'आइसक्रिम लेलो, ठन्डा ठन्डा आइसक्रिम!
बच्चोंकी गर्मी भगानेवाला, मीठा मीठा आइस्क्रिम!'
कञ्चनपुर, महेन्द्रनगरकी ज्योति भट्टलाई बीस वर्षअघि भारतीय व्यापारी यसरी आइसक्रिम बेच्दै हिँडेको अझै सम्झना छ।
'गर्मीको रापले महेन्द्रनगर तात्तिएका बेला त्यही आइसक्रिमले हामीलाई 'कुल' बनाउँथ्यो,' ज्योति सम्झन्छिन्।
उनी अहिले काठमाडौंमा कलेज पढिरहेकी छन्। अहिले पनि उनी आइसक्रिम भनेपछि हुरूक्कै हुन्छिन्। झन् काठमाडौंमा स्वाद स्वादको खान पाएर दंग छिन्। तर, प्रत्येकचोटि आइसक्रिम खाँदा उनलाई महेन्द्रनगरमा देखेका ती भारतीय व्यापारीको झल्को आउँछ।
'मेरो हजुरआमा पनि आइसक्रिम खानुहुन्छ,' उनी भन्छिन्, 'गाउँमा पार्टी हुँदा त आइसक्रिम कहिल्यै टुट्दैन।'
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) मा कार्यरत सरस्वती पोख्रेललाई पनि गर्मीमा अरू पेयको दाँजोमा आइसक्रिम नै प्यारो लाग्छ। घरपरिवारसँग बाहिर खाना खान जाँदा होस् वा साथीभाइसँग, उनको पहिलो रोजाइ यही हुन्छ।
'आइसक्रिम सबैलाई मनपर्छ नि,' उनी भन्छिन्, 'आइसक्रिमले इनर्जी बढाएको 'फिल' हुन्छ। मनमा पनि 'पोजेटिभ थट' आउँछ।'
वैशाख आधाआधीमा गर्मीको रापले काठमाडौं रन्किन थालेपछि आइसक्रिम कोन हातमा बोकेका युवाको समूह जताततै देखिन थालेको छ। युवाहरूमाझ आइसक्रिम 'ग्ल्यामरस बेभरेज आइटम' का रूपमा स्थापित भइसकेको छ।
विविधताः
केही वर्षअघिसम्म आइसक्रिममा विविधता थिएन। कोन, कप र स्टिकमा उपलब्ध हुने आइसक्रिममा अहिले स्वादको धेरै विविधता छ। भेनिला, चकलेट, स्ट्रबेरी, बटरस्कच, काजु, पिस्ता, म्याङ्गो, पाइनापल, ट्वान्टी वान लभ, कफी मोक्का, मिन्ट लगायत थुप्रै फ्लेभरमा आइसक्रिम पाइन्छ।
उपभोक्ताको रुचि परिवर्तनसँगै विभिन्न कम्पनीले आइसक्रिममा विविधता ल्याउन थालेको नेपाल डेरी एसोसिएसनका अध्यक्ष अरनिको
राजभण्डारी बताउँछन्। उनका अनुसार आइसक्रिम उत्पादनमा दर्जन हाराहारी डेरी उद्योग क्रियाशील छन्।
'केही वर्षअघिसम्म भारतबाट आयात हुने आइसक्रिमकै बजारमा ठूलो हिस्सा थियो,' उनले भने, '८० प्रतिशत भारतीय उत्पादन हुने गरेकोमा अहिले आन्तरिक उत्पादनले ८० प्रतिशत धानेको छ।'
सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) ले पनि आइसक्रिम उत्पादन गरिरहेको छ। डिडिसीको बजार हिस्सा भने नगन्य छ। आइसक्रिममा निजी क्षेत्रकै आधिपत्य रहेको व्यवसायी बताउँछन्।
