महिला उद्यमीका कथा
कसैलाई उपहार दिनु छ, तर के दिने? कहाँ खोज्ने! के के सामग्री राख्ने!
यस्तो अन्यौल धेरैलाई हुन्छ।
यही अलमल सुल्झाउने उद्देश्यले सुरू भएको हो 'पर्क्स एन्ड पाइन्स'।
यहाँ नेपाली सामग्रीहरूको उपहार प्याकेज पाइन्छ। आफ्नो रूचिअनुसार प्याकेज अर्डर गरेर घरमै मगाउन सकिन्छ।
पर्क्स एन्ड पाइन्सका सञ्चालक हुन् काठमाडौंका स्मृति सुवेदी र दक्षिणा खड्का। उनीहरू देशका विभिन्न ठाउँबाट स्थानीयले बनाएका सामग्रीहरू संकलन गर्छन्, प्याक गरेर आकर्षक उपहार बनाउँछन् र अर्डरअनुसार बेच्छन्।
'उपहार दिने चलन बढेको छ। तर नेपालमै बनेका प्राकृतिक र वातावरणमैत्री सामान पाउन मुस्किल छ,' दक्षिणाले भनिन्, 'उपहार संस्कार पुनर्परिभाषित गर्न पर्क्स एन्ड पाइन्स ल्याएका हौं।'
उनका अनुसार पर्क्स एन्ड पाइन्सले प्रकृतिप्रेमी र स्थानीय उत्पादनमा रमाउनेहरूलाई लक्षित गरेर उपहार सामग्री तयार गर्छ। उनीहरूको उद्देश्य उपहार बिक्री गर्नु मात्र होइन, सकेसम्म आयातीत सामानको प्रयोग घटाउनु हो, नेपालमै बनेका वातावरणमैत्री उत्पादनको प्रयोग बढाउनु हो।
'हाम्रो कामको महत्त्व बुझ्ने धेरै हुनुहुन्छ,' स्मृतिले भनिन्।
पर्क्स एन्ड पाइन्समा ढाका कपडाबाट बनाएका टोपी र अन्य लुगा, झोला, पर्स, गुडिया, फूल, चकटी, फोटो फ्रेम, झुम्का, विभिन्न थरीका बिरूवा, गमला लगायत ५० भन्दा बढी सामग्री पाइन्छन्। यी सामग्री काठमाडौं उपत्यका र अन्य विभिन्न जिल्लाबाट मगाइन्छ।
पर्क्स एन्ड पाइन्समा चाडपर्व र उत्सवको विशेषताअनुसार उपहार सामग्री तयार हुन्छ। यो व्यवसायको खास विशेषता पनि यही हो। रक्षा बन्धन, मातृऔंसी, पितृऔंसी, तीज लगायत चाड तथा विवाह, जन्मदिन, वार्षिक उत्सव, लगायतका विशेष उत्सवका लागि प्याकेज तयार हुन्छ। स्मृति र दक्षिणा आपसमा छलफल गरेर निर्णय गर्छन्।
'कुन चाडपर्वमा के उपहार सामग्री तयार गर्दा ठीक होला भनेर पहिले नै सल्लाह हुन्छ,' दक्षिणाले भनिन्, 'कहिलेकाहीँ परिवारबाटै पनि सल्लाह र सुझाव पाउँछौं। हामीले बनाएको उपाहार प्याकेज धेरैले रूचाउनुभएको छ।'
सामान्यतया उपहार प्याकेजमा पाँचवटासम्म सामग्री राखिएको हुन्छ। गमलासहितको एउटा बिरूवा र नेपाली कागजमा सन्देश लेखेर पनि राखिदिन्छन्। कम्पनीले साउनका लागि विशेष उपहार राखेको थियो, महिलाका लागि हरियो र पहेँलो लुगा, चुरा, झुम्का बिरूवा र चकलेट समावेश भएको।
उनीहरूले हरेक चाडपर्वको खास अर्थ झल्काउने उपहार दिन प्याकेज ल्याएका हुन्। चाडपर्वको आफ्नै महत्व हुन्छ। उनीहरू त्यो महत्व उपहारबाट झल्काउँछन्।
'उपहार दिन एक-एकवटा सामान खोज्दै धेरै ठाउँ घुम्नु पर्दैन,' स्मृतिले भनिन्।
पर्क्स एन्ड पाइन्सले ग्राहकको मागअनुसार रोजेका उपहार सामग्री पनि राखिदिन्छ। ग्राहकहरूले फोन गरेर यस्तो अवसरमा के के दिँदा ठीक होला भनेर सोध्दा उचित सल्लाह दिएर प्याकेज तयार गरिदिन्छन्।
पर्क्स एन्ड पाइन्स सुरू भएको साढे दुई वर्ष पूरा भयो। व्यापार काठमाडौंबाहिरका सहरहरूमा पनि पुगेको छ। काठमाडौं उपत्यकामा अर्डर गरेकै दिन उपलब्ध हुन्छ। काठमाडौंबाहिर भने ठाउँ हेरेर दुई-तीन दिन लाग्छ।
