नेप्से परिसूचक साताको पहिलो दिन दोहोरो अंकमा घटेको छ। ११. ७८ अंकले घटेर नेप्से १६१७ अंकमा कायम भएकमो छ। १५९ कम्पनीको ७९ करोड ४६ लाखको सेयर खरिदबिक्री भएको छ।
होटलबाहेकका सबै समूह रातो अंकमा रहे। सो समूह ४ अंकले बढेको छ। बैंकिङ १२। विकास बैंक १४, जलविद्युत १५, बिमा ३९, उत्पादन २५ र अन्य समूह २ अंकले ओर्लिए।
प्राइम लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै रकमको कारोबार भयो। सो कम्पनीको ५ करोड ४३ लाखको कारोबार हुँदा मूल्य पनि बढेर प्रतिकित्ता २७७४ कायम भएको छ। सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमको ४ करोड ४४ लाखको कारोबार भयो।
६० प्रतिशत लाभांशका लागि कम्पनीको बुक क्लोज मिति भदौ १२ रहेकाले उसको कारोबार बढेको हो। कम्पनीले आजै लाभांशको घोषणा गरेको हो। एनसीसी बैंक, नेपाल बैंक तथा साना किसान बैंक पनि कारोबारका आधारमा अगाडि रहे।
बजार घटे पनि स्वरोजगार लघुवित्त विकास बैंकका लगानीकर्ताले १० प्रतिशतको हाराहारीमा नाफा कमाएका छन्। सिर्जना फाइनान्स र लक्ष्मी बैंकको मूल्य क्रमशः ७ र ५ प्रतिशतले बढेको छ।
हिमालयन डिस्टिलरीका लगानीकर्ताले आज पनि १० प्रतिशत मूल्य गुमाए। वर्ल्ड मर्चेन्ट बैंकिङको मूल्य ९ प्रतिशतले घटेको छ। रिडी हाइड्रो, ग्रीन डेभलपमेन्टको मूल्य क्रमशः ७ र ५ प्रतिशतले घट्यो। समूहगत रुपमा हेर्दा बैंकिङ समूहको सबैभन्दा धेरै २० करोड ९० लाखको कारोबार भएको छ।
आजदेखि हिमालयन पावरको कारोबार भएको छ। ३ सय रुपैयाँमा कारोबार खुले पनि बन्द हुँदा प्रतिकित्ता ३३० पुगेको छ।