रनमाया पुन फुर्सदमा अल्लोको धागो कात्छिन्। तानबाट अल्लोकै कपडा बुन्छिन् र बजार पठाउँछिन्।
पर्वतको मोदी गाउँपालिका–३ भुरूंगाकी हुन् उनी। गाउँमा अरू महिलाले पनि उनले जस्तै रैथाने हस्तकला सामानहरू उत्पादन गर्छन्।
उनीहरूले उत्पादन गर्ने कपडाको माग बजारमा धेरै छ। तर त्यो माग धान्न सकिरहेका छैनन्। बजारबाट माग आएअनुसार मूल्य पनि पाउन सकेका छैनन्।
'बल्ल बल्ल कपडा बनाएर पठायो, दुःख गरे जति पैसा आउँदैन,' ४५ वर्षीया रनमायाले भनिन्, 'कपडा लगेको वर्षदिन बित्दा पनि व्यापारीले पैसा दिँदैनन्।'
रनमायाका अनुसार स्थानीय सीपअनुसार अल्लोबाट धागो कात्न सजिलो छैन। अल्लो खोज्न गाउँबाट करिब चार घन्टा उकालो हिँडेर जंगल पुग्नुपर्छ। अल्लो एक प्रकारको सिस्नो भएकाले सावधानी अपनाएर काट्नुपर्छ।
घारीबाट ल्याएको अल्लो गाउँ ल्याएर खरानी मिसाएर पकाइन्छ। करिब तीन किलो अल्लोलाई तीन घन्टा लगातार आगोमा पकाएपछि मात्र पाक्छ। यसरी पकाइएका अल्लो खोला वा नजिकैको धारामा लगेर धोइन्छ।
'खरानीमा पकाएको अल्लो मुंग्राले ठटाउँदै धुनुपर्छ,' उनले अल्लोबाट धागो निकाल्ने प्रक्रिया बताउँदै भनिन्, 'त्यसपछि फेरि पिठो दलेर सुकाउनुपर्छ।'
यति प्रक्रिया पूरा गर्न कम्तीमा तीन दिन लाग्छ। पिठो दलेर सुकाइएको अल्लो भुवा जस्तो देखिन थाल्छ, त्यसपछि चर्खामा राखेर धागो निकालिन्छ। धागो निस्किएपछि तानमा बुनेर कच्चा कपडा तयार गरिन्छ।
यसरी तयार भएको कपडा सिलाएर आवश्यकता अनुसारका सामग्री बनाउन सकिन्छ। अल्लो मात्र प्रयोग गरेर बनाइएका कपडा दरो हुने भएकाले नेपालीहरूले खासै मन पराउँदैनन्। त्यसैले बजारमा पाइने कटन धागो मिसाएर कपडा तयार पारिरहेको उनले बताइन्।
इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराका अध्यक्ष इन्द्र भण्डारीका अनुसार अल्लो मात्र प्रयोग गरिएका समग्री विदेशी पर्यटकले भने मन पराउँछन्।
'विदेशीले हेरेरै कुन सामग्री प्रयोग गरेर बनाइएको हस्तकला सामग्री हो भनेर थाहा पाउँछन्,' उनले भने, नेपालीले भन्दा विदेशीले यस्ता सामग्री धेरै किन्छन् पनि।'
गाउँमा दुःख गरेर अल्लोबाट कपडा बुन्नेहरू श्रम अनुसारको मूल्य नपाएको गुनासो गर्छन्।
अल्लोबाट एक किलो धागो कात्न मात्र १५ दिनसम्म समय लाग्ने अल्लो उत्पादक भद्रकला पुनले बताइन्। धागो कातेर कपडा बुन्दा धेरै श्रम खर्च हुने भए पनि त्यसको मूल्य निकै सस्तो परिरहेको उनको गुनासो छ।
