नेपाल धितोपत्र बोर्डका कर्मचारीहरूले मंगलबार कार्यालयमा अवरोध गरे। कर्मचारी संगठनहरूले शिलशिलाबद्ध आन्दोलनका कार्यक्रम गर्ने तयारी गरिरहेको बोर्डका कर्मचारी राज पण्डितले जानकारी दिए।
कर्मचारीहरूले खाइपाइ आएको सेवा सुविधा कटौती भएको विरोधमा मंगलबार उनीहरू कामकारबाही ठप्प पार्दै आन्दोलनमा उत्रिएका हुन्।
बोर्डका कर्मचारीहरूले कार्यरत र पेन्सन पाकेका कर्मचारीले बोर्डको कर्मचारी कल्याण कोष र कर्मचारी सुरक्षण कोषबाट छुट्टाछुट्टै सेवासुविधा पाउँदै आएका छन्।
हालै अर्थमन्त्रालयको राजस्व सचिवस्तरीय बैठकले सेवा सुविधा पाउने सम्बन्धी सबै नीतिगत व्यवस्था खारेज गर्न निर्देशन दिएपछि बोर्डमा तनावको वातावरण बनेको थियो। कर्मचारी कल्याण कोष र नेपाल धितोपत्र बोर्ड कर्मचारी सुरक्षण कोष कार्यविधि खारेज गर्न निर्देशन दिइएको हो।
त्यस्तै, सचिवस्तरीय बैठकले विगतमा कोषबाट भुक्तानी भएको रकम पनि सरकारी बाँकी सरह असुल हुनुपर्ने निर्णय गरेको छ।
‘विगतमा वितेका कर्मचारीबाट समेत रकम असुल्ने भन्ने कुरा मुनासिव हुँदैन्, हामी यसको विरोध गर्छौ,’ बोर्डका एक कर्मचारीले भने।
भूतप्रभावी नियम ल्याएर समाधान नहुने भन्दै कर्मचारीहरूले आन्दोलनका विभिन्न कार्यक्रम गर्ने भएका छन्।