बुधबार सेयर बजारमा कुल १ अर्ब ५ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ। १५७ कम्पनीहरुको सेयर खरिदबिक्री हुँदा सो रकमको कारोबार भएको हो।
यस दिन विकास बैंक समूहको सबैभन्दा धेरै रकमको सेयर किनबेच भएको छ। वाणिज्य बैंकको २२ करोड ४७ लाखको कारोबार भएकोमा विकास बैंक समूहको ४६ करोड १ लाखको सेयर किनबेच भएको छ।
सामान्यतः बैंक तथा बिमा समूहको कारोबार उच्च हुने गरेकोमा बुधबार भने विकास बैंक समूहको सबैभन्दा बढी रकमको कारोबार भएको हो। माइक्रोफाइनान्स कम्पनीहरु पनि यो समूहमै पर्दछन्।
यस दिन समग्र बजारको परिसूचक नेप्से २. ४९ अंकले बढेको छ। आजको कारोबारपछि नेप्से १६६२ अंकमा कायम रह्यो। बजारको पुँजीकरण १९ खर्ब ४६ अर्ब कायम भएको छ।
बैंकिङ समूह १.५, होटल १४, विकास बैंक १२ र फाइनान्स ३१ अंकले बढेका छन्। बिमा ४९ अंकले घटेको छ भने जलविद्युत २ तथा उत्पादन समूह ३ अंकले ओर्लिए। अन्य समूह १ अंकमुनि रातो रह्यो। नेपाल ग्रामीण विकास बैंकको सबैभन्दा धेरै ८ करोड ५५ लाखको कारोबार भयो।
दोस्रोमा रहेको मुक्तिनाथ विकास बैंकको ५ करोडको कारोबार भयो। नेसनल माइक्रोफाइनान्स, कुबेर मर्चेन्ट फाइनान्स र मिर्मिरे माइक्रोफाइनान्सका लगानीकर्ताले १० प्रतिशत मूल्य कमाए। युनाइटेड मोदीका लगानीकर्ताले ५ प्रतिशत मूल्य गुमाए।