नेपालबाट विश्वका विभिन्न देशमा हवाई सेवा दिनको लागि तीन वटा स्वदेशी एयरलायन्सले तयारी थालेका छन्।
यसअघि नै अन्तर्राष्ट्रिय उडानको लाइसेन्स तथा एयर अपरेटर सर्टिफिकेट पाएर गुमाएका दुई र एउटा आन्तरिक उडान गरिररहेको कम्पनीले अन्तर्राष्ट्रिय उडानको तयारी गरेका हुन्।
पर्यटन मन्त्रालयका अनुसार हाल बीबी एयरवेज र अल्पाइन एयरले लाइसेन्स नवीकरणको लागि आवेदन दिएका छन्। त्यस्तै आन्तरिक उडानमा रहेको श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय फिक्स्ड उडान लाइसेन्सको लागि आवेदन दिएको छ।
मन्त्रालय दुई एयरलाइन्सको लाइसेन्स नवीकरण गरिदिने तथा आन्तरिक एयरलाइन्सलाई पनि अन्तर्राष्ट्रिय उडानमा प्रवेश दिने कार्यविधि संसोधन गर्ने तयारीमा छ।
बीबी एयरवेज गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टको हो भने अल्पाइन एयर सन् १९९८ मै अनुमति पाएर सेवा संचालन गर्न नसकेको कम्पनी हो। श्री एयरलाइन्स भने यही वर्ष आन्तरिक फिक्स्ड विङको अनुमति पाएको कम्पनी हो। यद्यपी रोटर वीङ (हेलिकप्टर)को भने उ अन्तर्राष्ट्रिय एओसीको लाइसेन्स प्राप्त कम्पनी हो।
अन्तर्राष्ट्रिय एयरलाइन्सलहरुले नेपालको हवाई व्यापारमा अधिपत्य जमाएको भन्दै व्यवसायीले स्वदेशीलाई अनुमति दिनका लागि लामो समयदेखि माग गर्दै आएका छन्।
तर हवाई क्षेत्रको नियामक नागरिक उड्डयन प्राधिकरण(क्यान) भने तत्काल कुनै पनि एयरलाइन्सलाई एओसी दिन नसकिने बताउँछ। एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्यो पनि साँघुरो बन्दै गएकोले नयाँ विमानस्थल निर्माण नहुन्जेल नयाँलाई उडान अनुमति दिनै नसकिने क्यानका निर्देशक राजन पोखरेलले बताए।
‘लाइसेन्स लिएर वर्षौ विमान किन्न नसक्ने एयरलाइन्सलाई त झन दिनै सकिन्न’ उनले भने, ‘त्यसमा पनि अहिले हामीसँँग विमानस्थलमा पर्याप्त ठाउँ नै छैन।’
सरकारले विदेशी एयरलाइन्सलाई प्राथमिकता दिएको तर स्वदेशीलाई बेवास्ता गरिरहेको व्यवसायीको आरोप छ। स्वदेशी एयरलाइन्स पनि लाइसेन्स लिएर बस्ने तर सेवा संचालन नगर्ने प्रवृत्तिबाट अछुतो छैनन्। यही कारण पछिल्लो समय अन्तर्राष्ट्रिय उडानको व्यापारमा विदेशी एयरलाइन्सको व्यापार ९० प्रतिशत रहेको छ।
हवाई क्षेत्रमा सम्भावना बढिरहँदा त्यसको फाइदा विदेशी एयरलाइन्सले लिइरहेका छन्। विमानस्थलको तथ्यांकअनुसार अघिल्लो वर्ष कुल यात्रु संख्यामा जम्मा ११ प्रतिशत हिस्सा नेपाल एयरलाइन्सको र करिव १ प्रतिशत हिमालय एयरलाइन्सको थियो। बाँकी ८८ प्रतिशत यात्रु विदेशी एयरलाइन्सले बोकेका थिए।
यो वर्ष मात्र तीन वटा विदेशी एयरलाइन्स थपिएका छन्। यो सँगै कुल २९ विदेशी र २ नेपाली कम्पनीले अन्तर्राष्ट्रिय उडान गरिरहेका छन्।नेपाली एयरलाइन्सको उपस्थिति कमजोर देखिएको छ। सन् २०१७ को ९ महिनामा विदेशी एयरलाइन्सले ९० प्रतिशत बढी यात्रु बोकेका छन्।
नेपालमा आन्तरिक उडान गरिरहेका एयरलाइन्स वा आउन चाहने जो कसैलाई पनि अनुमति लिनै कठिन भएको तर विदेशीले आवेदन दिनेवित्तिकै पाउने गरेकाले यस्तो अवस्थाआएको व्यवसायीहरुको तर्क छ।
उडान अनुमति कार्यविधिअनुसार कुनै पनि नेपाली एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति पाउन पाँच वर्ष उडान अनुभव, ५० करोड पुँजी र तीनवटा विमान त्यसमा जेट विमान हुनुपर्ने मापदण्ड राखिएको छ।
प्रत्येक ३/३ वर्षमा संसोधन हुनुपर्ने उक्त कार्यविधि २०६६ पछि संसोधन भएको छैन। हालको कार्यविधिअनुसार ए देखि सी वर्गसम्मका लाइसेन्स छन्। सी वर्गको लाइसेन्स लिनकै लागि माथिका मापदण्ड पुरा गर्नुपर्ने अवस्था छ।
वर्तमान कानूनी व्यवस्थाले लगानी गरी उडान गर्न सक्ने व्यवसायी खुम्चिएर बस्नुपर्ने अवस्था आएको श्री एयरलाइन्सका अध्यक्ष सुधिर मित्तलको भनाइ छ। तर विदेशीले भने धमाधम अनुमति पाउने गरेको उनले बताए।
‘हवाई सुरक्षा बाहेकका अन्य विषयमा सरकारले अनावश्यक मापदण्ड बनाएको छ’ मित्तलले सेतोपाटीसँग भने, ‘उडान गर्न सक्ने सक्षम एयरलाइन्सलाई अनुमति दिने व्यवस्था हुनपर्छ।’
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने उक्त कार्यविधि पुर्नविचार गर्ने तयारी गरेको छ। समयसापेक्ष परिवर्तन गर्दै जानुपर्ने व्यवस्थाअनुसार नै मन्त्रालयले कार्यविधि संसोधनका लागि समिति बनाइसकेको सहसचिव सुुरेश आचार्यले जानकारी दिए।
नयाँ कार्यविधि बनेपछि अन्तर्राष्ट्रिय उडानमा जान चाहने इच्छुक एयरलाइन्सबाट प्रस्ताव आव्हान गर्ने र त्यसबाट सक्षम एयरलाइन्सलाई अनमति दिइने उनले बताए।