लगानी बोर्डले शिसा उद्योग स्थापनाको सम्भाव्यता अध्ययन गर्न बोलपत्र आव्हान गरेको छ।
बोर्डले सार्वजनिक निजी सहकारी वा पूर्ण निजी लगानीमा शिशा उद्योगको सम्भावना अध्ययन गर्न बोलपत्र आव्हान गरेको हो।
बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले शिशा पुरै आयात गर्नुपरिरहेको अवस्थामा देशमै उद्योग स्थापना गर्न सकिने÷नसकिने बारे अध्ययन गर्न बोलपत्र आव्हान गरिएको जनाए।
‘हामी शिशामा पूर्णरुपमा परनिर्भर छौँ। त्यसको न्युनीकरण गर्न स्वदेशमै उद्योग खोलिनुपर्छ भन्ने हाम्रो चाहना हो। त्यसैले सो को सम्भाव्यता अध्ययनका लागि प्रक्रिया अघि बढाइएको हो’, वाग्लेले भने।
शिशा बनाउन बालुवामा हुने सिलिकन नामक पदार्थ आवश्यक पर्ने भएकाले काठमाडौं उपत्यकाको कुनै नदीमा सम्भाव्यता अध्ययन गर्न सकिने वाग्लेले बताए।
बोर्डले सम्भाव्यता अध्ययन गर्न इच्छुक स्वदेशी वा विदेशी कम्पनीले २१ दिनभित्र आवश्यक कागजपत्रसहित निवदेन दिन आव्हान गरेको छ।
सार्वजनिक खरिद ऐन २०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४ र लगानी बोर्ड ऐन २०६८ तथा लगानी बोर्ड ऐन २०६९ का आधारमा सम्भाव्यता अध्ययनका लागि योग्य कम्पनीको छनोट गरिने जनाएको छ।