'अल्लोको कपडा भनेर बजारबाट माग आउँछ, हामीले पठाएको पनि हो,' उनले भनिन्, 'एकदम सस्तोमा लैजान्छन्, त्यही पनि बेलामा पैसा दिँदैनन्।'
कपडा बनाएर बजार पठाउँदा आफूहरूको दैनिक ज्यालासमेत नउठ्ने उनको भनाइ छ। दुःख गरेअनुसार मूल्य नपाएकै कारण धेरैले अल्लोको धागो निकाल्ने काम छाडेको भद्रकलाले बताइन्।
तत्कालीन जिल्ला विकास समिति पर्वतले २०६५ सालतिर घुरूंगामा 'भुमे अल्लो उद्यमी समूह' गठन गरेर १७ जना स्थानीय महिलालाई तालिम दिएको थियो। तालिमसँगै उनीहरूलाई धागो कात्न चर्खा र कपडा बुन्ने तान पनि अनुदानमा दिएको थियो। उनीहरूले ती तान गाउँकै सामुदायिक घरमा राखेका छन्। श्रमअनुसार मूल्य नपाउँदा तालिम लिएकामध्ये ११ जनाले छाडिसकेका छन्। बाँकी ६ जनामध्ये पनि दुई जनाले बुढ्यौलीका कारण आँखा कम देख्ने रनमायाले बताइन्।
'दुःख कति हो कति, पैसा त ज्याला पनि उठ्दैन,' उनले भनिन्, 'हाम्रा साथीहरू धेरै जसोले काम नै छाडिसके।'
धागो निकाल्ने प्रक्रिया निकै लामो र दुःख पनि हुने भएकाले मेसिन भइदिए सजिलो पर्ने भद्रकलाले बताइन्।
'मेसिन आइदिए धागो निकाल्न सजिलो हुन्थ्यो,' उनले भनिन्, 'हामीलाई सजिलो हुन्छ भनेर कसले दिन्छ र।'
पोखरामा स्थानीय हस्तकला सामग्री उत्पादन तथा विक्री वितरण गर्दै आइरहेका व्यवसायीहरूको संस्था एगाले गत जेठ अन्तिममा गाउँगाउँ पुगेर स्थानीय हस्तकला उत्पादकसँग अन्तर्क्रिया गरेको थियो। एगाको समूहले पोखराबाट पर्वत, म्याग्दी, बागलुङ र मुस्ताङको लोमान्थाङसम्म पुगेर स्थानीय उत्पादक, व्यवसायी र जनप्रतिनिधिसँग अन्तर्क्रिया गरेको एगा अध्यक्ष भण्डारीले बताए।
स्थानीय सीप र स्रोतसाधन प्रयोग गरेर बनाइने हस्तकला सामग्री उत्पादन गर्न सरकारले चासो नदिएको हिमाली अल्लो कपडा उत्पादन लघु उद्यमी समूहका अध्यक्ष विष्णुकुमारी गुरूङले बताइन्।
'वनबाट अल्लो ल्याउनेदेखि कपडा उत्पादन गरेर बजारमा बेच्दासम्म सरकारको साथ चाहिन्छ,' उनले भनिन्, 'हामीलाई कुनै पनि सरकारले आवश्यक सहयोग गरेनन्।'
गुरूङले म्याग्दीमा अल्लोबाट विभिन्न सामग्री उत्पादन एवं विक्री वितरण गर्दै आएकी छन्। जंगलमा प्रशस्त अल्लो भए पनि मूल्य नपाउँदा उत्पादन बढ्न नसकेको उनले बताइन्।
'जंगलमा हाम्रा स्रोतसाधन खेर गइरहेको छ,' उनले भनिन्, 'बजारमा माग छ भनिन्छ, तर किन मूल्य पाइँदैन?'
