घर, कार्यालय, अस्पताल, होटल–रेस्टुरेन्ट या यस्तै ठाउँमा पानीको धारो मर्मत अथवा जडान गर्नुपर्नेछ?
वा बिजुलीको काम गर्न भरपर्दो सेवाप्रदायकको खोजीमा पो हुनुहुन्छ?
यसो हो भने तपाईंले 'धारा-बिजुली' लाई बोलाउनु सक्नुहुन्छ।
धारा-बिजुली सर्भिसेस प्रालिले चार वर्षदेखि घर र कार्यालयहरूमा बिजुली, प्लम्बिङ, एयर कन्डिसनिङ, सिसिटिभी, नेटवर्किङ लगायत जडान तथा मर्मतको काम गरिरहेको छ।
हालसम्म कम्पनीले १५ सयभन्दा बढी घर र दुई सयभन्दा बढी कार्यालयहरूमा सेवा पुर्याइसकेको छ।
धारा-बिजुलीका सञ्चालक हुन् प्रीतम सुवेदी र एलिस थापा।
यी दुई साथीले घरघरमा हुने बिजुली र प्लम्बिङको काम व्यावसायिक तरिकाले नहुने महसुस गरे। यसरी गरेको कामले दुर्घटना निम्त्याउने गरेको पाए। त्यसैले यो काम व्यवस्थित र व्यावसायिक बनाउन 'धारा-बिजुली' सञ्चालन गरेको उनीहरूको भनाइ छ।
'बिजुली र प्लम्बिङको काम संवेदनशील हुन्छ। यो काम व्यावसायिक तरिकाले गर्न जरूरी छ। यही सोचले धारा-बिजुली स्थापना भएको हो,' एलिसले भने।
उनका अनुसार पहिलेको तुलनामा अहिले मानिसहरूले यो क्षेत्रको संवेदनशीलता बुझ्न थालेका छन्। व्यावसायिक व्यक्ति खोजेर काम गराउन खोज्छन्।
'धारा-बिजुलीले सेवा मात्र दिँदैन। जनचेतना फैलाउने काम पनि गर्छ,' प्रीतमले भने।
कलेजका सहपाठी प्रीतम र एलिस दुवै इलेक्ट्रिकल इञ्जिनियर हुन्। उनीहरूले २०७४ सालमा काठमाडौं इञ्जिनियरिङ कलेजबाट पढाइ पूरा गरे। यसपछि आआफ्नै ढंगले काममा लागे। प्रीतमले करिब दुई वर्ष सूचना प्रविधि क्षेत्रमा र एलिसले उपत्यकाबाहिर हाइड्रोपावर परियोजनामा काम गरे।
दुई साथीको कुराकानी भइरहन्थ्यो। कुरैकुरामा बजारमा बिजुली र प्लम्बिङमा संस्थागत र व्यावसायिक ढंगले काम नभएको र व्यक्तिगत स्तरमा काम हुने गरेको प्रसंग चल्यो।
उनीहरूले आफ्नै घर र कार्यालयमा पनि समस्या भोगेका थिए।
'आवश्यक परेका बेला यो काममा मान्छे नपाइने समस्या छ। फेरि व्यावसायिकता पनि हुँदैन,' प्रीतमले भने, 'आफ्नो विज्ञता भएको क्षेत्रमा आवश्यक ठानेर हामी संस्थागत ढंगले सेवा दिने निष्कर्षमा पुग्यौं।'
दुई जना मिलेर २०७६ कात्तिकमा 'धारा-बिजुली सर्भिसेस प्रालि' स्थापना गरे। धुम्बाराहीमा एउटा कोठा भाडामा लिए। एक जना प्लम्बर र एक जना इलेक्ट्रिसियन साथमा लिए। धारा-बिजुली सेवाबारे प्रचारप्रसार थाले। एक, दुई गर्दै बिस्तारै सेवाग्राहीहरूले सम्पर्क गरे।
काम सुरू भएको थियो, घरायसी सेवाग्राहीको संख्या बढ्दै थियो। एकाएक कोरोना लकडाउन भयो। धारा-बिजुलीको काममा पनि असर पर्यो।
'पहिलो लकडाउनमा काम पूरै रोकियो। जहाँबाट सुरू भएको थियो, त्यहीँ पुग्यो,' प्रीतमले भने, 'लकडाउनपछि फेरि शून्यबाट काम थाल्यौं।'
लकडाउनको समय उनीहरूले खेर जान भने दिएनन्। प्रचार र बजारीकरणका तरिकाहरू खोजे। यही काममा सक्रिय भए। लकडाउन खुकुलो हुँदै गएपछि धारा-बिजुलीको काम पनि सुरू भयो। घरेलु सेवामा सीमित रहेको काम व्यावसायिक क्षेत्रमा पुग्यो।
आवासीय घरहरूमा प्रायः शनिबार र सार्वजनिक बिदाको दिनमा काम हुन्छ। कार्यालयहरूमा बिदाका दिनबाहेक सधैं काम हुन्छ। जरूरी अवस्थामा बिदामै पनि हुन्छ।
कार्यालयहरूमा सेवा सुरू भएपछि एयर कन्डिसनिङ, सिसिटिभी क्यामरा, नेटवर्किङ, रंगरोगन लगायत काम पनि आउन थाल्यो। कार्यालयहरूले धारा-बिजुलीसँग वार्षिक सम्झौता गरेर सेवा लिन थाले।
