नेपाल एयरलाइन्सबाट बीबी एयरवेजले किनेको बोइङ ७५७ नामसारीमा कानूनी जटिलता भएको छ।
१४ करोडमा किनेको उक्त विमान बीबीको नाममा कसरी नामसारी गर्ने भन्ने विषयमा नियामक नागरिक उड्डयन प्राधिकरण अन्यौलमा परेको छ।
कुनै पनि विमानको कारोबार तथा स्वामित्व एयरलाइन्ससँग मात्र हुने कानूनी व्यवस्था छ। जुन मान्यता गुमाइसकेको बीबीको नाममा कसरी विमान दिने भन्ने विषयमा अहिले प्रष्ट नभएको क्यानका निर्देशक राजन पोखरेलले जानकारी दिए।
‘हामीले कुनै पनि विमानको स्वामित्व एयरलाइन्समा मात्र हुने व्यवस्था गरेका छौँ’ उनले भने, ‘तर यहाँ बीबीले एयरलायन्स अपरेटरको हैसियत गुमाइसकेको छ यस्तोमा कसरी प्रक्रिया मिलाउने भनेर हामी छलफल गर्छाँ।’
नामसारीको विषयमा कुनै अनुरोध नआएकोले यसबारेमा केही धारणा नबनेको उनको भनाइ छ। ‘९एन–एसिए’ दर्ता नम्बरको बोइङको दर्ता खारेज गर्न नेपाल एयरलाइन्सले क्यानमा आवेदन दिएको छ। यद्यपी दर्ता खारेज नहुने भएको छ।
कुनै पनि विमानको दर्ता खारेज हुनलाई नास भएको हुनुपर्ने वा नेपाल बाहिर गएको हुनुपर्ने व्यवस्था भएकोले उक्त बोइङको दर्ता खारेज हुनै नसक्ने क्यानको भनाइ छ।
बीबीले भने कबोल गरेको १५ करोड १८ लाख रुपैयाँ नेपाल एयरलाइन्सलाई बुझाइसकेको छ। अमेरिकी विमान निर्माता कम्पनी बोइङबाट २०४४ सालमा खरिद गरिएको कर्णाली नामको उक्त विमान व्यवसायिक रुपमा उडान गर्न अयोग्य भएको भन्दै निगमले बिक्री गर्ने निर्णय गरेको थियो।
विमानको बिक्री मूल्य निर्धारण गर्न परामर्शदाता नियुक्त गरेर १८ करोड मूल्यमा बेच्ने निष्कर्षमा एयरलाइन्स पुगेको थियो। तर पहिलो चरणमा विश्वव्यापी टेन्डरमा कुनै पनि कम्पनी किन्न इच्छुक नभएपछि मूल्य पुनरावलोकनसहित दोस्रो चरणबाट बीबीले उक्त टेन्डर हात पारेको थियो।
दुई वटा इन्जिन भएको उक्त विमान मर्मत गरेर अन्तर्राष्ट्रिय उडान गर्ने तयारीका साथ आएको बीबीको एयर अपरेटर सर्टिफिकेट भने खारेज भइसकेको छ।