गत वर्ष लकडाउनका कारण नेपालको अर्थतन्त्र चार दशकपछि ऋणात्मक भयो। लाखौंले रोजगारी गुमाए, कयौं व्यवसाय धरासायी भए, केही सामान्य रूपमा चले। बजार ठप्प हुँदा गहिरो आर्थिक-सामाजिक असर परेको कुरा केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको आर्थिक वृद्धिदरको आँकडाले देखाउँछ।
लकडाउनले शून्य आम्दानीमा पुग्ने धेरैजस्तो कम्पनी पर्यटनसँग सम्बन्धित थिए। होटल, एयरलाइन्स, ट्राभल ट्रेडहरू धेरै थिए। यीमध्ये धेरै एयरलाइन्स कम्पनीले लकडाउनलगत्तै खुलेको उडानमा व्यवसाय गर्ने मौका पाए। तर धेरै आन्तरिक उडान गर्ने एयरलाइन्सको पूर्ण क्षमताको उडान यस वर्ष फागुनमा मात्र भयो।
नेपालको सबभन्दा ठूलो आन्तरिक एयरलाइन्स बुद्धले भने लकडाउनपछि खुलेको बजारमा पूर्ण क्षमताको परिचालन मात्र होइन, विस्तारमै गयो। बुद्धले लकडाउनपछि फागुनसम्म दुइटा जहाज थपिसकेको छ। यही वर्षभित्र अझै एउटा ७२ सिट क्षमताको एटिआर-७२ जहाज ल्याउने बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले जानकारी दिए।
अरू एयरलाइन्स पूर्ण क्षमतामा आउनै संघर्ष गरिरहेका बेला क्षमता विस्तार गरेर दैनिक सय उडान गर्नसक्ने बुद्धले मौसम सामान्य भएका अवस्थामा औसत पाँच हजार यात्रुलाई सेवा दिँदै आएको छ। कोरोनाअघि बुद्धले बजार हिस्सा गुमाउँदै गएको थियो। तर क्षमता विस्तारकै कारण पछिल्लो समय बजार हिस्सा फेरि ५७ प्रतिशत बनाएको छ। अर्थात् कुल आन्तरिक उडान गर्ने सय जना यात्रुमा ५७ जनाले बुद्धबाट यात्रा गर्छन्।
लकडाउन भएको दिनदेखि आफूहरूले पछिको उडानबारे योजना बनाएको र सोहीअनुसार अघि बढ्दा क्षमता विस्तारमा अरूभन्दा छिटो गएको बस्नेतको भनाइ छ।
कोरोना मारमा परेका एयरलाइन्स व्यापारको अहिलेको अवस्था, भविष्यमा यात्रुले पाउनसक्ने सुविधा, बुद्धकै आगामी योजना लगायत विषयमा सेतोपाटीका रवीन्द्र शाहीले बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतसँग गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत छः
लकडाउनपछि उडानमा यात्रुको आकर्षण हुँदैन कि भन्ने आशंका थियो। अहिलेसम्मको अवस्थामा कस्तो भइरहेको छ?
उडान खुलेपछि माग सिर्जना हुन्छ भन्ने हामीलाई सुरूदेखि नै विश्वास थियो। त्यो विश्वास अहिले यथार्थमा देखिएको छ। यात्रुहरूले निर्धक्क यात्रा गरिरहेका छन्। अहिले हाम्रो समग्र उड्डयन व्यापार सामान्य भइसकेको छ।
यात्रा सुरक्षित कि सस्तो भएर आकर्षण बढेको होला?
मुख्य त भाडा सस्तो भएकाले नै आकर्षण देखिएको हो। कोरोनालगत्तै छिटो गन्तव्यमा पुगिने भएकाले संक्रमण जोखिम कम हुन्छ भन्ने विश्वासले पनि आकर्षण देखिएको हो।
कोरोनापछिको सस्तो भाडा यात्रु तान्नकै लागि मात्र हो कि अरू केही कारण छन्?