'ठूला कर्पोरेट कार्यालयहरूमा यस्ता किसिमका काम गर्न छुट्टै विभाग पनि हुँदो रहेछ तर प्राविधिकहरू बाहिरबाटै खोज्ने रहेछन्। चाहिएको बेला नपाउने समस्या रहेछ,' प्रीतमले भने, 'हामीसँग सम्झौता भएपछि तुरून्तै काम हुन्छ। कार्यालयहरूमा हामी चौबीसै घन्टा सेवा दिन्छौं।'
केही घरपरिवारले पनि सम्झौता गरेका छन्। यसो गर्दा ग्राहकलाई फाइदा हुन्छ। आवश्यक पर्दा तुरून्तै काम हुन्छ। धारा-बिजुलीले सेवाग्राहीसँग इलेक्ट्रिकल, प्लम्बिङ, कम्प्युटर र सिसिटिभी क्यामरा गरी चार क्षेत्रमा सम्झौता गर्छ।
प्रीतमका अनुसार अहिले २७ वटा कार्यालयसँग वार्षिक सम्झौता छ। सम्झौता नभएका ५० वटाभन्दा बढी कार्यालय नियमित ग्राहक छन्।
धारा-बिजुलीले भ्याट (मूल्यअभिवृद्धि कर) सहितको संस्थागत बिल दिन्छ। यस्तो बिलले कार्यालयहरूलाई सजिलो हुन्छ।
हाल धारा-बिजुलीमा ३० जना नियमित कर्मचारी छन्। आंशिक समय र परियोजनाका आधारमा काम गर्ने थप २५ जना छन्।
उनीहरू सेवाको क्षेत्र विस्तार पनि गर्दैछन्।
'कर्पोरेट क्षेत्रमा आवश्यक प्रायः सबै सेवा उपलब्ध गराउँछौं। आर्किटेक्ट, इन्टेरियर डिजाइन, सिभिल इञ्जिनियरिङको काम पनि गर्छौं,' एलिसले भने।
२८ वर्षीय एलिसको जिम्मामा कम्पनीको इञ्जिनियरिङ र मार्केटिङतर्फको काम छ। समग्र सञ्चालन र व्यवस्थापन २७ वर्षीय प्रीतमले हेर्छन्।
आफ्नै कुनै व्यवसाय गरेर स्वरोजगार बनौं र रोजगारी पनि सिर्जना गरौं भन्ने सोचको परिणाम धारा-बिजुली भएको उनीहरू बताउँछन्।
'एलिस र मेरो विचार मिल्ने भएकाले मिलेर काम सुरू गर्यौं। हामीले सोचेअनुसार नै काम भएको छ,' प्रीतमले भने।
यी दुई युवाले सुरूमा धारा-बिजुलीबारे आआफ्ना घरमा कुरा गर्दा समर्थन पाएका थिएनन्। स्वाभाविक रूपमा, इञ्जिनियर भएका सन्तानले सुरक्षित जागिर गरून् भन्ने अभिभावकको चाहना थियो।
'सुरूमा त घरमा कुरा बुझाउनै मुश्किल पर्यो। सरकारी जागिरमा प्रयास गर्न वा विदेश जान सल्लाह दिनुहुन्थ्यो,' प्रीतमले भने, 'यस्तो व्यवसाय सुरक्षित नहुने र लगानी डुब्न सक्ने चिन्ता गर्नुहुन्थ्यो।'
अहिले भने दुवै आफ्नो काम अगाडि बढाइसकेका छन्। परिवारबाट पनि प्रोत्साहन छ।
'हामीलाई काम गर्न सक्छौं भन्ने आत्मविश्वास थियो। समयक्रममा प्रमाणित गर्दै लग्यौं। आफ्नो व्यवसाय राम्रो हो भन्ने महसुस गरायौं। अहिले परिवारका सदस्यहरू सन्तुष्ट हुनुहुन्छ,' एलिसले भने।
उनीहरूले कम्पनी सुरू गर्दा १४ लाख रूपैयाँ लगानी गरेका थिए। काठमाडौं उपत्यकामा मात्र सीमित सेवा हाल पोखरा, चितवन, जनकपुर, विराटनगर लगायत सहरमा पुगिसक्यो।
धारा-बिजुली सेवाको गुणस्तरमा कुनै कमी नगर्ने उनीहरूको दावी छ।
'यहाँ प्लम्बिङ र बिजुलीको ९९ प्रतिशत काम व्यक्तिगत स्तरमा हुने गरेको छ। यस्तो काम असुरक्षित छ,' प्रीतमले भने, 'धारा-बिजुलीले व्यावसायिक रूपमा काम गर्छ। आफ्नो कामको जिम्मा लिन्छ।'
धैर्यमा विश्वास राख्ने यी दुई युवा व्यवसायीले काम गर्न चाहनेका लागि नेपालमा धेरै क्षेत्रमा सम्भावना देखेका छन्। सिक्दै अघि बढ्नुपर्छ भन्ने उनीहरूको सिद्धान्त हो। त्यस्तै सिद्धान्तकै परिणामस्वरूप उनीहरूको कम्पनी धारा र बिजुलीबाट विस्तार हुँदै इञ्जिनियरिङसम्म पुगेको छ।
सेवाग्राही बढ्दै गए पनि दक्ष जनशक्ति भने अभाव छ। पढेका र काम जानेकाहरू विदेश जाने प्रवृत्ति भएकाले निर्माण र मर्मत क्षेत्रमा माग र आपूर्तिको सन्तुलन नभएको उनीहरू बताउँछन्।
(धारा-बिजुलीको फेसबुक पेजमा जान यहाँ क्लिक गर्नुहोस्। सम्पर्क नम्बरः ९८४६८९८८४८)