नेपाली बजारमा क्वालिटी, निरलाज, बास्किन एन्ड रोबिन्स, नेपाल डेरी, स्नोफन, अजबको, सुजल, रविज, सुजी आदि आइसक्रिम पाइन्छ।
राजधानीमा आइसक्रिमको माग र खपत यति नै हुन्छ भन्ने यकिन तथ्यांक व्यवसायीसँग पनि छैन। सबै उद्योगले आ–आफ्नै हिसाबले उत्पादन गरिरहेका छन्। मागअनुसार भने नपुगेको राजभण्डारी बताउँछन्।
सबै उद्योगले पूर्ण क्षमतामा उत्पादन गर्दा पनि बजारको माग पुर्याउन नसकेको उनको भनाइ छ। शाकाहारीहरूको संख्या बढिरहेकाले पनि आइसक्रिम लगायत दूग्धजन्य पदार्थको माग बढेको अनुमान व्यवसायीहरूको छ।
सडकदेखि सुपरमार्केट र सिनेमाहलसम्म विभिन्न स्वादमा आइसक्रिम उपलब्ध छन्। सडक पेटी, पार्क, स्कुल–कलेजका गेटमा पनि आइसक्रिमको राम्रै व्यापार हुन्छ। पार्टीमा अनिवार्यजस्तै भइसकेको छ। क्याटरिङ व्यवसायीका अनुसार मिठाइ र दहीको ठाउँ आइसक्रिमले लिन थालेको छ।
आइसक्रिमका विदेशी ब्रान्डले पनि विस्तारै लोकप्रियता पाउँदैछन्। कुनै समय भारतका अमुल, मदर डेरी र भाडीलाल बढी प्रचलित थिए। अहिले बास्किन एन्ड रोबिन्स र भेनपिक लोकप्रिय छन्।
'उपभोक्तालाई एउटै स्वाद मन पर्दैन, स्वाद फेरेर नयाँ नयाँ स्वाद खान मन लाग्छ। ग्राहकको त्यो माग ध्यानमा राखेर हामीले नयाँ नयाँ भेराइटी पस्कने कोशिस गरिरहेका छौं,' अरनिको भन्छन्, 'पहिला भारतबाट आयातीत आइसक्रिमको दबदबा थियो। अहिले बजारमा नेपाली आइसक्रिमकै वर्चश्व छ।'
'निजी क्षेत्रको उत्पादन बढेकाले प्रतिस्पर्धा पनि बढेको छ। प्रतिस्पर्धा बढी भएपछि उत्पादनमा गुणस्तर आउँछ,' उनले भने।
समस्याः
यति हुँदाहुँदै आइसक्रिमको गुणस्तर कायम राख्न अहिलेको मुख्य चुनौती हो।
आइसक्रिम बनाएपछि त्यसलाई माइनस १८ देखि २० डिग्रीसम्मको कोल्डस्टोरमा कडा पारेर राखिन्छ। त्यसरी कडा पारिसकेपछि कुनै कारणवश गिलो गरेर फेरि कडा बनायो भने त्यो आइसक्रिमको गुणस्तर र स्वाद बिग्रिन्छ।
तयार पारेपछि आइसक्रिमको तापक्रम कायम राख्नु धेरै बिक्रेतालाई गाह्रो पर्छ।
'उत्पादकले आइसक्रिम विक्रेतालाई उपलब्ध गराएपछि उपभोक्ताको मुखसम्म पुगुन्जेल त्यसको गुणस्तर कायम राख्नु हाम्रो दायित्व हो,' राजभण्डारी भन्छन्।
उनका अनुसार दैनिक करिब ५ हजार लिटर दूधको आइसक्रिम उत्पादन हुने गरेको छ, जुन बजारको मागभन्दा कम हो। बढी आइसक्रिम बनाउने क्षमता भएको मेसिन भित्र्याउने तयारी भइरहेको उनले बताए।
