वीरेन्द्रनगरका डिकेन्द्र पौडेल शुक्रबार बेलुकादेखि आइतबार बिहानसम्म प्रायः कालिज फार्ममा भेटिन्छन्।
भेरीगंगा नगरपालिकाका अमिन उनी शुक्रबार छिट्टै बिदा हुने भएकाले बेलुका कालिज फार्ममा जान्छन्।
आफूले गर्नुपर्ने काम र कर्मचारीसँग समन्वय गरी आइतबार बिहानै कार्यालयको कामका लागि निस्कन्छन्।
उनीसँगै सहकार्य गरिरहेका वीरेन्द्रनगरकै गणेश पौडेल र सन्दीप ढकाल पनि कालिज फार्ममा नै काम गरेर आफ्नो बिदाको समयलाई सदुपयोग गर्छन्। गणेश मेहलकुना अस्पतालमा कार्यरत खरिदार हुन् भने सन्दीप गुर्भाकोट नगरपालिकामा अमिन छन्।
सात वर्षदेखि सरकारी सेवामा प्रवेश गरेका उनीहरू तीनै जनाले एक वर्ष अघिदेखि वीरेन्द्रनगर-१४ गोठीकाँडामा कालिज फार्म पनि सञ्चालन गरिरहेका छन्।
२०७६ जेठ ७ गतेबाट सुरू गरिएको उक्त कालिज फार्ममा भेटेरिनरी पढेका एक जना युवकसहित तीन जना कर्मचारी काम गर्छन्।
एक बिगाहा जग्गा भाडामा लिएर तिनै जनाको बराबर लगानीमा उनीहरूले कालिज फार्म सुरू गरेका हुन्। दस वर्षसम्मको सम्झौता गरेका छन्। फार्म स्थापना गर्न एक करोड रूपैयाँभन्दा बढी लगानी भएको छ। उनीहरूले जग्गाको भाडा वार्षिक ८० हजार रूपैयाँ तिर्ने सम्झौता भएको छ।
सक्दो लगानी र मेहनत स्वदेशमै गर्न सकिन्छ भन्ने उदाहरण बन्न उनीहरूले खोजेका छन्। थोरै बचेको खाली समयलाई पनि उत्पादनको क्षेत्रमा खर्च गर्नुपर्ने उनीहरू बताउँछन्।
‘स्वदेशमै केही गर्नुपर्छ भन्ने सिकाइ होस् भन्ने पनि उद्देश्य हो,’ गणेशले भने।
केही वर्षअघि उनीहरू घुम्न भनेर पोखरा गएका थिए। पोखरामा कालिज पालन गरेको देखेपछि सुर्खेतमा पनि यो व्यवसाय गर्ने योजना बनाए। त्यहाँका व्यवसायीसँग परामर्श लिए। पोखरामा पाइने बेल्जियम र फ्रान्सको प्रजाति किनेर उनीहरूले सुर्खेतमा कालिज पालन सुरू गरेका हुन्।
‘सुर्खेत कर्णाली प्रदेशको राजधानी पनि हो, कर्णालीमा आउने पर्यटकहरूको पहिलो गन्तव्य पनि सुर्खेत नै भएकाले यहाँ कालिज व्यवसाय सुरू गर्नुपर्छ भन्ने भयो,’ डीकेन्द्रले भने, ‘जंगलमा पाइने यो प्रजाति व्यावसायिक रूपमा नै पाल्न थालियो भने जंगलमा हुने चोरी/सिकारी पनि रोकिन सक्छ, पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ला भन्ने सोचले यहाँ पाल्न सुरू गरेका हौं।’
हप्तामा ६ दिन कार्यालयको काममा व्यस्त हुने उनीहरू आफ्नो फार्मका लागि पनि योजना बनाउन भ्याउँछन्। हप्ताभरका लागि फार्ममा चाहिने सामान, पैसा, संरचना थप गर्नुपर्ने जस्ता योजना बनाउँछन्।
