काठमाडौंको सहरी कोलाहलबाट थोरै टाढा गएर केही समय बिताउने योजना बनाउँदै हुनुहुन्छ भने 'टुसाल मल्टी-भेन्यु' राम्रो विकल्प हुनसक्छ। यहाँको शान्त वातावरणमा आफ्ना परिवारजन र साथीहरू मिलेर रमाउन सकिन्छ।
तारकेश्वर नगरपालिका–८, मनमैजुमा, बालाजु बाइपासबाट दुई किलोमिटरबाहिर छ टुसाल मल्टी-भेन्यु। एक दिनको फुर्सद पर्याप्त हुन्छ।
एकै ठाउँमा धेरै प्रकारका सुविधा पाइने भएकाले नाममा 'मल्टी-भेन्यु' जोडिएको सञ्चालकहरूमध्येका एक विजय सापकोटा बताउँछन्।
'सुविधा सीमित भएको भए भेन्यु मात्रै हुन्थ्यो, धेरै सुविधा भएकाले मल्टी-भेन्यु भनेका हौं,' उनले भने।
नामको सुरूमा 'टुसाल' राख्नुमा पनि खास कारण छ। यो ठाउँको पुरानो नाम टुसाल थियो। त्यही पुरानो नाम स्मरण गराउन गराउन खोजेको विजयले बताए।
'यहाँ ठूलो फुटबल मैदान थियो। उखुबारी पनि थियो। उखुलाई नेपाल भाषामा 'टु' र बारीलाई 'बो' भन्ने रहेछ,' उनले प्रस्ट पारे, 'यसैबाट अपभ्रंस हुँदै टुसाल भयो। पछि बस्ती बढ्दै जाँदा टोलको नाम फेरिएर पुरानो नाम हरायो।'
टुसाल मल्टी-भेन्यु साढे दस रोपनी क्षेत्रफलमा फैलिएको छ। जमिन २५ वर्षका लागि भाडामा लिएका छन्।
आगन्तुकले बिहान पाँच बजेदेखि राति दस बजेसम्म सेवा पाउँछन्। यहाँको हेल्थ क्लबमा जिम, कार्डियो, सउना, स्टिम, ज्याकुजी (तातो पानी हुने बाथटब) र स्पा छ। स्विमिङ पुल नहुने कुरै भएन। सुविधायुक्त रेस्टुरेन्ट र बार छन्। बैठक र पारिवारिक तथा सामाजिक समारोहका लागि सेवा उपलब्ध छ।
यहाँको खास विशेषता शान्त वातावरण नै हो। धूलोधुँवा छैन, बाहिरको हल्ला आउँदैन।
आगन्तुकहरूका लागि तीन रोपनी जमिनमा पार्किङ सुविधा छ।
'सहरभित्रका बैंक्वेटमा पार्किङको असुविधा हुन्छ। हाम्रोमा यथेष्ट छ। पार्किङको सुविधा राम्रो भएन भने ठूलो कार्यक्रमका आगन्तुकहरूलाई समस्या हुन्छ,' विजयले भने, 'भित्र रमाइरेको, नाचिरहेको, खाइरहेको, काममा व्यस्त रहेको मानिस गाडी मिलाउन बाहिर निस्कनुपर्यो भने मजा हुँदैन।'
टुसाल मल्टी-भेन्युको निर्माण 'नियो क्लासिकल' शैलीमा गरिएकाले राणाकालीन दरबारको झल्को आउने उनी बताउँछन्।
यहाँ दुइटा स्विमिङ पुल छन्। वयस्कतर्फ पाँच सय जनाको र बालबालिकातर्फ दुई सय जनाको क्षमता छ। बालबालिकाले साढे तीन फिटसम्म र वयस्कले साढे सात फिटसम्म गहिराइमा पौडीको मजा लिन सक्छन्।
वयस्कलाई पाँच सय र बालबालिकाले तीन सय रूपैयाँ तिरेपछि दिनभरि स्विमिङको मजा लिन पाइन्छ। स्कुलका विद्यार्थीका प्याकेजमा दुई सय रूपैयाँ लाग्छ।
अर्को राम्रो के छ भने महिलाका लागि बुधबार र शुक्रबार स्विमिङ निःशुल्क छ। स्वीमिङ पुल परिसर फराकिलो छ। पानीको शुद्धतामा पर्याप्त ध्यान दिएको विजयको भनाइ छ।
'स्विमिङ पुल अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाएका छौं। यहाँ प्रयोग भएका सामान अस्ट्रेलियाबाट ल्याएका हौं,' विजयले भने, 'कम्पनीले यहाँ राष्ट्रियस्तरको स्विमिङ च्याम्पियनसीप पनि गर्दै आएको छ। गत वर्ष पनि गरेका थियौं। अब असार १५ गते हुँदैछ।'
उनका अनुसार हेल्थ क्लबमा राखिएका मेसिन अत्याधुनिक हुन्, सबै मेसिन युरोपेली ब्रान्डका। यहाँ 'सर्टिफाइड ट्रेनर' पनि छन्।
