फेवातालमा बर्खा लागेसँगै बल्झिरहने जलकुम्भी समस्यालाई आम्दानीका स्रोत बनाउन व्यावसायिक समूह लक्ष्मी ग्रूपका निर्देशक निरञ्जन श्रेष्ठ घोत्लिरहन्थे।
समस्यामै समाधानका उपाय खोज्न उनले पोखरामा मात्र होइन, विदेशमा पनि अध्ययन गरे। तालतलैया र पोखरीहरूमा फैलिने जलकुम्भी झारको उपयोगिता कसरी भइरहेको छ भनेर अध्ययन गरे।
पोखरामा फैलिने जस्तै जलकुम्भी झारबाट हस्तकला सामग्री उत्पादन गरेको दृश्य उनले थाइल्यान्ड र भियतनाम भ्रमणमा देखे। उद्यमीसँग कुराकानी गरे। जलकुम्भीबाट बनेका हस्तकला सामान देखेर पोखराका तालहरूमा फैलिने जलकुम्भीलाई कसरी आम्दानीको स्रोत बनाउने भनेर सोचे।
'फेवातालमा जलकुम्भी फैलिएको देख्दा यसलाई कसरी आम्दानीको स्रोतमा रूपान्तरण गर्न सकिन्छ भनेर साथीहरूसँग सल्लाह गर्थेँ। थाइल्यान्ड र भियतनाममा हस्तकला सामग्री उत्पादन हुँदो रहेछ,' निरञ्जनले भने, 'जलकुम्भी समस्या होइन, आम्दानीका स्रोत बन्न सक्छ भनेर मैले पोखराका मेयरसँग कुरा राखेँ।'
तीव्र गतिमा फैलिने जलकुम्भी झारले वर्खामा फेवाताल छपक्कै ढाकिन्छ। पानी नै नदेखिने गरी ढाकिँदा पर्यटन व्यवसायी जलकुम्भी झारले फेवाताल कुरूप देखियो भन्थे।
वनस्पतिविद भने तालको पानी फोहोर भएकाले फेवातालमा जलकुम्भी र यसले तालको पानी सफा राख्छ भन्छन्।
जलकुम्भीबारे लामो समयदेखि अध्ययन गरेका निरञ्जनले पनि जलकुम्भीले तालको पानी सफा राख्न प्राकृतिक तरिकाले सहयोग गरेको बताउँछन्।
'बर्खाको धमिलो फेवाताल सङ्लो बनाउन जलकुम्भीले सघाउँछ। यसले पानीको फोहोर सोस्छ,' उनले भने, 'फेवाताल सफा राख्ने जलकुम्भीबाट हस्तकला उत्पादन गर्न सके चक्रीय अर्थतन्त्र निर्माण गर्न सकिन्छ।'
जलकुम्भीलाई घरेलु उद्योगको कच्चा पदार्थका रूपमा प्रयोग गर्ने आइडियाको प्रयोग निरञ्जनकै व्यावसायिक समूह लक्ष्मी ग्रुपले गर्ने भएको छ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले बिहीबार सम्झौतामा हस्ताक्षर गर्दै आगामी ५ वर्षका लागि जलकुम्भीबाट हस्तकला सामान उत्पादन गर्ने जिम्मा लिएका छन्।

यसनिम्ति फेवातालका रैथाने जलारी समुदायलाई परिचालन गर्ने निरञ्जनको योजना छ। तालमा माछा घट्दा जलारी समुदायको पेसा संकटमा परेको थाहा पाएका निरञ्जनले आफूले अघि सारेका परियोजना सफल भए यो समुदायले आयआर्जनको वैकल्पिक उपाय भेट्ने विश्वास राखेका छन्।
'तालमा माछा घटेर जलारी समुदायलाई समस्यामा परेको छ। हामीले अघि सारेको योजनामा यो समुदायलाई परिचालन गर्ने लक्ष्य राखेका छौं,' उनले भने।
लक्ष्मी ग्रुपले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत जलकुम्भीबाट सामान उत्पादनका कार्यक्रम सञ्चालन गर्न लागेको हो। यस परियोजना अन्तर्गत पहिलो ६ महिना परीक्षणकाल राखिएको छ।
महानगरसँग गरिएको ५ वर्षको सम्झौतामा लाग्ने सम्पूर्ण खर्च लक्ष्मी ग्रुपले गर्नेछ। परियोजना सञ्चालन गर्दा जलकुम्भीबाट बनेका हस्तकला सामग्री बिक्री गरेर प्राप्त हुने आम्दानी हस्तकलामा लागेका स्थानीय जलारी समुदायले पाउनेछन्। यसरी बनेका सामान स्वदेश र विदेशमा बेचविखनको जिम्मा पनि लक्ष्मी ग्रुपले लिने निर्देशक निरञ्जनले बताए।