व्यवसायीका लागि अर्को चुनौती भनेको उपभोक्ताको बदलिँदो रुचि र स्वाद अथवा बजारको मागअनुसार उत्पादन गर्नु हो।
आइसक्रिमको विशेषताः
आइसक्रिम बनाउन क्रिम र बटर सबैभन्दा बढी प्रयोग हुन्छ। त्यसपछि तरल र पाउडर दूध पनि त्यत्तिकै चाहिन्छ। यसबाहेक आइसक्रिममा फलफूल, चिनी, कृत्रिम फ्लेभर र रङ मिसाइएको हुन्छ।
विभिन्न वैज्ञानिक अध्ययनहरूले आइसक्रिमले मस्तिष्क चनाखो र सक्रिय राख्ने देखाएका छन्। टोकियोस्थित क्योरिन विश्वविद्यालयका प्राध्यापक योसिहिको कोगाको अध्ययनअनुसार बिहानै आइसक्रिम खाँदा मान्छेको दिमाग खुसी, सक्रिय र ऊर्जावान् हुन्छ।
त्यस्तै, लेखक क्रिस क्लार्कको 'द साइन्स अफ आइसक्रिम' किताबका अनुसार आइसक्रिमले (चकलेट मिसिएको) मान्छेको मस्तिष्कमा रहेको 'पेनाइलथाइलामाइन' नामक ग्रन्थी सक्रिय र सकारात्मक ऊर्जा प्राप्त हुन्छ। साथै, मस्तिष्कमा उत्पन्न हुने अड्रिलिन नामक रसायनले मुटुको धड्कन बढाउने काम गर्छ। त्यसैले आइसक्रिमलाई प्रेमजोडीहरूको प्रेम बढाउने खुराकै मानिन्छ, प्रेमको 'क्याटलिस्ट' मानिन्छ।
कुनै बेला आइसक्रिम ठूला घरानियाँ र धनीमानीको खानेकुरा भनेर चिनिन्थ्यो। अहिले सामान्य सडकपेटीका पसलदेखि पाँचतारे होटलसम्म आइसक्रिमको बजार छ। सामान्य परिवारदेखि धनी सबैको रोजाइ बनेको छ।
राजभण्डारी भन्छन्, 'नेपाल डेरीले सुरुमा आइसक्रिम बनाउँदा धेरै कमले मात्र खान्थे। बजार बढाउन नेपाल डेरीले 'एन्डिज आइसक्रिम' को ब्रान्डिङ गर्यो। यो नामले टिनेजर्सलाई पनि आइसक्रिमप्रति आकर्षित गर्यो।'
एनडिज आइसक्रिमले बजार लिन थालेपछि प्रतिस्पर्धा गर्न नेपाल डेरीले विभिन्न फ्लेबरका आइसक्रिम उत्पादन गर्न थालेको उनी बताउँछन्।
आइसक्रिम र फ्रोजन डेजर्टमा नझुक्किनुस्ः
आइसक्रिमजस्तै देखिने विभिन्न किसिमका अन्य खाद्यवस्तु पनि बजारमा पाइन्छन्। ती खाद्यवस्तु आइसक्रिमजस्तै देखिए पनि आइसक्रिम नभएको राजभण्डारी बताउँछन्।
'आइसक्रिम भनेको पूर्ण रूपमा दूधबाट बन्ने खाद्य वस्तु हो भने फ्रोजन डेजर्ट बनाउँदा दूधजन्य पदार्थ प्रयोग गरिँदैन। हामीले फ्रोजन डेजर्टलाई पनि आइसक्रिमका रूपमा खान्छौं तर यसको र आइसक्रिमको गुणस्तर फरक छ,' उनी भन्छन्, 'दूधजन्य पदार्थको सट्टा कोकोनट ओयल राखेर बनाएको आइसक्रिमजस्तै देखिने खाद्य पदार्थ आइसक्रिम होइन।'