स्मृति र दक्षिणाको चिनजान चार वर्षअघि भएको हो। दक्षिणा करिब एक दशकदेखि पर्यटन क्षेत्रमा थिइन्, ट्रेकिङ गाइड पनि हुन्। उनले बिजनेसमा स्नातक गरेकी छन्।
स्मृति अमेरिकामा फाइनान्स र मार्केटिङमा स्नातकोत्तर तहको पढाइ पूरा गरेर २०७६ सालमा स्वदेश फर्केकी हुन्। उनी कुनै नयाँ व्यवसाय गर्ने विचारमा थिइन्।
उनीहरूको भेट एक जना साथीमार्फत भएको थियो। धेरै कुराहरू मिल्ने जस्तो लागेर निरन्तर सम्पर्कमा रहे। भेट बाक्लो हुँदै गएपछि दुवैले केही नयाँ काम गर्ने सोच बनाए। कोरोना लकडाउनका बेला उनीहरूले 'गिफ्ट शप' चलाउनेबारे सोचे।
'उपहार लिने र दिने चलन भए पनि खोज्न धेरै ठाउँ घुम्नुपर्ने बाध्यता छ,' दक्षिणाले भनिन्, 'यो समस्या समाधान गर्दै नेपाली उत्पादनमा जोड दिएर व्यवसाय गर्ने सोचका साथ हामी अघि बढ्यौं।'
२०७७ फागुनमा उनीहरूले पर्क्स एन्ड पाइन्स सुरू गरे। दुवै जना प्रकृतिप्रेमी भएकाले वातावरणमैत्री सुनिने नाम जुराए।
'भ्यालेन्टाइन्स डे' मा गुलाफको फूल, चकलेट लगायत सामग्री उपलब्ध गराएर काम थाले। मध्यबानेश्वरमा सानो ठाउँ मिलाएर प्याकेजिङ र बिक्रीको काम गरे।
'कोरोनाकै बेला थियो। बिहान र बेलुका मात्र पसल खोल्न पाइन्थ्यो। सडकको छैउमा बसेर पनि गिफ्ट बेच्यौं। माग बढ्दै गयो,' दक्षिणाले भनिन्।
माग बढेपछि उनीहरूले थप सामानको खोजी गरे। कप डिजाइन गरेर बनाउन दिए। हस्तकलाका सामग्री र प्याकेजमा राख्ने सजावट खोजे। सबै मिलेपछि प्याकेज बनाएर कम्पनीको फेसबुक, इन्स्टाग्राम र टिकटकमा प्रचार गरे।
अर्डर धमाधम आउन थाल्यो।
'सुरूसुरूमा अर्डर आउँदा धेरै उत्साहित हुन्थ्यौं। स्कुटरमा सामान बोकेर काठमाडौं उपत्यकाभरि पुग्थ्यौं,' सुरूआती दिनहरूबारे स्मृतिले भनिन्, 'अर्डर बढ्दै गएपछि डेलिभरी कम्पनीसँग जोडियौं।'
पर्क्स एन्ड पाइन्सको प्याकेज विदेशमा रहेका नेपालीहरूले आफन्तलाई दिन पनि अर्डर गर्छन्। अमेरिका, अस्ट्रेलिया र बेलायतमा निर्यात पनि भएको छ। यहाँका व्यावसायिक कम्पनीहरूले पनि धेरै किन्छन्। युवाहरू पनि आकर्षित छन्।
अहिले यी दुई सहकर्मीलाई पर्क्स एन्ड पाइन्स सही समयमा सुरू गरिएछ भन्ने लागेको छ। उनीहरूबाहेक पर्क्स एन्ड पाइन्समा थप दुई जना सहयोगी छन्।
'आगामी दिनमा गिफ्ट गिभिङ कम्पनीका रूपमा नम्बर वान बनाउने हाम्रो लक्ष्य छ,' स्मृतिले भनिन्।
नेपाली गिफ्ट प्याकेज अन्तर्राष्ट्रिय बजारमा पुर्याउने उनीहरूको लक्ष्य छ। त्यस्तै पर्क्स एन्ड पाइन्सलाई इ–कमर्स कम्पनीका रूपमा पनि अघि बढाउने योजना छ। यसका लागि भने केही लगानी आवश्यक परेको छ। उनीहरू उपयुक्त लगानीकर्ताको खोजीमा छन्।
'गिफ्ट भनेकै खुसी हो। यसरी खुसी बाँड्न पाउँदा हामी उत्साहित छौं,' उनीहरू भन्छन्, 'नेपाली सामग्री जम्मा गरेर उपहार प्याकेज तयार गर्नु अर्को खुसीको कुरा हो।'
(पर्कस् एण्ड पाइन्सको वेबसाइटका लागि र इन्स्टाग्रामका लागि यहाँ क्लिक गर्नुहोस्)
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी