नेपालमा भारतबाट सबैभन्दा धेरै वैदेशिक लगानी आउने गरेको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०–८१ को तथ्यांक अनुसार भारतबाट नेपाली संस्थाहरूमा हाल कायम वैदेशिक लगानी एक खर्ब तीन अर्ब ५० करोड छ।
यस्तो लगानीको आधारमा चीन दोस्रो स्थानमा छ। चीनबाट हाल कायम वैदेशिक लगानी ३५ अर्ब ५० करोड रूपैयाँ छ।
त्यस्तै, आयरल्याण्डबाट २२ अर्ब ६० करोड, अष्ट्रेलियाबाट १९ अर्ब १० करोड र सिंगापुरबाट भएको यस्तो लगानी १८ अर्ब ८० करोड छ।
गत आर्थिक वर्ष २०८०/८१ मा कायम वैदेशिक लगानी ११.८ प्रतिशतले बढेर दुई खर्ब ९५ अर्ब रूपैयाँ पुगेको छ।
यसमध्ये ५२.८ प्रतिशत चुक्ता पुँजीको रूपमा र १३.५ प्रतिशत कर्जाको रूपमा संस्थाहरूले पाएका छन्। ३३.३ प्रतिशत बराबर रकम भने संस्थाहरूको सञ्चितिमा रहेको छ।
हाल औद्योगिक क्षेत्रमा सबैभन्दा धेरै ५९.७ प्रतिशत यस्तो लगानी छ।
औद्योगिक क्षेत्रका विद्युत, ग्यास, एयर कन्डिसन लगायतका क्षेत्रमा ३० प्रतिशत र उत्पादनमूलक क्षेत्रमा २९.४ प्रतिशतमा लगानी छ।
बाँकी ४०.२ प्रतिशत लगानी सेवा क्षेत्रमा छ। यसमध्ये वित्तीय संस्थाहरूमा २६ प्रतिशत, सूचना र सञ्चार क्षेत्रमा ६.७ प्रतिशत, होटेललगायतका क्षेत्रमा ६.३ प्रतिशत छ।
नेपालमा ५८ मुलुकबाट वैदेशिक लगानी तथा ऋण आउँछ। जलविद्युत क्षेत्रमा सबैभन्दा धेरै २९ अर्ब ३० करोड बराबरको वैदेशिक ऋण छ। विभिन्न क्षेत्रमा यसरी वैदेशिक लगानीमार्फत् आएको ऋण ६० अर्ब ३० करोड हाराहारी छ।
वैदेशिक लगानीमा रहेका संस्थाहरूले वार्षिक चार खर्ब ५० अर्ब बराबरको आम्दानी गर्छन्। वैदेशिक संस्थाले पाएको नाफा दर औसतमा ११.६१ प्रतिशत बराबर देखिएको छ।
यो वर्ष यी दुबैमा कमी आएको हो। यस अघिकोे वर्ष संस्थाहरूको यस्तो आम्दानी चार खर्ब ४५ अर्ब रूपैयाँ थियो। प्रतिसेयरमा प्रतिफल १४.३ प्रतिशत देखिएको थियो।
गत आर्थिक वर्षमा वैदेशिक लगानीकर्ताले १७ अर्ब ३३ करोड रूपैयाँ लाभांश बापत फिर्ता लैजान स्वीकृत पाएका छन्। यसमध्ये एक अर्ब ८० करोड रूपैयाँ लाभांश रकम सोही वर्ष फिर्ता गएको छ।
सो वर्ष वैदेशिक लगानी भित्रिएको तुलनामा २३.३ प्रतिशत बराबर रकम लाभांशको रूपमा फिर्ता गएको हो। गत आर्थिक वर्षमा लाभांश फिर्ता घटाएर बाँकी भित्रिएको खुद वैदेशिक लगानी रकम भने ६७.९ प्रतिशतले घटेर ६ अर्ब रूपैयाँमा सीमित भएको छ।
नेपालमा स्वीकृत हुने विदेशी लगानीको तुलनामा भित्रिने दर ज्यादै न्युन छ। गत आर्थिक वर्षमा ३० अर्ब ६९ करोड रूपैयाँ यस्तो लगानी स्वीकृत हुँदा मात्रै पाँच अर्ब ९६ करोड रूपैयाँ भित्रिएको छ।
विगत २८ वर्षमा चार खर्ब ४२ अर्ब २० करोड रूपैयाँ वैदेशिक लगानी स्वीकृत हुँदा मात्रै एक खर्ब ५४ अर्ब ९५ करोड रूपैयाँ भित्रिएको थियो। यो स्वीकृत भएको रकमको तुलनामा ३५ प्रतिशत मात्रै हो।
राष्ट्र बैंकका अनुसार वैदेशिक लगानी रहेका ७ सय ५४ वटा संस्था सक्रिय छन्। यसमध्ये २ सय ३८ वटा संस्थाबाट नमुना लिएर यो प्रतिवेदन तयार पारिएको हो।
मुलुक | कायम वैदेशीक लगानी | कुलमा प्रतिशत |
भारत | १ खर्ब २ अर्ब ४५ करोड | ३५ |
चीन | ३५ अर्ब ४६ करोड | १२ |
आयरल्याण्ड | २२ अर्ब ६२ करोड | ८ |
अष्ट्रेलिया | १९ अर्ब ५ करोड | ६ |
सिंगापुर | १८ अर्ब ८० करोड | ६ |
वेष्ट इण्डिज | १४ अर्ब ३९ करोड | ५ |
दक्षिण केरिया | १३ अर्ब ८७ करोड | ५ |
युनाइटेड अरब | १२ अर्ब २८ करोड | ४ |
अमेरिका | १२ अर्ब २२ करोड | ४ |
हंङकङ | ७ अर्ब २३ करोड | २ |
अन्य | ३६ अर्ब ७ करोड | १२ |
कुल | २ खर्ब ९५ अर्ब | १०० |
| | |