नन्दप्रसाद चौलागाईंको परिवारमा तीन जना अपांगता भएका सदस्य छन्। उनकी श्रीमती नन्दरूपा पूर्ण रूपमा दृष्टिविहीन हुन्। छोरीमा बौद्धिक अपांगता छ। नन्दप्रसाद आफ्नै आधा शरीर चल्दैन। मेरूदण्डको पक्षघात भएको छ।
धेरैले उनीहरूलाई भन्थे, अपांगता भएकाले के गर्न सक्छन् र?
यस्तै भन्नेहरूलाई उनको परिवारले व्यवसाय गरेर देखाएको छ।
उनीहरू मिठाइ राख्ने बाकस (स्वीट बक्स) बनाउँछन्। यही काममा तीनै जना व्यस्त हुन्छन्। मिठाइ बक्स बनाउने व्यवसायले घर खर्च चलाउन मद्दत गरेको छ।
सुर्खेतका नन्दप्रसाद अहिले ६८ वर्षका भए। उनले अर्डर भएका ठाउँहरूमा आफैं बक्स पुर्याउँछन्। आफूसँग भएको चारपांग्रे स्कुटरमा बक्स राखेर बजारसम्म लैजान्छन्।
उनीहरूको यो व्यवसाय २०५५ सालबाट सुरू भएको हो। त्यो साल सुर्खेतमा 'सिन्धु सुधार' भन्ने संस्था पुगेको थियो। संस्थाले दृष्टिविहीनहरूलाई आयआर्जनका उपाय सिकाउँथ्यो। संस्थाका कर्मचारीहरू वीरेन्द्रनगर–१० बुँदबुँदीस्थित नन्दप्रसादको घरमा पनि पुगे।
'संस्थाबाट दुई जना भाइहरू आएर तपाईंको परिवारले हाम्रो संस्थाको सदस्यता लिनुहोस्, हामी केही तालिम भएपछि सहभागी गराऊँला भन्नुभएको थियो। हामीले लियौं,' नन्दप्रसादले भने, 'केही समयपछि दृष्टिविहीन भएकाहरूका लागि कागजी सामग्री तयार गर्ने सीप सिकाउने तालिम भयो।'
त्यति बेला वीरेन्द्रनगर नगरपालिकाको सहयोगमा भएको सातदिने तालिममा उनकी श्रीमती नन्दरूपा सहभागी भइन्। नन्दरूपाको सहयोगीका रूपमा उनी तालिम भएको ठाउँमा जान्थे। त्यही बेला उनले पनि मिठाइ बक्स लगायत कागजी सामग्री बनाउने सीप सिके।
'त्यो तालिममा मेरी श्रीमतीसहित २५ जना सहभागी थिए,' उनले भने, 'म श्रीमतीको सहयोगीका रूपमा तालिममा जान्थेँ। श्रीमतीलाई सहयोग गर्न जाँदा मैले पनि काम सिकिहालेँ।'
परिवारका अधिकांश सदस्य अपांगता भएर घरमै बस्नुपर्ने अवस्था थियो। यो सीपले उनीहरूको जीवनमा नयाँ मोड ल्याइदियो। तालिम लिएर आएपछि केही आम्दानीको बाटो पनि सुरू गरौं भन्ने हिम्मत आयो। उनीहरूले तालिमको सदुपयोग गर्ने सल्लाह गरे।
अनि सुरू गरे किनमेल गर्दा प्रयोग गरिने कागजका थैला बनाउने काम।
त्यति बेला प्लास्टिकको कालो झोला चल्तीमा थियो। त्यो झोला किन्दा ३०० रूपैयाँ किलो पर्थ्यो। चौलागाईं दम्पतीले बनाएका कागजका झोला ८० रूपैयाँ किलो पर्थ्यो। तैपनि बिकेन। उनीहरूले बनाएका झोला प्रयोग गर्न कोही व्यवसायी तयार भएनन्।
'हामीले बनाएका झोला प्रयोग गरिदिनुपर्यो भनेर खाद्य पसल, खाजा पसल, बदाम बेच्ने ठेलावालालाई अनुरोध गर्यौं। तर बिकेन। अनि हामीले त्यो काम छाडेर स्वीट बक्स बनाउन थालेका हौं,' उनले भने।
मिठाइ बक्स बनाउने विचार आएपछि नन्दप्रसादले वीरेन्द्रनगरकै एक जना चिनजानको मिठाइ पसल गर्ने व्यापारीलाई सम्पर्क गरे। तिनले नेपालगञ्जका अर्का एक व्यापारीसँग भेट गराइदिए।
नेपालगञ्जका व्यापारीले नन्दप्रसादको कुरा सुनेपछि कच्चा पदार्थ उपलब्ध गराउन तयार भए। त्यसपछि चौलागाईं परिवारको मिठाइ बक्स बनाउने व्यवसाय सुरू भयो।
