गत असार १६ गते यता नेप्से परिसूचक ८८६ अंकले बढेको छ। असार १६ गते २०३७ बिन्दुमा रहेकोमा नेप्से साउन २९ गते २९२३ बिन्दुमा आइपुगेको छ।
सेयर बजार बढेसँगै लगानी गर्नेहरू थपिइराखेका छन्। कारोबार रकममा दिनँहु रकेर्ड बनिरहेको छ। यही साउनमै सेयर बजारले सबैभन्दा धेरै कारोबार हुने रकेर्ड बनायो। साउन २८ गते सेयर बजारमा एकैदिन २७ अर्ब २४ करोड रूपैयाँको सेयर कारोबार भयो।
अहिले बजार २९३१ बिन्दुमा पुगेर करेक्सन आएको छ। नेप्से अबको केही दिन २९६० देखि २९८० को आसपासमा रहन सक्छ। किनभने नेप्सेले यो बिन्दुमा प्रतिरोध पाउने सम्भावना छ।
यसअघि नेप्से हालसम्मकै उचाइ ३१९८ मा पुगेको समयमा त्यहाँबाट घटेर पुनः बढ्ने क्रममा २९६० देखि २९८० को आसपासमा प्रतिरोध पाएको थियो।
यो प्रतिरोध पार गरेमा भने नेप्सेको लक्ष्य नै ३१९८ हुनेछ।
त्यसपछि के होला त बजार? ३१९८ पछि बजार कहाँसम्म पुग्छ भन्न सजिलो हुँदैन। ३१९८ को उच्च बिन्दुलाई सबैले देखेका छन्। यहाँसम्मको बाटो सबैलाई थाहा छ।
कुनै न कुनै दिन त्यहाँसम्म बजार पुग्छ भन्ने सबैलाई हुन्छ। त्यसपछि बजार के हुन्छ भनेर भन्न गाह्रो हो।
अहिले धेरै प्राविधिक विश्लेषकहरूले विगतको तथ्यांकको आधारमा हेरेर विभिन्न अड्कल पनि लगाउँछन्। विभिन्न प्राविधिक विश्लेषणका औजारहरूले कहाँसम्म बजार पुग्न सक्छ भनेर अनुमान पनि गर्न सक्ने बनाउँछ। तर, ती अनुमानकै आधारमा बजार त्यो तहमा भने नपुग्न सक्छ।
बजार उच्च तहमा हुँदै गर्दा आधारभूत पक्षहरूले काम गरिरहेका हुँदैनन्। प्राविधिक विश्लेषणले काम गरिरहेको त हुन्छ तर यसले लगानीकर्ताको मनोविज्ञान मात्रै देखाउने काम गरिरहेको हुन्छ। बजार बढ्ने मनोविज्ञान बढ्दै गइरहेको देखिए प्राविधिक विश्लेषणले पनि बजार अझै बढ्दै जान्छ भनेर देखाइरहेको हुन्छ।
बजार घट्दै जाँदा थप घट्छ भनेर देखाइरहेको हुन्छ। यस्तोमा पहिले पाएका टेवा वा प्रतिरोध बिन्दुहरूमा भने बजारले पनि प्रतिक्रिया दिइरहेको हुन्छ। टेवामा पुग्दा बजार थप घट्न रोकिने र प्रतिरोधमा पुग्दा बजार थप बढ्न रोकिने हुन्छ।
यसअघिकै केही उदाहरण हेर्न सकिन्छ। बि.सं २०५० माघ ३० गतेबाट सेयर बजार परिसूचक नेप्से गणना सुरू भएको धितोपत्र बोर्डका २५ वर्ष (२०५०-२०७४) मा उल्लेख छ।
यो क्रममा एक सय बिन्दुबाट बढ्न थालेको बजारले २०५७ मंसिर ८ गते त्यो दशककै उच्च बिन्दु ५४५.८२ बिन्दु छोयो। त्यसपछि बजार फेरि घट्यो र दुई सय आसपाससम्म आयो।
त्यसपछि बजारले २०६५ भदौ १५ अर्को नयाँ उचाइ बनायो। सो समय ११७५.३८ बिन्दुमा पुग्यो। त्यसपछि भने बजार घटेर २९२ बिन्दुसम्म पुग्यो। बजारले २०७३ साउन १२ मा १८८१ मा नयाँ उचाइ बनायो। त्यसपछि बजार फेरि घटेर ११०० बिन्दु आसपास आयो।
बजारले २०७८ भदौ २ गते ३१९८ को नयाँ उचाइ बनाएको हो। यो उच्च बिन्दु हालसम्म तोडिएको छैन। नेप्से अहिले उच्च बिन्दुभन्दा २७५ अंक मात्रै तल छ।
३१९८ बाट घटेको बजार १८०० बिन्दु आसपाससम्म पुगेर अहिले बढिरहेको हो।
यो अवधिलाई हेर्ने हो भने नेप्सेले हरेकपटक नयाँ उचाइ बनाउँदा पुरानो उच्च बिन्दुबाट ६० देखि एक सय १५ प्रतिशतसम्म बढेको छ।
पहिलो उच्च बिन्दुलाई भने यसमा समावेश गरिएको छैन। किनभने सो समय बजार सुरू भएपछिको उच्च बिन्दु थियो। त्यो समय ४४५ प्रतिशत वृद्धि भएको थियो। आधार वर्षपछिको पहिलो उच्च बिन्दु भएकोले यसलाई नलिइएको हो।
यो घटबढमा हेर्ने हो भने तेस्रो उच्च बिन्दु १८८१ पछि नेप्से त्यसअघिका उच्च बिन्दुमा पुगेर बढ्ने गर्दै आएको छ। बढ्ने क्रममा पनि धेरैजसो अवस्थामा इतिहासका प्रतिरोधहरूमै अल्झिने गरेको छ। तर, लगानीकर्ताहरूको मनोभाव उच्च हुँदा भने त्यस्ता प्रतिरोध सजिलै तोडिने गरेको छ।