सस्तो हुनुको कारण मुख्य कारण सञ्चालन खर्च घट्नु हो। क्याटरिङ हट्यो, त्यसबाट ठूलै खर्च घटेको छ। अहिले मौद्रिक नीतिअनुसार असार मसान्तसम्म ब्याज तिर्नुपर्दैन भन्ने छ। त्यस्तै इन्धनको भाउ र स्पेयर पार्ट्सको खर्च घटेको छ। विश्व बजारमा उडान कम भएकाले स्पेयर पार्ट्सको मूल्य कम भएको हो। अनि हामीले भाडा सस्तो दिन सक्नुको कारण पनि यही हो।
अहिलेको प्रतिस्पर्धी भाडामा पनि नेपालको घरेलु उड्डयन आर्थिक रूपमा धानिइरहेका छन्। दुर्गम गन्तव्यमा पनि नियमित उडान भइरहेको देखिन्छ। रारा अहिले नियमित उडान छ। नयाँ बजार पनि सिर्जना भएजस्तो देखिएको छ। समग्रमा अर्थतन्त्र कोरोनाअघिकै अवस्थामा पुगिसकेजस्तो देखिन्छ।
अहिलेकै प्रतिस्पर्धी भाडादरमा नेपालीले पछि पनि यात्रा गर्न पाउँछन् त? भाडा सस्तो भएर आएका यात्रु महँगिएपछि फर्किने सम्भावना कत्तिको देख्नुहुन्छ?
भाडा बढ्ने सम्भावना छ। संसारभर इन्धनको मूल्य बढ्ने ट्रेन्डमा छ। सबै सामान्य हुँदा स्पेयर पार्ट्सको माग बढ्छ, मूल्य पनि बढ्ला। त्यो बेला अहिलेकै भाडादर पक्कै हुँदैन तर धेरै बढ्ने अवस्था पनि नआउला।
जस्तो इन्धनमा सरकारले दस प्रतिशत पूर्वाधार शुल्क लगाउँथ्यो। त्यो हटाइदिएपछि लागत कम भएको छ। विगतमा इन्धनको भाउ १०५ रूपैयाँसम्म पुगेको थियो, अब जति बढे पनि ९० रूपैयाँभन्दा माथि जाँदैन। यो भनेको अहिलेको भाडामा पाँच-सात सय मात्र बढ्नु हो। त्यो पाँच-सात सय बढ्दा कति यात्रु घट्छन् भन्ने अनुमान छैन।
यसबारे म धेरै चिन्तित छैन किनभने त्यस्तो अवस्था आउँदा पर्यटन चलायमान हुन्छ, विदेशीहरू आउँछन्।
पहिला विदेशी नआउँदासम्म उड्डयन चल्दैन भन्ने थियो। तर अहिलेको अवस्थामा नेपाली यात्रुले मात्र आन्तरिक उड्डयन टिकाउने मात्र होइन, बढ्न पनि सक्छ भन्ने देखिएको हो?
एकदमै। हामीले दुई जहाज थपिसकेका छौं। हाम्रो गणितले के भन्छ भने, अब बुद्धका नेपाली यात्रु घट्दैनन्, हामी यात्रु टिकाइराख्नेछौं। पर्यटन चलायमान हुँदा हामीले दैनिक एक हजार पर्यटकलाई सेवा दिइरहेका हुन्थ्यौं। अहिले त्यो छैन। भोलि पर्यटन बढेको खण्डमा जहाज थप्नुपर्ने देखिन्छ। सन् २०२२ सम्म पर्यटन पक्कै पुरानै लयमा फर्किन्छ।
लकडाउनको अवधिमा शून्य आम्दानी, जहाज मर्मतसम्भारमा ठूलो रकम खर्च हुने। आम्दानी नभए पनि ऋण बढिरहेकाले खुलेका उडानमा पूर्ण क्षमता परिचालन गर्न एयरलाइन्सलाई कठिन भएको थियो। तर बुद्धले भने त जहाज विस्तार नै गर्यो। के बुद्धका लागि त्यो संकट अवधि छोटो थियो?
संसारको हवाइ इतिहासमा आधा वर्ष ठप्प बन्द हुनु भनेको पहिलोपटक थियो। यो धेरै ठूलो संकट थियो तर हामी पूर्ण तयारीमा थियौं। जब लकडाउनले हाम्रा जहाज ग्राउन्डेड भए, हामी फेरि जहाज उडाउने विषयमा अध्ययन गर्न थाल्यौं। नेपाली यात्रुलाई नै कसरी सेवा दिने, कसरी आकर्षण बढाउने, सञ्चालन खर्च कसरी कम गर्ने जस्ता विषयमा लकडाउनको सुरू दिनदेखि नै हामीले अध्ययन गर्यौं।
त्यही आधारमा हामीले तयारी गर्यौं। उडान खुल्नेबित्तिकै जसरी योजना बनाएका थियौं, त्यहीअनुसार अघि बढ्यौं र हाम्रो योजना सही सावित भयो।
व्यवस्थित कोष परिचालन हाम्रो रणनीति हो। हामीले खर्च त्यहाँ मात्र गर्यौं जहाँ आवश्यक थियो। कहीँ अन्यथा खर्च गरेनौं। त्यही भएर बैंकले पनि ऋण दियो। कर्मचारीको मनोबल, काम, कर्तव्य र निष्ठा पनि कायमै रह्यो। कर्मचारीको विश्वास बढाउन लकडाउन क्रममा कसैलाई हटाएनौं। हाम्रा सयभन्दा बढी कर्मचारी त संक्रमित नै भए। उनीहरूको बीमा गरिएको थियो। उनीहरूमा उत्प्रेरणा जगाउने लगानी नै सबभन्दा ठूलो हो। यी विभिन्न कारणले गर्दा हाम्रो पुनःस्थापना छिटो भएर विस्तारमा गएका थियौं।
तपाईंहरूले उडान क्षमता विस्तारका साथै दुई जहाज थप्नुभयो। एकातिर दैनिक वित्तीय दायित्व बढ्यो, अर्कोतिर लगानी पनि थपियो। नाफा देखेरै त थप्नुभयो होला?