‘एक हप्ताका लागि यहाँ फार्ममा के कुराको आवश्यक पर्छ, कर्मचारीबाहेक आफूले गर्नैपर्ने काम के छ भनेर योजना बनाउँछौं,’ गणेशले भने, ‘त्यो योजना अनुसार आवश्यक सामन ल्याएर शुक्रबार बिदा भएपछि फार्ममा आउँछौं। शनिबार दिनभर आफूले गर्ने काम गरेर र कर्मचारीलाई काम अह्राएर आइतबार बिहान फेरि कार्यालयको काममा जान्छौं।’
धेरैजसो काम कर्मचारीसँग फोनमार्फत् गर्ने गरिएको उनले बताए।
शुक्रबार दिउँसोबाट आइतबार बिहानसम्म हुने आफ्नो खाली समय पनि सदुपयोग भएको डिकेन्द्र बताउँछन्।
‘शनिबार दिनभर सुतेर वा घुमेर बिताउने समय यो फार्म खुलेपछि सदुपयोग भएको छ, यो पनि एउटा महत्वपूर्ण फाइदा हो,’ उनले भने।
व्यावसायिक कालिज पालनका लागि उनीहरूले पोखरामा बसेर एक सातासम्म प्रशिक्षण लिएका थिए।
अहिले पनि युट्युबमा भिडियोहरू हेरेर र फोनमार्फत् आवश्यक जानकारी लिने गर्छन्।
‘माउण्टेन वाइल्ड फुड प्रोडक्ट प्रालि’ रूपमा रहेको उनीहरूको फार्ममा ५०० भन्दाबढी कालिज छन्। सुरुमा ४०० वटा चल्ला ल्याएको प्रालिका अर्का सञ्चालक सन्दीप ढकालले बताए। उनका अनुसार पोखराका व्यवसायीमार्फत् अर्डर गरी बेल्जियम र फ्रान्समा पाइने कालिजको प्रजाति सुर्खेत ल्याइएको थियो।
उनीहरूले सञ्चालन गरेको यो कालिजपालन व्यवसाय कर्णालीको पहिलो पनि हो। ती कालिजबाट हप्तामा ३०० देखि ४०० सम्म अण्डा उत्पादन हुने गरेका छन्।
वीरेन्द्रनगरमा ह्याच गरी एक हप्तापछि पुनः फार्ममा लिएर पाल्ने गरिएको गणेशले बताए। उनीहरूको फार्मबाट जाजरकोट, जुम्ला, सुर्खेतका विभिन्न ठाउँमा चल्ला बिक्री भइरहेका छन्।
‘हप्तामा ३०० देखि ४ सयसम्म अण्डा ह्याच गरिन्छ, त्यसमध्ये बढीमा ६० प्रतिशत निस्कन्छन्,’ उलने भने, ‘पहिलो लटका ५०० जति चल्ला बिक्री पनि भइसकेका छन्, अहिले पनि फाटफुट बिक्री हुन्छन्।’
एक दिनको चल्ला १५ सय रूपैयाँसम्म बिक्री हुने गरेको छ।
ठूला कालिजलाई ३ हजार ५०० रूपैयाँमा बिक्री गर्ने गरिएको पौडेलले बताए। ठूला कालिज बढीमा दुई किलोसम्म हुन्छन्।
उनीहरूले कालिजबाहेक लोकल कुखुरा, टर्की, बट्टाई, खसी र फ्यान्टम (जापानिज प्रजाति) जातका कुखुरा पनि फार्ममा आंशिक रूपमा पाल्ने गरेका छन्।
‘कालिज रेष्टुरेण्ट’को योजना
अहिले व्यावसायिक रूपमा कालिज पालिरहेका यी युवाहरूले छिट्टै ‘कालिज रेष्टुरेण्ट’ स्थापना गर्ने योजना समेत बनाएका छन्। लगानी धेरै भएकाले कालिजबाट मात्रै लगानी उठाउन गाह्रो पर्ने हुँदा थोरै लगानी थपेर रेष्टुरेण्ट समेत सञ्चालन गर्ने योजना बताएको डिकेन्द्र पौडेलले बताए।
