विद्यालय तहमा पढ्दापढ्दै कुनै विद्यार्थी व्यवसायी बन्न सक्छ?
बाटो देखाउन स्कुलले नै मद्दत गर्दा बन्न सक्दो रहेछ!
यसको उदाहरण हुन् सुर्खेतको बराहताल गाउँपालिका, बड्डीचौरकी २१ वर्षीया कमला विक।
विद्यालय तहको पढाइ पूरा गर्दा नगर्दै उनी व्यवसायी भइन्। पढ्दापढ्दै उनले गाउँपालिकाको केन्द्र रहेको बड्डीचौर बजारमा हस्तकला सामग्रीको पसल सुरू गरिन्।
कक्षा १२ उत्तीर्ण गरेपछि उनलाई पसलमा काम गर्ने फुर्सद मिलेको छ। आजकाल अधिकांश समय पसलमै बित्छ। जनज्योति हस्तकला उद्योगका नाममा उनको उद्योग र व्यापार चलेको छ। पसलको कारोबार राम्रो भएकाले उनलाई व्यवसाय बढाउने हौसला मिलेको छ।
'मैले आफू पढेकै विद्यालयमा चुरा, पोते, माला बनाउने तालिम लिएकी हुँ,' कमलाले भनिन्, 'अहिले त्यही तालिमले मलाई व्यवसायी बनाएको छ।'
साढे एक महिनाको तालिम क्रममा बनाएका केही सामग्री बेच्दा भएको कमाइले उनलाई पसल चलाउने हिम्मत जगाइदिएको हो।
कमला पढेको जनज्योति माध्यमिक विद्यालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) र अन्य विभिन्न क्षेत्रसँगको समन्वयमा तालिम सञ्चालन गरेको थियो। हालसम्म यस्तो तालिममा २५० जना विद्यार्थी सहभागी भएका छन्। उनीहरूमध्ये अधिकांश विद्यार्थीले व्यक्तिगत रूपमा पेसा-व्यवसाय गरिरहेको विद्यालयका प्रधानाध्यापक नारायण सिग्देलले बताए।
'हामीले तालिममा सहभागी गराएकाहरूले नै व्यवसाय गर्न विद्यालयबाट ऋण लिएका थिए। त्यसमध्ये धेरैले तिरिसकेका छन्,' सिग्देलले भने, 'तालिममा सहभागी भएका अधिकांश विद्यार्थी कुनै न कुनै व्यवसायमा संलग्न छन्।'
विद्यालयले 'पढ्दै-कमाउँदै र कमाउँदै-पढ्दै' अवधारणा ल्याएको तीन वर्ष भयो। स्कुलका लेखापाल प्रेम सिंजालीका अनुसार यस्तो ऋण लिँदा कुनै धितो राख्नुपर्दैन। ब्याज पनि तिर्नुपर्दैन। फिर्ता गर्ने निश्चित समय हुन्छ। कारणवस ढिला भए विद्यालयले थप समय दिन्छ। विद्यार्थीले ऋण तिर्ने दर पनि राम्रो छ।
जनज्योतिले तालिम दिएका बेला कमला कक्षा ११ मा पढ्दै थिइन्। तालिममा तिर्नुपर्ने दुई हजार रूपैयाँ शुल्क विद्यालयबाटै ऋण लिइन्। चुरा, पोते र माला बनाउन सिकाउने तालिममा सहभागी भइन्। उनको समूहमा २५ जना प्रशिक्षार्थी थिए। काठमाडौंबाट आएका प्रशिक्षकबाट क्रिस्टल, मोती र पोतेबाट विभिन्न डिजाइनका माला बनाउन सिकिन्।
पहिलो चरणको एकहप्ते तालिममा प्रशिक्षार्थीहरूले बनाएका चुरा–पोते आफन्तहरूले किनिदिए। समूहमा भाग लगाउँदा कमलाले एक हजार रूपैयाँ पाइन्। त्यही एक हजारबाट पनि उनले व्यापार गरिन्।
'प्रशिक्षक म्यामलाई भनेर चुरा, पोते र माला बनाउने सामान मगाएँ,' कमलाले भनिन्, 'सामान आएपछि फुर्सदको समयमा घरमै बनाउन थालेँ।'
ती सामान बेचेर तीन हजार रूपैयाँ कमाइन्। त्यही कमाइले विद्यालयबाट लिएको ऋण तिरिन्।
