बीमा समितिका अध्यक्ष चिरन्जिवी चापागाईले आगामी दिनहरुमा बीमा कम्पनीहरुको निरीक्षण र अनुगमनलाई प्रभावकारी बनाउँदै लगिने बताएका छन्।
बीमा क्षेत्रमा नियम, बिधि तथा कानुन अनुसार काम नगर्नेलाई कारवाही गर्न पछि नपर्ने उनले बताए। बीमा कम्पनीहरुले तोकिएकै समयमा पुँजी वृद्धि पुर्याउने विश्वास व्यक्त गरे। । प्रभु इन्स्योरेन्स स्थापनाको २१ औं वर्ष पुरा गरी २२ औं वर्षमा प्रवेश गरेको अवसरमा उनले सो धारणा राखे।
साथै उनले निर्जीवन बीमाको दायरा बृद्धि गर्नको लागि हुलदंगा तथा आतंकबादको बीमा दर परिमार्जन गरिएको बताए।
कार्यक्रममा कम्पनीका अध्यक्ष कुसुम लामाले कृषि तथा बाली बीमा सम्वन्धमा सहकार्य गरी अगाडि बढ्नु पर्ने आवश्यकता रहेको बताउँदै बीमा समिति र बीमा कम्पनीहरुले सहकार्य गरी जनचेतनामुलक कार्यक्रम अगाडि बढाइनुपर्ने बताइन्।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै कम्पनीका उपाध्यक्ष राजेन्द्र मल्लले बीमा समितिको मार्गदर्शनमा कम्पनीलाई सुधार गर्दै लगिएको तथा समितिको निर्देशन बमोजिम पुँजी बृद्धिको योजना पेश गरिएको र सोहीअनुरुप वृद्धि हुने बताए।
कम्पनीको प्रगती बिवरण प्रस्तुत गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृतसन्चित बज्राचार्यले नियामक निकायको निर्देशनलाई सदैव पालना गर्दै प्रतिस्पर्धात्मक बजारमा अघि बढ्दै जाने बताए।