पूर्वाधार विकास बैंकका लागि राष्ट्र बैंकले नीतिगत व्यवस्था गर्दै बाटो खुला गरेको छ। यस्तो पूर्वाधार विकास बैंकको चुक्ता पुँजी २० अर्ब हुनुपर्ने व्यवस्था गरिएको छ। पूर्वाधार विकास बैंक खोल्न चाहनेले स्वीकृति पाएको ६ महिनाभित्र पब्लिक कम्पनीका रुपमा दर्ता गर्नुपर्छ।
बैंकमा सेयर बाँडफाँडका सम्वन्धमा विदेशी लगानीमा खुल्ने र विदेशीलगानीबिना खुल्नेका लागि छुट्टाछुट्टै व्यवस्था गरिएको छ।
विदेशी लगानीबिना खुल्नेमा संस्थापकलाई न्यूनतम ५१ देखि अधिकतम ७० प्रतिशतसम्म सेयर व्यवस्था गरिएको छ भने सर्वसाधारणलाई ३० प्रतिशत अनिवार्य व्यवस्था गरिएको छ। सर्वसाधारणलाई छुट्याइएको सेयरमै कर्मचारीका लागि पनि व्यवस्था गरिएको छ।
त्यस्तै विदेशी संयुक्त लगानी वा वित्तीय संस्थाको लगानीमा खुल्ने भएमा संस्थापकलाई न्यूनतम २० देखि अधिकतम ८५ प्रतिशत र सर्वसाधारणलाई न्यूनतम १५ प्रतिशत सेयर जारी गर्नुपर्ने व्यवस्था गरिएको छ।
त्यस्तै ५० प्रतिशत मात्रै विदेशी लगानीमा खुल्ने भएमा सर्वसाधारणलाई न्यूनतम ३० प्रतिशत सेयरको व्यवस्था हुनुपर्ने नीतिगत व्यवस्थामा उल्लेख छ।
पूर्वाधार विकास बैंकका संस्थापकको योग्यता पनि नीतिगत व्यवस्थामा उल्लेख गरिएको छ। पूर्वाधार क्षेत्रमा लगानी परिचाालन गर्ने उद्देश्यले यस्तो बैंक खोल्न लागिएको हो।