दोस्रो चरणमा स्कुलले सिटिइभिटीसँगको समन्वयमा ३८ दिने निःशुल्क तालिम गर्यो। यसमा कमलाले औंठी, कानमा लगाउने गहना लगायत बनाउन सकिन्।
स्कुलले दिएका सुविधा प्रयोग गर्दै मेहनत साथ अघि बढ्छु भन्ने अठोट कमलाले गरिन्। दोस्रो चरणको तालिम चलिरहेकै बेला बड्डीचौर बजारमा कोठा भाडा लिइन्। आफ्नो समूहका प्रशिक्षार्थी साथीहरूले बनाएका चुरा, पोते, माला, औंठी, कानमा लगाउने गहना लगायत सामान राखेर पसल सुरू गरिन्। पसल चल्न थाल्दा तालिम सकिइसकेको थियो।
यो साढे एक वर्षअघिको कुरा हो।
पसलमा ग्राहक बढ्दै गए। गहनासँगै कस्मेटिक सामान पनि खोज्न थाले। कमलाले अलिअलि गर्दै सामान बढाइन्।
पसल सुरू गरेपछि उनले तालिम दिने प्रशिक्षकका रूपमा पनि काम गर्ने मौका पाइन्। बहिनीलाई पसलमा राखेर आफू तालिम दिन गइन्। सुर्खेतकै गुटु, बाँकेको कोहलपुर र नेपालगञ्जमा तालिम दिइन्। कोहलपुरमा एक वर्षमै तीनपटक तालिम चल्यो। उनले आफ्नो स्कुलमै पनि ११ कक्षाका विद्यार्थीलाई तालिम दिइन्।
पसलबाट कमाएको नाफा र प्रशिक्षकका रूपमा पाएको पारिश्रमिक जम्मा गरेर उनले बजारमै अर्को एउटा पसल किनिन्। विद्यालयबाट ३० हजार रूपैयाँ ऋण लिएर लगानी थपिन्। दुवै पसललाई एउटै बनाएर व्यापार बढाइन्।
'अरूलाई तालिम दिँदा मेरो सिप खारियो, पैसा कमाइ पनि भयो,' कमला भन्छिन्, 'तालिम र पसलबाट कमाएको पैसाले व्यापार बढाएँ। अहिले कारोबार राम्रो छ। महिनामा कम्तीमा एक लाख रूपैयाँको कारोबार हुन्छ। चाडपर्वको समयमा बढ्छ। नाफा पनि राम्रै छ।'
औंठी, पोते, माला, कानको टप लगायत केही सामान उनी आफैं बनाउँछिन्। ग्राहकहरूले खास डिजाइनका सामान अर्डर गर्छन्। कमला युट्युबबाट डिजाइन सिक्छिन् र माग पूरा गर्छिन्।
२१ वर्षीया कमलाको जन्म वीरेन्द्रनगरको लाटीकोइलीमा भएको हो। पाँच कक्षासम्म त्यहीँको स्कुलमा पढिन्। उनका बुबा कामका लागि भारतमा थिए। कमला १२ वर्षकी हुँदा उनकी आमा दोस्रो बिहे गरेर अन्यत्रै गइन्। कमला र उनका दुई भाइबहिनी मावली हजुरआमासँग हुर्के। उनले ६ कक्षादेखि मावलीघरमै बसेर जनज्योति माविमा पढिन्। बड्डीचौर उनीहरूको मामाघर हो।
'ममी गएपछि (दास्रो बिहे गरेपछि) बाबा भारतबाट आउनुभएन। हामी मामामाघरमै हुँदा ममी गएकाले हजुरआमाले हामीलाई घर पठाउन सक्नुभएन,' उनले भनिन्।
दोस्रो बिहे गरेर गए पनि उनकी आमाले माया मारिनन्। छोराछोरीलाई खर्च पठाइरहिन्। केही वर्षपछि बुबा पनि आए। छोराछोरी आफ्नो साथमा लैजान चाहेका थिए तर उनीहरू जान चाहेनन्।
अहिले कमला आफैं कमाउन सक्ने भएकी छन्। व्यापारले उत्साहित बनाएको छ, आत्मनिर्भरता बढेको छ। वीरेन्द्रनगरमा स्नातक तह पढ्ने तयारी गर्दै छिन्। व्यापार र पढाइ एकसाथ अघि बढाउने योजना छ।
'सानैदेखि बाबाआमाको साथ छुटेको मान्छे हुँ। पढेर जागिर गर्नुपर्छ भन्ने लाग्थ्यो। अहिले व्यापारले मेरो हौसला बढाएको छ। व्यापार चलाउँदै पढ्छु,' उनले भनिन्।