नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय समिति बैठक स्थगित गर्दै पदाधिकारी, पूर्वपदाधिकारी र 'वान टू वान' गरी नेताहरूसँग अनौपचारिक छलफल अघि बढाएका छन्।
नेताहरूसँग अनौपचारिक संवाद गरिरहेका खड्काले आइतबार दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक दुई दिन पर धकेलेर समझदारी खोजिरहेका छन्।
ललितपुरको धोविघाटमा आइतबार बिहानदेखि नै कार्यवाहक सभापतिले नेताहरूसँग छलफल गरिरहेका हुन्।
यही बेला नेता शेखर कोइरालानिकट युवा विद्यार्थीहरूले सानेपास्थित केन्द्रीय कार्यालयको मुख्य गेटमा तालाबन्दी गरे। नियमित महाधिवेशन कार्यतालिका तत्काल ल्याउनुपर्ने र ४० प्रतिशत युवा प्रतिनिधित्व सुनिश्चित नगरेसम्म ताला नखोल्ने अडान युवा विद्यार्थीहरूको छ।
भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनपछि कांग्रेसभित्र नीति र नेतृत्व परिवर्तनको आवाज उठेको छ। त्यसका लागि चुनावअघि महाधिवेशन गरिहाल्नुपर्ने पक्षमा महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा तथा नेता शेखर कोइरालालगायत नेता छन् भने सभापति शेरबहादुर देउवा पक्षका पदाधिकारी तथा पूर्वपदाधिकारी भने वैशाखमा महाधिवेशन गर्नुपर्नेमा छन्।
कांग्रेसभित्रको अहिलेको मुख्य विवाद महाधिवेशन कहिले गर्ने, नियमित गर्ने कि विशेष महाधिवेशन गर्ने भन्नेमै केन्द्रित छ। केन्द्रीय समितिमा छलफलका लागि १० एजेन्डा तय गरे पनि अहिलेसम्म बोलेकाहरूले महाधिवेशनकेन्द्रित धारणा राखेका छन्।
तर महाधिवेशन कार्यतालिका केन्द्रीय समितिमा प्रस्ताव हुनसमेत सकेको छैन। महामन्त्री गगन थापाले केन्द्रीय कार्यसम्पादन समितिमा महाधिवेशन कार्यतालिका पेस गरे पनि सभापति देउवा पक्षको सहमति नहुँदा महाधिवेशन कार्यतालिका केन्द्रीय समितिमा पेस हुन सकेको छैन।
महाधिवेशन कार्यतालिका ल्याउन संस्थापन पक्ष (सभापति देउवा पक्ष) तयार नदेखिँदा पछिल्ला केन्द्रीय समिति बैठकमा महामन्त्री थापा अनुपस्थित रहे। महाधिवेशन कार्यतालिका पेस गर्न नदिने हो भने आफू अब केन्द्रीय समिति बैठकमा उपस्थित नहुने थापाको अडान छ।
तत्काल महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउनुपर्ने र चुनावपछि मात्रै महाधिवेशन गर्ने गरी अहिलेकै केन्द्रीय समितिबाट महाधिवेशन कार्यतालिका ल्याउनुपर्ने दुईथरि मत हुँदा केन्द्रीय समिति बैठक बन्धक बनेको छ र कार्यवाहक सभापति खड्काले नेताहरूसँग परामर्शलाई तीव्रता दिनुपरेको छ।
आज पनि कार्यवाहक सभापति खड्काले पदाधिकारी, पूर्वपदाधिकारी तथा केही नेताहरूसँग सामूहिक र एक्लाएक्लै पनि संवाद गरेका छन्। मंगलबार दिउँसो १ बजे बस्ने केन्द्रीय समिति बैठकबाट सहमतिमै महाधिवेशन कार्यतालिका ल्याउन सकिन्छ कि भनेर कार्यवाहक सभापति खड्काले नेताहरूसँग संवाद गरिरहेको उनीनिकट नेताहरू बताउँछन्।
आजको पदाधिकारी बैठकमा कार्यवाहक सभापति खड्काले नेताहरूका बीचमा औपचारिकभन्दा पनि अनौपचारिक कुराकानीको आवश्यकता देखेर केन्द्रीय समिति बैठक रोकेर संवाद थालनी गरेको बताएका थिए।
‘महामन्त्री गगन थापाजी पछिल्लो केन्द्रीय समिति बैठकमा अनुपस्थित रहनुभयो, एक खालको समझदारी पनि बनाऊँ भनेर बीचमा केन्द्रीय समिति बैठक पनि रोकियो, केन्द्रीय समितिमा अब जाँदा एउटा सहमति बनाएर जाऔं, त्यसैले औपचारिकभन्दा पनि अनौपचारिक संवादको आवश्यकता देखियो, आज यहीँ (धोविघाटस्थित एक होटलमा) बसेर सबैले सबैसँग कुराकानी गर्नुपर्यो,’ भन्ने प्रस्ताव कार्यवाहक सभापति खड्काको थियो।
त्यसपछि कार्यवाहक सभापति खड्काले नेताहरूसँग सामूहिक र 'वान टू वान' छलफल गरिरहेका छन्।
छलफलमा महामन्त्री गगन थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले जसरी पनि मंसिरभित्र १५ औं महाधिवेशन गर्नुपर्नेमा जोड दिएका थिए। मंसिरभित्रै महाधिवेशन गर्न कठिन छ भन्ने लाग्छ भने पुस १६ देखि १९ गतेसम्म महाधिवेशन उपयुक्त हुने उनीहरूको भनाइ थियो।
‘मंसिरभित्रै महाधिवेशन गर्नुपर्छ, केही तलमाथि हुँदा पुससम्म पुग्ला, तर अहिलेको कार्यसमितिको म्याद थप गर्न हुन्न। यो महाधिवेशन अघि बढ्यो भने विशेष महाधिवेशन प्रस्ताव स्वत: निस्क्रिय हुन्छ,’ महामन्त्रीद्वय थापा र शर्माको एकै स्वर थियो।
सभापति शेरबहादुर देउवा पक्षका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूले भने फागुन, चैत वा वैशाखमा १५ औं महाधिवेशन गर्न सकिने कुरा गरेका थिए।
‘केन्द्रीय समितिमा बहुमत छ भन्ने हो र चुनावपछि महाधिवेशन गर्ने प्रस्ताव पारित गर्ने हो भने यसबीचमा विशेष महाधिवेशन अघि बढाउनुपर्ने हुन्छ, विधानअनुसार विशेष महाधिवेशन बाध्यकारी छ,’ महामन्त्री गगन थापाले भनेका कुरा उद्धृत गर्दै एक पदाधिकारीले भने, ‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेर २९ असोजमै हस्ताक्षर बुझाइसकेका छन्, त्यो के गर्नुहुन्छ?’
महामन्त्री थापाले अब दुई वटा मात्रै बाटो भएको कुरा पदाधिकारी बैठकमा राखेका थिए।
पहिलो- तिथिमिति घोषणा गरेर मंसिर वा पुसभित्र महाधिवेशन गरेर जाने। यसो गर्दा विशेष महाधिवेशन गर्न परेन, नियमित नै हुन्छ।
दोस्रो- नियमित महाधिवेशन अहिले नगर्ने, फागुनको चुनावपछि गर्ने हो भने त्यो बाटो पनि हिँड्न सकियो बहुमतको निर्णयले। तर त्यसो गर्दा के जोडिएर आउने भयो भने- विशेष महाधिवेशन गर्नै पर्यो।
१४ औं महाधिवेशनमा रहेका ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये ५४ प्रतिशतले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका थिए। विधानको धारा १७ को उपधारा २ अनुसार हस्ताक्षर बुझाएको ३ महिनाभित्र विशेष महाधिवेशन आयोजना गरिसक्नुपर्छ।
केन्द्रीय समितिले नियमित महाधिवेशन कार्यतालिका ल्याउन बिलम्ब गरिरहेका बेला विशेष महाधिवेशन माग गरेका महाधिवेशन प्रतिनिधिहरूले पनि कार्यवाहक सभापति खड्कालाई भेटेर विशेष महाधिवेशन प्रक्रिया अघि बढाउन आग्रह गरिसकेका छन् र मंगलबारका लागि भेला बोलाएका छन्।
तैपनि कांग्रेसका औपचारिक तथा अनौपचारिक छलफलमा सभापति शेरबहादुर देउवा पक्षका पदाधिकारी र पूर्वपदाधिकारीहरू चुनावअघि नियमित वा विशेष महाधिवेशन कुनै पनि महाधिवेशन गर्ने पक्षमा छैनन्।
सभापति देउवा पक्षका केही केन्द्रीय सदस्यहरू भने चुनावअघि महाधिवेशन गरेर जानुपर्छ भन्नेमा उभिएका छन्। नत्र चुनावमा फेस गर्न नसकिने उनीहरूको भनाइ छ।
तर सभापति देउवा पक्षका पूर्वपदाधिकारीहरू यस्ता कुरा सुन्न नचाहेको स्रोतको दाबी छ।
‘पूर्वपदाधिकारीहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले कुनै हालतमा चुनावअघि महाधिवेशन तिथिमिति घोषणा गर्न हुँदैन भनेर बैठकमा भनिराख्नुभएको छ,’ एक पदाधिकारीले भने।
निधि, सिंह र सिटौलालाई अरू पदाधिकारीहरूले चुनावअघि महाधिवेशनमा के आपत्ति हो भनेर पनि सोध्ने गरेका छन्।
उनीहरूले भन्ने गरेका छन्- अहिले महाधिवेशन गर्दा पार्टीको तल्लो निकायसम्म भाँडभैलो हुन्छ। कसरी भाँडभैलो हुन्छ भन्नेबारे भने उनीहरूले खासै तर्क पुर्याउन नसक्ने छलफलमा सहभागी नेताहरू बताउँछन्।
‘बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरू संकटका बेला महाधिवेशन नगरी जान सकिँदैन, महाधिवेशन गरेर नीति र नेतृत्व ल्याऊ भनिरहेका छन्, महाधिवेशन गर्दा कसरी पार्टीमा भाँडभैलो हुन्छ?’ भन्ने प्रश्न संस्थापन इतरका नेताहरूले निधि, सिंह र सिटौलालाई सोध्ने गरेको ती पदाधिकारी बताउँछन्।
छलफलका क्रममा कार्यवाहक सभापति पूर्णबहादुर खड्का भने महाधिवेशनको तिथिमिति अहिलेकै केन्द्रीय समितिबाट घोषणा गरेर जाने पक्षमा देखिएको ती पदाधिकारीले बताए।
‘कुराकानी गर्दा र यसो हेर्दा कार्यवाहक सभापति खड्का महाधिवेशन कार्यतालिका ल्याउन सकारात्मक देखिनुहुन्छ, तर पूर्वपदाधिकारीले सबै कुरा अड्काएकोजस्तो देखिन्छ,’ ती पदाधिकारीको आरोप छ।
पूर्वपदाधिकारीहरू सबैले कार्यवाहक सभापति खड्कालाई साथ नदिएकोसमेत नेताहरू दाबी गर्छन्। ‘कार्यवाहक सभापतिले काम गर्न सकेनन् भनेर फेरि सभापति देउवालाई नै फिर्ता ल्याउने आसय पनि केही पूर्वपदाधिकारीको देखिन्छ,’ ती पदाधिकारीले आशंका व्यक्त गरे।
जनेजी आन्दोलनका क्रममा भदौ २४ गते प्रदर्शनकारीहरू घरभित्रै छिरे सभापति देउवा दम्पतीमाथि आक्रमण गरेका थिए। सभापति देउवा दम्पती थप उपचारका सिलसिलामा सिंगापुरमा छन्। सभापति देउवाले असोज २८ गते उपसभापति खड्कालाई कार्यवाहक सभापति जिम्मेवारी तोकेका थिए।
संस्थापन पक्षभित्रका केही नेताहरू सभापति देउवालाई फिर्ता ल्याएर अहिलेको परिस्थितिको सामना गर्न लगाउनुपर्नेमा देखिएको अर्का एक नेताले सेतोपाटीलाई बताए।
‘कार्यवाहक सभापतिले सकेनन् भन्ने भास्य बनाएर सभापति देउवालाई नै फिर्ता ल्याउने र विशेष महाधिवेशन फेस गर्न लगाउने एकथरिको प्रयास पनि छ,’ ती नेताले भने।
तर सभापति देउवानिकट एक नेताले भने सभापति देउवा अब सक्रिय नेतृत्वमा नआउने दाबी गरे। ‘उहाँ त मंसिरमै महाधिवेशन होस् भन्ने चाहनुहुन्थ्यो, असोज २८ को केन्द्रीय समितिमा दिएको वक्तव्यमा मिति नै तोकिदिने कि भन्ने पनि थियो तर कतिपय साथीहरूको आग्रहमा समयमै महाधिवेशन गरी नेतृत्व हस्तान्तरण गर्ने कुरा लेखिएको थियो,’ ती नेताले दाबी गरे।
केन्द्रीय सदस्य नैनसिंह महरले सभापति, उपसभापति, महामन्त्री 'भी फाइभ' ले समयमा महाधिवेशन गर्न नसकेको बताएका छन्।
‘विधानले दिएको जिम्मेवारीसमेत पूरा गर्न नसक्दा र सदस्यता वितरण लगायतका काम समयमा नहुँदा आजको स्थिति आएको हो,’ महरले भने।
महरले समयमै नियमित महाधिवेशन सम्पन्न गर्न नसक्ने अवस्थामा पुर्याउने पदाधिकारीहरूले यसको जिम्मेवारी लिनुपर्ने बताए।
उनले पार्टीभित्र विशेष महाधिवेशन, नियमित महाधिवेशन वा समयमै महाधिवेशन गर्नुपर्ने जस्ता सबै सुझावले कांग्रेसलाई बलियो बनाउने भन्दै सबै विचार समूहलाई समेटेर एकीकृत धारणा बनाउनुपर्ने बताए।