त्यस्तै म्याग्दीमा नेपाली कागज उत्पादन गरिरहेका मोतिराज गौतमले भने आफूले मागअनुसार कागज उत्पादन गर्न नसकेको बताए। अदालतदेखि सरकारी अड्डामा लिखत राख्नसमेत नेपाली कागज प्रयोग भइरहेको उनले बताए। मालिका कागज उद्योग चलाएका गौतमले स्थानीय सामुदायिक वनबाट लोक्ता ल्याएर कागज उत्पादन गर्छन्।
कोरोना महामारीपछि म्याग्दीका अन्य चार वटा कागज उद्योग बन्द भएको उनले बताए।
म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल क्षेत्री देश आर्थिक मन्दीमा रहेका बेला स्थानीय उत्पादनलाई प्रोत्साहन दिने नीति सरकारले लिनुपर्ने बताउँछन्।
'म्याग्दीका वन र खनिज पदार्थबाट यहाँ धेरै जना स्वरोजगार बनेका छन्, रोजगारी पाएका छन्। यहाँका ढुंगा पोखरा पुगेका छन्,' उनले भने, 'आर्थिक मन्दीबाट पार पाउन सरकारले स्थानीय स्रोतसाधनबाट उद्यम गर्न युवालाई प्रोत्साहन गर्नुपर्छ।'
मुस्ताङमा उत्पादन भएका हस्तकला सामग्री भने विदेशीले जस्तै नेपालीले पनि चाख दिएर किन्ने गरेका छन्। उनीहरूले उत्पादन गरेका जाडोमा लगाउने कपडाका सामग्री घुम्न आउने नेपाली र विदेशी दुवैले मन पराउने गरेको लोमान्थाङका व्यवसायी कर्मा डिण्डु गुरूङले बताए।
'हामीले बनाएको सामान विदेशीले पनि किन्छ, नेपालीले पनि किन्छ,' उनले भने, 'बनाउन सके जति पनि बिक्री हुन्थ्यो।'
एगाका पूर्व अध्यक्ष विश्वराज पोखरेलले विदेशी पर्यटकका लागि नेपाली हस्तकला सामग्री निकै महत्वपूर्ण रहेको बताए।
'विदेशीले नेपाल आउँदा यहीँका घरेलु उत्पादन किन्न खोज्छन्, हामीले उत्पादन गर्न सक्नुपर्छ,' उनले भने, यसले आयआर्जनमा बढावा दिन्छ। पर्यटनलाई पनि सघाउ पुर्याउँछ।'
स्थानीय उत्पादनलाई देश विदेशमा पुर्याउने काम आफूहरूले गरिरहेको भन्दै पोखरेलले पोखरादेखि मुस्ताङसम्मका उत्पादकलाई सरकारले सहयोग नगरेको पाएको बताए।
'हामीले चार जिल्लामा गरेको अन्तर्क्रियामा अधिकांश उत्पादक साथीहरूले सरकारबाट कुनै सहयोग नपाएको, मेसिन चाहिएको बताउनुभएको छ,' उनले भने, 'हस्तकला एउटा पर्यटकीय उत्पादन भएकाले सरकारले साथ दिनुपर्छ भनेका छौं।'
एगा अध्यक्ष भण्डारीले बजारीकरण अभावमा गाउँगाउँका उत्पादकले श्रमअनुसार मूल्य पाउन नसकेको बताए।
'बजारीकरणको समस्या छ, सीप र दक्ष जनशक्ति पनि पलायन भइरहेका छन्,' उनले भने, 'अहिले नै गाउँगाउँका उत्पादकलाई सहयोग गर्न सकिएन भने भइरहेको सीप र प्रविधि पनि हराउन सक्छ।'
हस्तकला सामग्री उत्पादन गर्न आफूहरूले तीनै तहका सरकारलाई झक्झक्याएको तर कुनै पनि सरकारले नसुनेको गुनासो भण्डारीले गरे।
वनजंगलमा पाइने अल्लो, लोक्ता, गाँजा लगायत कच्चा पदार्थबाट बनेका मौलिक सामग्री प्रशोधन गर्न आधुनिक प्रविधि र मेसिन भित्र्याउन सरकारको सहयोग आवश्यक पर्ने उनले बताए।
'गाउँगाउँमा स्थानीय कच्चा पदार्थबाट सामग्री उत्पादन गर्ने लघु उद्योग सरकारले खोलिदियोस्। गाउँमै स्वरोजगार बढ्छ,' उनले भने, 'यस्ता सामग्रीको बजार पर्यटकीय क्षेत्र छ, विदेशमा पनि छ।'