आइसक्रिमको इतिहासः
आइसक्रिमको इतिहास रेफ्रिजेरेटरसँग जोडिएको छ।
सन् १८८७ दशकमा जर्मन इन्जिनियर कार्ल भोन लिन्डेले आविष्कार गरेको रेफ्रिजेरेटर आइसक्रिमका लागि वरदान नै सावित भयो। यसको लगभग ५० वर्षपछि सन् १९२६ देखि आधुनिक आइसक्रिम उत्पादन गर्ने उद्योग स्थापनासँगै यो जनमानससम्म पुग्यो।
सन् १९९० मा कोन बन्यो। पछि रेफ्रिजेरेटर सस्तो भयो, सँगसँगै आइसक्रिमको लोकप्रियता पनि चुलियो।
आधुनिक रेफ्रिजेरेटरको आविष्कार हुनु अघिसम्म आइसक्रिम बनाउन त्यति सजिलो थिएन। बनाउन गाह्रो भएकाले यो विलासी खानाका रूपमा विशेष अवसरमा मात्र प्रयोग हुन्थ्यो।
जाडो महिनामा पोखरीबाट आइस ल्याएर जमिनमुनि वा काठ वा इँटाको बट्टामा राखिन्थ्यो अनि आवश्यकताअनुसार ठूलो कचौरामा आइसक्रिम बनाइन्थ्यो।
नेपालमा आइसक्रिम
नेपालमा पनि आइसक्रिमको इतिहास झन्डै तीन दशकको छ। जानकारहरुका अनुसार नेपालमा आइसक्रिम उत्पादनको कुरा गर्दा रमडुडल रेस्टुरेन्ट र यसका मालिक ज्योति पोखरेललाई सम्झिनुपर्ने हुन्छ।
२०३४ सालतिर अस्ट्रेलियन नागरिक बिल ब्रेटको अग्रसरतामा उनले नेपालमा पहिलोपटक कान्तिपथमा 'रमडुडल आइसक्रिम पार्लर' खोलेका थिए। हुनेखाने नेपाली र विदेशी मुख्य ग्राहक थिए। कोनको प्रचलन नभएकाले क्रिस्टलको कचौरामा खाइन्थ्यो। पाँच वर्ष चलेर यो पार्लर बन्द भयो। पछि दुग्ध विकास संस्थानले वसन्तपुरमा आउटलेट खोल्यो र सानो कपमा आइसक्रिम बेच्न थाल्यो।
विस्तारै रेस्टुरेन्टहरूले पनि आइसक्रिम 'सर्भ' गर्न थाले। ठूला होटलमा आइसक्रिम पार्लर खोलिए। भारतको प्रख्यात निरला कम्पनीले होटल अन्नपूर्णसँग मिलेर दरबारमार्गमा अन्नारला नामक आइसक्रिम पार्लर खोल्यो। अर्को भारतीय हिट ब्रान्ड थियो मुम्बईको भाडीलाल।
२०३८ सालमा महाबौद्धमा नेपाल डेरी स्थापना भयो। डिडिसीले आफ्नो उत्पादन बढायो। तै ०४५ को हाराहारीसम्म मध्यमवर्गको पहुँचमै थिएन आइसक्रिम।
अमात्य ग्रुपले सिनामंगलमा कारखाना खोलेर भारतको प्रख्यात क्वालिटी ब्रान्डलाई रिमिक्स गरेर उत्पादन गर्न थाल्यो। त्यसपछि भने राजधानीका जनरल स्टोरहरूमा सजिलै ताजा आइसक्रिम पाइन थाल्यो। बजारको माग हेरेर आइसक्रिम उत्पादन गर्ने कम्पनीहरु धमाधम खुल्न थाले। साथै, विदेशी ब्रान्डका आइसक्रिम पनि पाइन थाल्यो।
सबै तस्बिरः निशा भण्डारी/सेतोपाटी