‘हामीले अहिले नै मुनाफा लिन गाह्रो छ, यसका लागि रेष्टुरेण्ट खोल्ने तयारी गरेका छौं,’ सञ्चालक सन्दीप ढकालले भने, ‘योसँगै कालिज व्यवसाय गर्न चाहनेहरूका लागि आवश्यक परामर्श दिने र आवश्यक संरचना बनाउन पनि सहयोग गर्ने योजना बनाएका छौं।’
व्यवसाय गर्न चाहने तर तत्काल पैसा नपुग्ने व्यक्तिका लागि पनि किस्तामा चल्ला बिक्री गर्ने तयारी गरिएको उनले बताए।
अनुदान पाउनै मुस्किल
उनीहरूले माउण्टेन वाइल्ड फुड प्रोडक्ट प्रालिको उद्घाटनका लागि प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीलाई बोलाए। उद्घाटनका क्रममा मन्त्री केसीले उक्त फार्मलाई जोडेर उद्यमी युवाहरूका लागि प्रदेश सरकारले अनुदानको व्यवस्था गर्ने बताइन्।
मन्त्री केसीको भनाइ सुनेपछि उनीहरू अनुदानको आशमा थिए तर पाउन सकेनन्।
‘मन्त्रीज्यूले उद्घाटन गर्दा अनुदानको कुरा गरे अनुसार हामीले अपेक्षा गरेको त थियौं, तर पाएनौं,’ सञ्चालक डिकेन्द्र पौडेलले भने, ‘अनुदान पाएको भए अहिलेसम्म हामीले कालिज रेष्टुरेण्ट पनि सञ्चालन गरिसक्थ्यौं।’
अनुदानका लागि फार्म भरे पनि त्यसको कुनै प्रतिक्रिया नआएको उनले बताए। आफूहरूले बारम्बार मन्त्रालय धाउन नसकेकोले अनुदान पाउन नसकेको उनको भनाइ छ।
‘हाम्रो त पेशा पनि त्यस्तै भएर होला, लगातार सम्बन्धित निकायमा धाउन सकिएन, फार्म त भरे पनि अनुदान पाइएन,’ उनले भने ।
कर्णाली प्रदेश सरकारले भने यो आर्थिक वर्षबाट कृषिमा दिइने प्रत्यक्ष अनुदान बन्द गरेको छ।
यो आर्थिक वर्षबाट किसानलाई ऋणमा ७ प्रतिशत ब्याज अनुदान दिने व्यवस्था गरेर प्रत्यक्ष अनुदानको व्यवस्था हटाइएको छ।
‘कृषि ऋणमा ब्याज अनुदान सहुलियत’ कार्यक्रम कृषि मन्त्रालयले सुरू गरेको हो।
कार्यक्रमअनुसार किसानले कृषि तथा पशुपन्छीपालन व्यवसायका लागि जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिए पनि ७ प्रतिशत ब्याज अनुदान पाउनेछन् । जसका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष ०७७/७८ का लागि ७ करोड रूपैयाँ विनियोजन गरेको छ।
१ करोड रूपैयाँसम्म कर्जा लिएका किसानलाई व्याज अनुदान दिने गरी कार्यक्रम थालिएको कृषि मन्त्रालयले जनाएको छ।
कार्यक्रम सञ्चालनका लागि ‘व्यावसायिक कृषि तथा पशुपन्छीपालन व्यवसायका लागि ब्याज अनुदान कार्यक्रम कार्यविधि–२०६७ गत फागुन ५ गते मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गरिएको थियो।