बक्स तयार भएपछि एक जना अपांगाता भएकै मिठाइ व्यवसायीले उनको सामान किन्ने भए।
'म पनि अपांगता भएको मान्छे, तपाईंले बनाएका बक्स म किन्छु भन्नुभयो,' नन्दप्रसादले सम्झिए, 'त्यसपछि त म पनि विभिन्न पसलहरू पुगेर बक्सको बजारीकरण गर्न थालेँ। मैले भेटेका सबै व्यापारी मेरो सामान किन्न तयार हुनुभयो।'
उनले व्यापारीलाई बुझाउँदा बक्सका बारेमा मात्र भनेनन्, अपांगताबारे पनि धेरै कुरा भने।
व्यापारीहरूलाई उनी यसरी सम्झाउँथे रे- म एकपटक तपाईंकोमा माग्न आएँ भने तपाईंले ५/१० रूपैयाँ दिनुहोला। एक गिलास चिया दिनुहोला। त्यसरी दिनुभयो भने मलाई माग्ने बानी लाग्छ। मलाई माग्ने नबनाउनुस्। बरू मैले बनाएका सामान किनिदिनुहोस्।
यसरी आखिरमा आत्मनिर्भर हुने बाटो पहिल्याएका हुन् नन्दप्रसादले।
उनीहरूले नियमित रूपमा भने बक्स बनाउँदैनन्। थोरै बनाएर राखे पनि अरू बजार मागअनुसार नै बनाउने हुन्। बक्सको कच्चा पदार्थ नेपालगञ्जबाट ल्याउँछन्। बक्समा लेखिने कुरा छाप्ने र कटिङ गर्ने मेसिन किन्न नसकेकाले नेपालगञ्जबाट तयार गरेर ल्याउनुपरेको नन्दप्रसादले बताए।
उनीहरूलाई मिठाइ पसलबाट मात्र होइन, विभिन्न भोज, पूजा, बिहे, तालिम, गोष्ठीहरूमा खाजा खुवाउन चाहिने बक्सको पनि माग आउँछ। सुर्खेतको वीरेन्द्रनगरबाहेक मेहलकुना, छिन्चु, बाबियाचौर, सहारे जस्ता ठाउँहरूमा आफूले बनाएका बक्स जाने गरेको नन्दप्रसादले बताए। केही मात्रामा दैलेख पनि पुग्छ।
नन्दप्रसादका अनुसार एउटा सेट बक्स तयार पार्न ३० रूपैयाँ लाग्छ। उनले बजारमा ३८ रूपैयाँमा बेच्छन्। सेटमा २५० ग्राम, ५०० ग्राम र एक किलो अट्ने तीनवटा बक्स हुन्छन्।
सुरूमा उत्पादन गर्दा उनले १५ रूपैयाँमा एउटा सेट बेच्थे। त्यति बेला लागत ८–१० रूपैयाँ लाग्थ्यो।
वीरेन्द्रनगर बजारभित्र माग गरेका ठाउँमा उनी आफैं बक्स पुर्याइदिन्छन्। उनले चलाउने स्कुटरमा राखेर पुर्याउन मिल्छ। थोरै माग गरेकाहरूले घरमै आएर लैजान्छन्। वीरेन्द्रनगरबाहिर भने गाडीमा राखेर पठाउने गरेका छन्।
नन्दप्रसाद पहिले नेपाली सेना थिए। २०३२ सालमा सेनामा प्रवेश गरेका उनको जागिरकै बेला मेरूदण्डको पक्षघात भएको थियो।
उनका अनुसार २०४१ सालतिरको कुरा हो। ड्युटीमै हुँदा उनी अचानक बेहोस भए। उनलाई सैनिक अस्पतालमा भर्ना गरियो।
'लगातार १० वर्षसम्म अस्पतालको एउटै बेडमा बस्नुपर्ने भयो। विभिन्न विधिबाट उपचार गर्दा यो अवस्थामा आइपुगेँ,' उनले भने।
सैनिक संगठनमा २४ वर्ष एक महिना सेवाअवधि पूरा गरेर उनी निवृत्तिभरणमा निस्किएका हुन्।
आफूलाई आउने पेन्सन र व्यवसायबाट भएको आम्दानीले परिवार चलाउन समस्या नभएको उनी बताउँछन्।
मिठाइ बक्सबाट उनीहरूको मासिक यतिउति आम्दानी हुन्छ भन्ने यकिन छैन। तर वार्षिक हिसाब गर्दा कम्तीमा तीन लाख रूपैयाँ बराबरको कारोबार हुन्छ। यो व्यवसाय घरमै गरिने भएकाले कोठा/पसल भाडाको खर्च छैन।
'अहिले हामीले गरेको व्यवसाय ठूलो त होइन। तर अपांगता भएकाहरूले अवसर पाए गरेर खान सक्छन् है भनेर देखाउनु थियो,' उनले भने, 'म यसमा सन्तुष्ट छु। अहिलेसम्म घाटा पनि परेको छैन।'