लक्ष्मी सनराइज बैंकको डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने वार्षिक अभियानको छैठौं संस्करण #डिजिटल डिसेम्बर अभियान सुरू भएको छ।
'सहजताको नयाँ परिभाषा उपहार सँगै' नाराको साथ यस अभियानले बैंकका ग्राहक तथा उपभोक्ता लाई डिसेम्बर महिनाभरी डिजिटल बैंकिङ अपनाउन प्रोत्साहन गर्नका लागि विभिन्न अफरहरू प्रदान गर्नुका साथै विभिन्न स्थानहरूमा वित्तीय साक्षरता बढाउन कार्यक्रमहरू पनि गर्नेछ।
यस अभियानमा ग्राहकहरूलाई डिजिटल रूपमा सशक्त बनाउन र उनीहरूको बैंकिङ अनुभव सरल बनाउनका लागि निम्न प्रकारका योजनाहरू रहेका छन्:
बैंकका ग्राहकहरूलाई विशेष अफर:
सरलीकृत कर दाखिला: डिसेम्बर महिनाभरी मोबाइल मनी मार्फत आफ्नो स्थायी लेखा नम्बर वा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गरी एक सय रूपैयाँ वा बढीको मोबाइल रिचार्ज गर्ने ग्राहकहरूले बैंकबाट थप एक सय रूपैयाँको रिचार्ज प्राप्त गर्नेछन्। आफ्नो खातामा यसरी प्यान वा एनआइडी अपडेट गर्नाले आफ्नो निक्षेपमा आर्जित ब्याजको कर कट्टी सजिलै प्रविष्ट हुनुका साथै अन्य फाइदाहरू पनि हुन्छन्।
सहज बिजुली बिल भुक्तानी: मोबाइल मनी प्रयोगकर्ताहरुले सजिलै एउटा मिस-कल मार्फत आफ्नो बिजुलीको बिल तिर्न सक्नेछन्। मोबाईल मनी एपबाटै सो सेवामा आबद्व भई डिसेम्बर महिनाभरी मिस-कल मार्फत बिल भुक्तानी गर्ने ग्राहकहरूले पनि एक सय रूपैयाँ रिचार्ज प्राप्त गर्न सक्नेछन्।
क्रेडिट कार्डमा विशेष अफर: तोकिएको योग्यता पुगेका ग्राहकले डिसेम्बर महिनाभरी क्रेडिट कार्डको आवेदन दिई सो सेवा लिएमा जारी शुल्क साथै ५ वर्षको वार्षिक शुल्कमा पनि छुट पाउनेछन्।
लचिलो वित्तीय समाधान: आज किनौं, भोली तिरौं (बिएनपिएल): क्रेडिट कार्ड ग्राहकले डिसेम्बर महिनाभरी आफ्नो क्रेडिट कार्ड प्रयोग गरी ३० हजार रूपैयाँभन्दा बढीको खरिद गरेमा बिना कुनै प्रोसेसिङ शुल्क र ब्याज बिनानै सो भुक्तानीलाई सरल किस्ताबन्दीमा विभाजन गर्न सक्नेछन्।
अन्तर-बोर्डर भुक्तानी सेवा : लक्ष्मी सनराइज बैंकका क्युअर सेवाग्राही व्यवसायीहरूले विभिन्न भारतीय मोबाइल वालेट मार्फत डिसेम्बर महिनाभरी भुक्तानी लिँदा लक्की ड्र द्वारा विभिन्न पुरस्कारहरू जित्न सक्नेछन् ।
साथै, वित्तीय शिक्षा कार्यक्रम अन्तर्गत 'डिजिटल संवाद' कार्यक्रम सञ्चालन गरिने छ। अन्य डिजिटल वित्तीय सेवाप्रदायकसँगको सहकार्यमा देशका विभिन्न स्थानमा वित्तीय चेतनासम्बन्धी अन्तर्क्रियात्मक कार्यक्रमहरू सञ्चालन हुने बैंकले जनाएको छ।