विदेशी मिठाइ, चकलेट, च्युंगम (चुइगम) लगायत परिकार हामीकहाँ धेरै खपत हुन्छ। यस्तै केही उत्पादनहरू भने नेपालमा उत्पादन भएर विश्व बजारमा पनि पुगेका छन्।
यसको उदाहरण हो 'चोको-फन' चकलेट।
लक्ष्मी ग्रुप अन्तर्गतको सुजल डेरीले उत्पादन गर्ने कन्फेक्सनरी, चकलेट लगायत उत्पादन विश्व बजारमा समेत परिचित छन्। सुजलका ४० भन्दा बढी कन्फेक्सनरी ब्रान्ड बजारमा छन्।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका लक्ष्मी ग्रुपका प्रबन्ध निर्देशक अन्जन श्रेष्ठका अनुसार १४ वटा देशमा सुजलका उत्पादन निर्यात भइरहेको छ।
'विश्वका १४ देशमा हाम्रो उत्पादन पुगिरहेको छ। माग बढ्दो छ। अन्य देशमा पनि हामी विस्तार गर्ने सोचमा छौं,' अन्जनले भने।
अमेरिका, क्यानडा, अस्ट्रेलियाका साथै, एसिया, अफ्रिका तथा मध्यपूर्वका राष्ट्रमा यी उत्पादनहरू निर्यात हुने गरेका उनले जानकारी दिए।
लक्ष्मी ग्रुप पोखराबाट फैलिएको व्यापारिक घराना हो। श्रेष्ठका अनुसार जम्मा तीन सय रूपैयाँ लगानीबाट मिठाइ व्यापार सुरू गरिएको थियो। सन् १९७३ मा लक्ष्मी मिठाइ भण्डारबाट सुरू भएको यात्रा २०२३ सम्म आइपुग्दा दूधजन्य उत्पादनका साथै, प्याकेजिङ उद्योग, अटोमोबाइल्स, डन्डी, स्टिल हुँदै खाद्य उद्योगसम्म विस्तार भएको छ।
तीन वर्ष अघिबाट लक्ष्मी ग्रुप अन्तर्गतको समृद्धि स्टिलले आफ्ना उत्पादन बजारमा ल्याएको छ। यसले वार्षिक दुई लाख टन डन्डी उत्पादनको क्षमता राख्छ।
लक्ष्मी ग्रुपले सुजल डेरीलाई विस्तार गर्ने योजनाअनुसार काम सुरू गरेको श्रेष्ठ बताउँछन्। सातै प्रदेशबाट उत्पादन गर्ने योजना रहे पनि तत्काल मध्य नेपाल र पूर्वी नेपालमा उत्पादन विस्तारमा रहेको उनले बताए। त्यस्तै होटल तथा होटल तथा सेवामूलक उद्योगमा आफ्नो लगानी विस्तार गर्ने योजना छ।
महँगो ब्याजदर, लगानी योग्य रकम अभाव, मागमा आएको कमी, उधारो रकमको समस्या, यी र यस्तै कारण लक्ष्मी ग्रुप अहिले आफ्नो लगानी विस्तारको योजना 'पर्ख र हेर' को स्थितिमा छ।
तीस वर्ष लामो व्यावसायिक जीवनमा अहिले जस्तो कठिन समय कहिल्यै नभोगेको श्रेष्ठ बताउँछन्।
'सिनियरहरूसँग पनि सोध्ने गर्छु, सबै यस्तो समस्या कहिल्यै नदेखेको बताउनुहुन्छ। मागमा निकै कमी आएको छ,' उनले भने, 'हाम्रा उद्योगहरूमै क्षमताको ३०/४० प्रतिशत मात्रै उत्पादन भएको छ।'
अहिलेको समस्या सिर्जना हुनु अन्तर्राष्ट्रिय कारणहरूका साथै सरकारी नीति पनि रहेको उनी बताँउछन्।
'२७ प्रतिशतसम्म गरिने कर्जा विस्तारलाई सरकार १२ प्रतिशतमा सीमित राख्ने योजना बनाएको छ। अहिले त ४/५ प्रतिशत पनि लगानी विस्तार भएको छैन,' उनले भने, 'सरकार आफैंले कर्जा लिन खोजेका कारण पनि समस्या देखिएको हो।'
सरकारले व्यवसायीका समस्या छिटो सम्बोधन नगरेको कारण अन्यौल बढ्दै गएको पनि उनको भनाइ छ। व्यवसायी सडकमा आउने पर्ने स्थिति सिर्जना भएको छ। उपभोग बढ्ने तर उत्पादन बढ्न नसक्ने परिस्थिति सिर्जना हुनु देशको अर्थतन्त्रका लागि दुर्भाग्य हो। यसको दोषी सरकार र नीति निर्माता भएको उनको गुनासो छ।
'सरकार प्रोत्साहन होइन, नियमन र नियन्त्रण गर्ने नीति ल्याउँछ। व्यवसायीका कुरा सुनेर समस्या समाधान गरिदिने होइन, कमजोरी गर्ने बाटो तय गरेर थुन्ने योजना बुन्छ,' उनले भने।
लगानीमैत्री वातावरण बन्न र लगानी विस्तार गर्ने दिन छिट्टै आउने अपेक्षा छ उनको।
लक्ष्मी ग्रुपले हाल तीन हजार दुई सय रोजगारी सिर्जना गरेको छ। आगामी पाँच वर्षमा यो संख्या पाँच हजार पुर्याउने लक्ष्य छ। बुवा गणेशबहादुर श्रेष्ठको नेतृत्वमा रहेको लक्ष्मी ग्रुपमा प्रबन्ध निर्देशकका रूपमा छोराहरू सुनिल, अन्जन, निराजन र निराकर खटिएका छन्।
सबै भाइहरूले एउटा क्षेत्रमा प्राथमिकता दिने पारिवारिक नीति छ।
'हामी को कुन काममा केन्द्रित हुने भनेर कार्यविभाजन गरेका छौं। मैले निर्माण उत्पादनहरू हेरेको छु,' उनले भने।
लक्ष्मी ग्रुपको व्यवसायमा तेस्रो पुस्ता पनि प्रवेश गरिसकेको छ। उनका दुई छोराहरू अनुभव र अनुकूल व्यवसायमा आइसकेका छन्।
उनी अब आफ्नो परिवार मात्रै होइन, देशैभरका व्यवसायीलाई उत्पादनमा लाग्न प्रोत्साहन मिल्ने गरी सरकारसँग मिलेर नीति बनाउन चाहेको प्रतिक्रिया दिन्छन्।
'मैले साना तथा मझौला उद्योगका समस्याहरू बुझेको छु। ठूला उद्योगीका समस्याबारे पनि जानकार छु। अहिले लगानी गर्न, उद्योग खोल्न धेरै जना निरूत्साहित भएको देखिन्छ,' उनले भने, 'यसलाई कसरी सहजीकरण गर्न सकिन्छ, कुन नीति बाधक छन् भन्ने विषयहरू औंल्याएर सरकारसँग हातेमालो गर्ने योजना छ।'
अन्जन श्रेष्ठ यही चैत २९ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवार छन्। यो पदमा उनीसँगै त्रिवेणी ग्रुपका रामचन्द्र संघाई र औषधि उद्योगी उमेशलाल श्रेष्ठ पनि प्रतिस्पर्धामा छन्।