपाउनु जस्ता कारणले उद्योग बन्द गर्नुपरेको उद्योगीहरूको भनाइ छ।
रूपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलका अनुसार औद्योगिक क्षेत्रको रूपमा चिनिएको रूपन्देहीमा एक वर्षमै २०० भन्दा धेरै उद्योग बन्द हुनुले उद्योग चलाउने अवस्था नरहेको देखाएको छ।
‘रूपन्देहीमा कोभिड महामारी, बैंकको ब्याजदार, आयात–निर्यातमा देखिएका नीतिगत समस्याजस्ता कारणले सानामात्रै होइन ठूला उद्योगहरू पनि मारमा परेका छन्,’ उनले भने।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजु गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा सञ्चालन गर्न ध्यान नदिनु, बैंकको ब्याज बढी हुनु, बजार नपाउनु जस्ता कारणले साना उद्योग समस्यामा परेको बताउँछन्।
‘ठूला उद्योग पनि समस्यामा छन् तर बन्द हुनेमा साना उद्योग धेरै छन्। अधिकांश ठूला उद्योगले उत्पादन घटाएका छन्। धेरैले २५ देखि ४० प्रतिशतसम्म मात्रै उत्पादन गर्ने गरेका छन्,’ उनले भने।
नवीकरण गर्ने पनि घट्दै
उद्योग–व्यवसाय बन्द गर्ने क्रम बढ्दै जाँदा नवीकरण गर्नेको संख्या पनि घट्दै गएको छ।
कार्यालयका शाखा अधिकृत भुसालका अनुसार कतिपय व्यवसायीले उद्योग नवीकरण गर्न बेवास्ता गर्ने गरेका छन्। नियमित नवीकरण गर्ने हो भने रुपन्देहीमा हरेक वर्ष कम्तीमा तीन हजार उद्योग नवीकरण हुनुपर्छ। घरेलु तथा साना उद्योग कार्यालय रूपन्देहीमा दर्ता रहेका झन्डै १८ हजार उद्योगमध्ये चालु आर्थिक वर्षमा हालसम्म एक हजार १०९ वटाले मात्रै नवीकरण गराएका छन्।
घरेलु तथा साना उद्योग कार्यालयले उद्योग र व्यापारतर्फ निजी र साझेदारी फर्म तथा प्रालि (निजी कम्पनी) दर्ता, नवीकरण लगायतका गर्ने गरेको छ। उक्त कार्यालयका अनुसार गत साउनसम्ममा १७ हजार ८२४ वटा उद्योग दर्ता छन्। चालु आर्थिक वर्ष हालसम्म नवीकरण गर्नेमा उत्पादनमूलक ५७४, कृषि तथा वनजन्य १२९, पर्यटनतर्फ १३९ र सेवामूलकतर्फ २६७ वटा उद्योग रहेका छन्।
‘उद्योगी–व्यवसायीहरूलाई नियमित नवीकरण गरेर उद्योग र फर्म सञ्चालन गर्नुपर्छ भन्ने जानकारी हुँदाहुँदै पनि नवीकरण गर्न चासो दिएको पाइँदैन,’ भुसालले भने, ‘सबै उद्योग नवीकरण गर्ने हो भने हरेक वर्ष कम्तीमा तीन हजार वटा उद्योग नवीकरण हुनुपर्छ तर एक तिहाई जतिमात्र नवीकरण हुने गरेका छन्।’
कार्यालयका अनुसार एक वर्षमा दर्ता हुने नयाँ उद्योगको संख्या र नवीकरण हुने संख्या बराबर जस्तै छ। गत आर्थिक वर्ष २०७९/८० मा एक हजार १३० वटा नयाँ उद्योग दर्ता भएका थिए।
रुपन्देहीमा उत्पादनमूलक सात हजार ३८४, कृषि तथा वनजन्य तीन हजार ३७२, पर्यटनमूलक दुई हजार ५६८ र सेवामूलक ४ हजार ४९९ वटा उद्योग दर्ता छन्। सूचना तथा प्रविधिसम्बन्धी एउटा उद्योग दर्ता छ।