'खर्च र बजारको व्यवस्था लक्ष्मी ग्रुपले गर्नेछ,' उनले भने, 'आम्दानी हस्तकलामा संलग्न समुदायले पाउनुहुनेछ।'
पर्यटकीय नगरी पोखरामा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई जलकुम्भीबाट बनेका सामानप्रति आकर्षित गर्ने लक्ष्य उनले राखेका छन्। राम्रा उत्पादन विदेशमा पनि बेच्न सकिने सम्भावना देखेका छन्।
फेवातालमा प्रयोग गर्न लागिएको यो परियोजना सफल भए पोखराका अरू ताल बेगनास, रूपा, खाष्टे, दिपाङ, गुदे, न्युरेनी र मैदीमा पनि फैलाउने लक्ष्मी ग्रुपको योजना छ। नेपालका अरू ठाउँमा रहेका ताल र पोखरी आसपासका समुदायलाई पनि जलकुम्भीबाट सामान उत्पादन गर्न तालिम दिने उनले बताएका छन्।
जलकुम्भी झारबाट सामान बनाउन सुरूमा थाइल्यान्ड र भियतनामबाट प्रशिक्षक ल्याएर जलारी समुदायलाई प्रशिक्षण गर्ने उनको योजना छ। यसरी प्रशिक्षण पाएका जलारी समुदायलाई नै प्रशिक्षक बनाएर फेरि समुदायकै अरू व्यक्तिलाई प्रशिक्षित गर्दै जानेछन्।
जलकुम्भीबाट धागो बनाएर झोला, कपडा लगायत विभिन्न सामान डिजाइन र राम्रो उत्पादन गर्न जोड दिने लक्ष्य निरञ्जनले राखेका छन्। यसबाट १०० थरी सामग्री उत्पादन गर्न सकिने र तीन सय जनाले प्रत्यक्ष रोजगारी पाउने लक्ष्मी ग्रुपले बताएको छ।
जलकुम्भीका साथै तालमा फैलिएका लेउ र झ्याउ निकाल्न पनि ग्रुपले अत्याधुनिक मेसिन किन्ने योजना बनाएको छ। सो मेसिन पोखरा महानगरले सञ्चालनज गर्नेछ।
सम्झौतामा हस्ताक्षरपछि मेयर आचार्यले यस परियोजनाबाट फेवतालको संरक्षणसँगै सीमान्तकृत जलारी समुदायको वैकल्पिक आयआर्जन सुनिश्चित भएको बताए। नेपालको प्रतिष्ठित व्यावसायिक समूहले सामाजिक उत्तरदायित्वका रूपमा जलकुम्भीबाट स्थानीयबासीलाई आम्दानी र पर्यटकीय उत्पादनको योजना ल्याउनु सराहनीय भएको उनले बताए।
'हाम्रो पञ्चवर्षीय योजनामा वातावरणमैत्री हरित रोजगारी सिर्जना गर्ने भनिएको छ। उक्त योजनालाई लक्ष्मी ग्रुपको यो परियोजनाले साथ दिएको छ,' उनले भने, 'हाम्रो आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि जलकुम्भीबाट हस्तकला सामान उत्पादन गर्ने भनेका थियौं, अब यो कार्यान्व्यनमा गयो।'
लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले जलकुम्भीको दिगो व्यवस्थापन गर्न महानगरसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताए।
देशविदेशमा हासिल भएका प्रविधि र सीप प्रयोग गरेर जलकुम्भीलाई समस्या नभई आम्दानीको स्रोतका रूपमा रूपान्तरण गर्न महानगरपालिका, पर्यटन व्यवसायी र स्थानीय जलारी समुदायको साथ र सहयोग चाहिने उनले बताए।
'यो परियोजना सफल बनाउन हामीले सबैको साथ, सहयोग र समन्वय आवश्यक ठानेका छौं,' उनले भने, 'यसले ताल सफा राख्छ र स्थानीयलाई आम्दानीको भरपर्दो माध्यम दिन्छ।'