हेल्थ क्लबका लागि पुरूषले मासिक पाँच हजार रूपैयाँ तिर्नुपर्छ। महिलालाई ५० प्रतिशत छुट छ, आधा तिरे पुग्छ।
स्विमिङ, हेल्थ क्लब र रेस्टुरेन्टमा वार्षिक ग्राहक बन्ने सुविधा छ। यसमा पनि महिलालाई केही छुट छ।
'हेल्थ क्लबमा महिला सहभागिता बढाउन विशेष छुट दिइएको हो। अझै पनि महिलाहरू हेल्थ क्लब जाने संस्कार बसिसकेको छैन,' उनी भन्छन्, 'यो संस्कृति बनाउनुपर्छ भनेर हामीले छुट दिएका हौं।'
टुसाल मल्टी-भेन्युको अर्को विशेषता स्थानीय (लोकल) र मल्टी-कुजिन (बहु-परिकार) खानाको स्वाद लिन पाउनु हो। लोकलमा कालिज, खसी, कुखुरा, ट्राउट माछा, हाँसका परिकार पाइन्छ। नेवारी खाजा सेट पनि पाइन्छ तर बफ (राँगा/भैंसी) को परिकार छैन। पिजा, पास्ता, तन्दुरी चिकेन, पनिरटिका लगायत खानेकुरा पनि छ।
भान्सामा पाँचतारे होटलमा काम गरेका एक्जुकेटिभ सेफ भएको विजयले बताए। परिकारमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइन्छ। तरकारीहरू पनि स्थानीय किसानहरूसँगै किन्न खोजिरहेको उनले बताए।
टुसाल मल्टी-भेन्यु धेरै महँगो पनि नभएको उनी बताउँछन्।
'सामान्य पार्टी प्यालेसकै मूल्यमा तारेहोटलले दिनेसरहको खाना दिन्छौं। कुनै पनि सुविधा धेरै महँगो छैन,' उनले भने।
यहाँ एकपटकमा १५ सय जनालाई सेवा दिन सक्ने बैंक्वेट छ। विवाह, ब्रतबन्ध, पास्नी र यस्तै सामाजिक तथा पारिवारिक शुभकार्यका लागि आवश्यक सुविधा छन्। मान्छे थोरै हुँदा एकपटकमा तीन-चार वटासम्म भोज गर्न सकिन्छ।
हाल यहाँ रात बिताउने सुविधा छैन। तर धेरै ग्राहकले बस्ने सुविधा माग गरेकाले योजना बनाइरहेको उनले बताए।
कोरोनाकालमा बन्न सुरू भएको यो मल्टी-भेन्यु साढे एक वर्षअघि सञ्चालनमा आएको हो। विजयसहित सात जनाले हालसम्म यहाँ २५ करोड रूपैयाँ लगानी गरेका छन्।
विजय पेसाले विद्यालय सञ्चालक र जग्गा व्यवसायी पनि हुन्। जग्गाको काम गर्दागर्दै रिसोर्ट खोल्ने सोच आएको उनले बताए।
'जग्गाको काम दिगो र उत्पादनमूलक होइन। यसबाट रोजगारी सिर्जना गर्न सकिँदैन,' उनले भने, 'दिगो काम गरेर रोजगारी सिर्जना गर्न रिसोर्ट खोलेका हौं।'
टुसाल मल्टी-भेन्युका लगानीकर्ता सातै जना तारकेश्वर नगरपालिकाका बासिन्दा हुन्। उमेर हिसाबले पनि युवा छन्, ४५ वर्षमुनिका। आफ्नै ठाउँमा व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्य र चाहना रहेको विजयले बताए।
'हाम्रो ठाउँ धार्मिक, सांस्कृतिक हिसाबले पर्यटकीय स्थल हो। हामीले यहाँको पर्यटन प्रवर्द्धन गर्न चाहेका हौं,' उनले भने।
यहाँ मौका मिलाएर फेसन सो, लाइभ ब्यान्ड, डिजे कार्यक्रम पनि आयोजना हुन्छ। बालबालिकाका लागि केही विशेष कार्यक्रम हुन्छन्।
यहाँ शनिबार र सार्वजनिक बिदाका दिन आगन्तुकहरू धेरै हुन्छन्। आगन्तुकको सेवाका निम्ति ६० जना कर्मचारी छन्। यिनमा आधाभन्दा बढी स्थानीयवासी हुन्। स्थानीयवासीले यहाँ सुविधाको कार्ड पनि पाएका छन्।
विजयका अनुसार हाल मन्दीले व्यापारमा केही असर पारेको छ तर निराश हुनुपरेको छैन।
'परिस्थिति सुधार हुँदै जाने विश्वास छ,' उनले भने।
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी