डेढ वर्षअघिसम्म राजधानीको कोटेश्वरस्थित ॐ कान्तिपुर भोजनालयमा तन्दुरी रोटी बनाएर बेच्ने गरेका शेषनारायण पाण्डे हाल आफ्नै गाउँमा व्यवसायिक बाख्रापालनमा लागेका छन्। आफैले उद्यम गर्ने उद्देश्य लिएर उनले गाउँमा बाख्रापालन थालेका हुन्।
रिव्दिकोट गाउँपालिकास्थित कन्टिपोखरामा उनले २०७३ पुसदेखि व्यवसायिक रुपमा बाख्रा पाल्न थालेका हुन्। आजसम्म करिब १५ लाख रुपैयाँ लगानी गरिसकेका छन्। उनका खोरमा हाल डेढ सय बढी बाख्रा छन्। बिहानै उठेर बाख्राका खोर सफा गर्ने, दानापानी खुवाउने, घाँस काट्ने, चराउने तथा स्याहारसुसार गर्दा उनको दिन बित्छ। उनको काममा परिवारका सदस्यले पनि सघाउने गरेका छन्।
वैशाखसम्म बाख्राको संख्या २ सय पुग्ने पाण्डेले जानकारी दिए। ‘अहिले केही बाख्रा ब्याउने अवस्थामा छन्, वैशाखसम्म सहजै २ सय पुग्छ’ उनले भने। सिद्धार्थ इन्स्योरेन्समा उनले बाख्राको बिमा पनि गराएका छन्। एउटा बाख्रा बराबर १० हजार रुपैयाँको बिमा रहेको पाण्डेले बताए। यदी बाख्रा कुनै कारणले मरेमा क्षतिपूर्ति पाइने भएकाले आफू ढुक्क रहेको उनले बताए।
एसएलसीसम्मको अध्ययन गरेका उनले वार्षिक १० लाख रुपैयाँ कमाउने लक्ष्य लिएका छन्। ‘एउटा खसी करिब २५÷३० केजीको हुन्छ, महिनामा ६÷७ वटा बेचे पनि लक्ष्य पुरा हुन्छ’ उनले हिसाव गरे ‘यहाँ प्रतिकेजी साढे ६ सय रुपैयाँ भाउ छ।’
बाख्रापालन गरेरै उनले छोराछोरीलाई राजधानीमा पढाएका छन्। छोराले ब्याचलर्स सकाएका छन् भने जेठी छोरी ब्याचलर्स दोस्रो वर्ष, तथा कान्छी छोरी प्लस टु पढ्दै छन्। ‘छोराछोरीलाई विभेद नगरी राम्रैसँग पढाउने मेरो लक्ष्य हो, तीन छोराछोरी काठमाडौं बसेर पढेका छन्’ उनले भने।
पुँजी थपेर व्यवसाय अझै बढाउने उनको चाहना छ। तर बैंकले ऋणका लागि अझै नपत्याउने गरेको उनको अनुभव छ। खोरमा धेरै नै बाख्रा भइसकेपछि सदरमुकाम तानसेनस्थित राष्ट्रिय वाणिज्य बैंकमा उनी ऋणका लागि पुगे।
तर बैंकले भने बाख्रा धितो राखेर ऋण दिन नमिल्ने भनी फर्कादिएको पाण्डे बताउँछन्। ‘ऋणका लागि जाँदा, बैंकले धितो के राख्ने भनेर सोध्यो, मैले बाख्रा नै राख्ने भनेपछि ऋण दिएन’ उनले भने ‘ऋणका लागि घरजग्गा नै खोजियो, त्यो पनि गाउँमा भएकोले नहुने भयो।’
कृषिका लागि सरकारले सहुलियत व्याजदरमा ऋण दिने कुरा गरे पनि आफूले चलनचल्तीको ब्याजमा समेत ऋण नपाउँदा उनी दुःखी छन्। ‘कृषिका लागि अनेक कार्यक्रमहरु ल्याइन्छ, तर हामीजस्ता किसान नै यी कार्यक्रमबाट वञ्चित छौँ’ उनले भने।
बाख्रापालनका लागि गाउँमै प्रशस्त घाँस तथा दानापानी जुट्ने उनले बताए। ‘गाउँमा बाख्रालाई चाहिने घाँस तथा खसीबेका तयारीपछि बेच्नका लागि बजारको कुनै समस्या छैन’ पाण्डेले भने ‘घरमै व्यापारीहरु आएर खरिद गरेर लैजान्छन्।’
यदी गाउँघरमै सुहाउँदो हावापानीअनुसार कृषि काम गर्ने हो भने कोही पनि युवा विदेश जानु नपर्ने उनको भनाइ छ। बाबुको व्यवसायिक बाख्रापालन देखेपछि काठमाडौंबाट बिबिएस सकाएका छोरा दिपक समेत कृषि पेशामा आकर्षित भएका छन्।
बाबुसँग मिलेर उनले छुट्टै लोकल कुखुराको फारम खोलेका छन्। हाल दुई सय कुखुरा उनको फारममा छन्। यो संख्यालाई बढाएर पाँच सय पुर्याउने लक्ष्य लिएको उनले बताए।
‘वैशाखसम्म पाँच सय कुखुरा पुर्याउने लक्ष्य छ’ दिपकले भने ‘लोकल कुखुरा पाल्ने प्रचलन हराइरहेकाले यसको मासु पनि महँगो हुँदै गएको छ।’
लोकल कुखुरा तयार भएपछि घरबाटै बिक्री हुने गरेको उनले बताए। प्रतिकेजी ७ सय रुपैयाँमा उनले घरबाटै लोकल कुखुरा बेच्ने गर्छन्। ‘खसीको मूल्यभन्दा यसको भाउ कम छैन, यसको माग झन् बढी छ, जतासुकै बोइलर पाल्न थालेपछि लोकल जात हराइसकेको थियो’ उनले भने।
खसिबोका तथा कुखुराको बजारका लागि कुनै समस्या नरहेको उनले बताए। सदरमुकाम तथा अन्य क्षेत्रका होटल रेष्टुरेन्टहरुले समेत माग गरे पनि सबैलाई पुर्याउन नसकिएको उनले बताए।