अहिलेको अवस्थामा अरू एयरलाइन्स पनि धानिइरहेका छन्। तर सुरूका दिनमा अरूले पूर्ण क्षमता उपयोग गरेनन्। हामीले दीर्घकालीन सोच राखेका थियौं, विश्वस्त थियौं। सायद उहाँहरूले प्रक्षेपण गर्नुभएको थिएन कि! हामीले अबको एक वर्षपछिको प्रक्षेपण गरेका छौं। प्रक्षेपणअनुसारै व्यापार तथा उडान भइरहेको छ। जहाज खरिद प्रक्रिया पनि उडान नखुल्दै सुरू गरेका थियौं। हाम्रो आत्मविश्वास भनेकै तथ्यमा आधारित योजना हो।
बजारमा माग सिर्जना भएका बेला अरू एयरलाइन्स पूर्ण क्षमतामा जानै डराए। तपाईंहरू भने विस्तारमै जानुभयो। यसले उडान संख्यादेखि आम्दानीसम्म बढ्यो होला। कोरोनाअघिको तुलनामा कस्तो फरक भएको छ?
यो वर्षको कुरा म यकिन भन्न सक्दिनँ, अहिले सबै हिसाब गरेका छैनौं। कुल आम्दानीदेखि नाफासम्म अघिल्लो वर्षको तुलनामा अघि बढेका छौं जस्तो लाग्छ।
अहिलेको समयमा जहाज सस्तोमा पाइने भएकाले पनि थप्नुभएको हो कि?
हो, जहाज सस्तो भएको छ। तर सस्तो भएकै कारणले थप्ने पनि होइन।
अहिलेको भाडादरमा उड्डयन उद्योग विस्तार हुन गाह्रो छ भन्ने सुनिन्छ। यही मूल्यमा तपाईंहरू विस्तार गरिरहनुभएको छ? यो बुझाइमा मात्र फरक हो?
हामी त राम्रै धानिइरहेका छौं भने अरू पनि धानिएकै होलान्। किनकी हाम्रो खर्च जति हो, अरूको पनि त्यति नै हो। दुर्गम क्षेत्रका बारे म बोल्न सक्दिनँ तर सुगम क्षेत्रका सबै उडान टिकिरहेका छन् अहिले। यसमा कुनै दुई मत छैन। दिगो बजारमा विस्तार गर्नु त सामान्य नै हो।
पहिला तपाईंहरूका लागि माउन्टेन फ्लाइट, पोखरा, भरतपुर र भैरहवा उडानमा विदेशीले यात्रा गर्दा हुने डलर आम्दानी पनि एउटा मुख्य आम्दानी स्रोत थियो। त्यो नहुँदा केही फरक पर्ने रहेछ त?
त्यो हाम्रा लागि बोनस आम्दानी हो। अहिले कम भए पनि विदेशीहरू फेरि नेपाल पक्कै आउँछन्, पहिलेभन्दा धेरै नै आउँछन् होला। पर्यटक आएपछि अझै ठूलो मात्रामा हामी अघि बढ्छौं होला, उडान बढ्छ होला।
आठ छोटा धावनमार्ग भएका विमानस्थलमा उडान गर्न छुट्टै एयरलाइन्स स्थापना गर्ने तपाईंले पहिल्यै घोषणा गर्नुभएको थियो। त्यो घोषणा के भयो?
