शुक्रबार घरेलु बजारमा अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च भयो।
अमेरिकी डलरको बिक्रीदर १३४ रूपैयाँ ८२ पैसा र खरिद दर १३४ रूपैयाँ २२ पैसा तोकिएको छ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले ट्रम्प ट्रेडको प्रभावको कारण डलरको भाउ बढिरहेको उल्लेख गरेका छन्।
अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको निर्वाचान जित्ने विश्वास बढ्दै जाँदा डलर बलियो भएको हो।
निर्वाचन सुरू हुन मात्रै तीन साता बाँकी हुँदा राष्ट्रपतिमा ट्रम्पको जितको सम्भावना बलियो मानिएको हो। उनको जितसँगै अमेरिकाको नीतिगत ब्याजदर घट्न सक्ने अनुमान गरिएको छ।
ट्रम्पको ब्यापार नीतिले डलरलाई नै सघाउने गरी त्यहाँ मूल्य वृद्धि हुने र ब्याजदर बढ्ने अनुमान गरिएको छ।
पूर्व राष्ट्रपति रहिसकेका ट्रम्पले स्वचालित करको प्रस्ताव गरेका छन्।
यसअन्तर्गत अमेरिकासँग व्यापार गर्ने मुलुकबाट हुने आयातमा १० देखि २० प्रतिशतसम्म कर लाग्नेछ।
त्यस्तै, चीनबाट हुने आयातामा ६० प्रतिशत लेभी लाग्ने प्रस्ताव गरेका छन्।
यसले एक सयदेखि एक हजार प्रतिशतसम्म वस्तुका मूल्य बढ्ने अनुमान गरिएको छ।
यसको कारण हुन सक्ने व्यापार युद्धले लगानीकर्ताहरूमा विश्वमा जोखिम बढेको मनोविज्ञान कायम हुने र जोखिममा सुरक्षित मानिने डलरको भाउ बढ्न सक्ने आकलन गरिएको छ।
यो प्रस्तावको केही अंश मात्रै कार्यान्वयनमा आउँदा पनि ट्रम्पको यसअघिको पहिलो कार्यकालमा भएको भन्दा जटिल व्यापार युद्ध हुने मानिएको छ।
गत मंगलबार ट्रम्पले करलाई 'विश्वकै सबैभन्दा सुन्दर शब्द' र 'आफ्नो सबैभन्दा प्रिय शब्द'को उपमा दिएका थिए। उनले करबाटै डलरको सञ्चितिको हालको अवस्थामा सुधार ल्याउने उल्लेख गरेका थिए।
डलरको मूल्य बढ्दा नेपाललाई भने मिश्रित प्रभाव पर्छ। रेमिटेन्समा आधारित अर्थतन्त्र भएकोले डलरमा भित्रिने रकम बढेको देखिनेछ।
पर्यटनबाट हुने आम्दानी पनि बढेको देखिनेछ। डलरको भाउ बढेको कारण यहाँका परिवारले पाउने नेपाली मुद्रा बढ्ने भएकोले रेमिटेन्स बढाउन यसले प्रोत्साहित गर्न सक्छ।
यसअघि पनि डलरको भाउ उच्च हुँदा विदेशिएका श्रमिकहरूले सरसापट गरेर पनि बढी रेमिटेन्स पठाउने गरिएको मानिन्छ।
तर, नेपालको व्यापारमा आयातको हिस्सा नै धेरै भएकोले यसले महँगी बढाउनेछ। विदेशबाट कच्चा पदार्थ ल्याएर यहाँ उत्पादन गरिने सामानको लागत र भाउमा समेत वृद्धि हुन सक्छ।
नेपालमा आयात हुने समानको भुक्तानी भारतीय मुद्रा र डलरबाट समेत गरिन्छ। यसले मुलुकको विदेशी मुद्रा सञ्चिति घट्न सक्छ।