यथावत छ। त्यसमा ऋणभन्दा पनि बुद्धकै नाफा तथा आम्दानीबाट लगानी हुन्छ। किनकी यसमा खर्चको कुरा जोडिन्छ। छोटा धावनमार्गमा दुर्घटना सम्भावना छ, हामी उद्देश्य सुरक्षित उडान हो। दुइटा जहाज आगामी वर्ष सेप्टेम्बरबाट सञ्चालन गर्नेगरी ल्याउँछौं।
लुक्ला र पूर्वका लागि मन्थलीबाट उडान गर्ने तयारी छ। पश्चिचमा दुइटा बेस हुन्छ, पोखरा र नेपालगञ्ज। धनगढीबाट सटल हुन्छ जहाँ पछि बेस पनि हुन्छ। यसमा आवश्यकता अनुसार वृद्धि हुन्छ। यसलाई हामी दुर्गम उडानलाई नयाँ किसिमले परिभाषित गर्ने गरी सञ्चालन गर्छौं, नयाँ ढर्राबाट मार्केटिङ गर्छौं।
दुर्गमको उडान पुनः परिभाषित गर्ने भन्नुभयो, त्यो भनेको कस्तो हुन्छ? अहिलेको अवस्था कस्तो देख्नुभएको छ?
दुर्गममा जति आवश्यकता छ, त्यो अनुपातमा सञ्चालन भएकै छैन। आजका दिनमा विराटनगर र भैरहवामा हामी नौ उडान गरिरहेका छौं जसकारण यात्रुले छनौटको अवसर पाएका छन्। दुर्गममा यो छैन।
हामी पोखराबाट जुम्ला उडान गर्न खोज्दै छौं, त्यहाँ दैनिक दुई उडान हुनसक्छ। नेपालगञ्जबाट जुम्ला हुनसक्छ। जति आवश्यक हुन्छ, त्यति उडान गर्नुपर्छ। अहिले त्यो भएकै छैन। माग उच्च भए पनि उडान सीमित छ। त्यसैले त्यहाँ प्रतिस्पर्धा छैन।
हामीलाई भने सुरूमै आर्थिक दबाब हुँदैन, एटिआरबाट कमाएको पैसा लगानी गर्ने हो। त्यति हुनेबित्तिकै हामी दुर्गम क्षेत्रमा प्रतिस्पर्धी यात्राको अवसर सिर्जना गर्न सक्छौं।
पछिल्लो समय फेरि कोरोना संक्रमण दर बढेसँगै यात्रा बन्देजको हल्ला चलेको छ, यस्तो सम्भावना देख्नुहुन्छ?
बन्द हुने सम्भावना म देख्दिनँ। अर्थमन्त्रीले पनि बन्द हुँदैन भनी सक्नुभएको छ। भारतमा संक्रमण बढ्नु स्वाभाविक हो तर हामीकहाँ जोखिम ठूलो देखिएको छैन। अहिलेकै जोखिमस्तरमा फेरि व्यापक बन्द गर्नुपर्ने अवस्था आउलाजस्तो लाग्दैन। किनकी हामीले दुई-तीन हजार संक्रमण देखिएका बेला लकडाउन खोलेका थियौं।
अर्को कुरा पहिलेको लकडाउनले जसरी राज्यलाई आर्थिक रूपमा घुँडा टेकायो, त्यो अब हुनु हुँदैन। पहिले हामीसँग अनुभव थिएन, त्यसैले कडा लकडाउनमा गयौं। अब सावधानीसाथ चलायमान रहनुपर्छ। बैंकको ऋण, ब्याज तिरिएको छैन, साउनबाट तिर्ने भनिएको छ। त्यस्तोमा बैंकले ब्याज उठान सकेन भने बैंकिङ समस्या जटिल भएर आउँछ। त्यसले कहाँसम्म प्रभाव पार्छ भन्ने कुरा आकलन गर्न सकिँदैन। त्यसैले बेहोर्नसक्ने जोखिममै डराएर बन्दमा गयौं भने अझ धरासायी हुन्छौं।
स्वास्थ्यको जोखिम देखाउनु डाक्टरको धर्म हो। तर राज्यले सबै पक्षबाट हेर्नुपर्छ, बन्दको मानसिकता फालिदिनुपर्छ।
जोखिम न्यूनीकरणका लागि हरेक पक्षले पहल गर्नु आवश्यक होला नि?
राज्यदेखि नागरिकसम्म जिम्मेवार भएर प्रतिरक्षाका सबै संयन्त्र अपनाउनुपर्छ। व्यवसाय सञ्चालन गर्नेहरू उत्तिकै संयम हुनुपर्छ। जोखिम छ भन्ने कुरा ध्यानमा राखेर राज्यले जतिसक्दो खोप वितरण बढाउनुपर्छ। भेन्टिलेटरदेखि बेडसम्मका पूर्वाधार राज्यले तयार राख्नुपर्छ, यो राज्यको दायित्व हो, चुक्नुभएन।