सेयर बजारले उचाइ छोइरहँदा प्रायः सबैजसो कम्पनीको सेयर मूल्य बढेर कारोबार भइरहेको छ।
असार ३१ गतेदेखि यता मात्रै नेप्से तीन सय २७ अंकले वृद्धि भएको छ।
पछिल्लो समय कम पुँजी भएका र यसअघि एक हजार माथि मूल्य पुगेका लघुवित्त कम्पनीहरूमा लगानीकर्ताहरू आकर्षित भइरहेका छन्।
अहिले बजारमा मूल्यका आधारमा सबैभन्दा धेरै मूल्य हुने कम्पनीहरूमा यही समूहका कम्पनीहरूको बाहुल्यता छ।
यो समूहमा रहेका ५३ कम्पनी मध्ये १० कम्पनीको मात्रै सेयर मूल्य एक हजार रूपैयाँभन्दा कममा कारोबार भइरहेका छन्। यी मध्ये पाँच कम्पनीको कारोबार भने अहिले रोक्का छ।
लघुवित्त कम्पनीहरूको सेयर मूल्य एक हजार रूपैयाँ माथि नै हुनुपर्ने कुनै नियम होइन। कम्पनीहरूको मूल्य बजारको माग, कम्पनीहरूको अवस्थाले निर्धारण गर्छ।
यसरी एक हजार मूल्यभन्दा कममा कारोबार हुनेमा आरएसडिसी, स्वरोजगार, साना किसान, मेरो र फर्स्ट माइक्रोफाइनान्स लगायतका कम्पनीहरू छन्।
त्यस्तै, निर्धन उत्थान, नेरूडे मिरमिरे, एनएमबी, एनआइसी एसिया र ग्रामीण विकास लघुवित्त कम्पनी छन्।
चालु आर्थिकको लागि मौद्रिक नीति ल्याउने तयारी गरिरहेको राष्ट्र बैंकले लघुवित्त कम्पनीहरूलाई अहिले ब्याजमा गरिएको कडाइ खुकुलो बनाइदिने खबर आइरहेकोले पनि यसमा अकर्षण देखिएको हो।
अहिले कर्जामा अधिकतम १५ प्रतिशतसम्म मात्रै ब्याज लिन पाउने व्यवस्था गरिएको छ। यसमा लचिलो नीति आएमा कम्पनीहरूको आम्दानी बढ्ने अनुमानमा लगानीकर्ताहरू छन्।
त्यस्तै, गत आर्थिक वर्षको अन्त्यमा लघुवित्त कम्पनीहरूको वित्तीय अवस्थामा पहिलेभन्दा केही सुधार आएको अनुमानले पनि यो समूह बढेको हो।
अघिल्लो आर्थिक वर्षमा धेरै लघुवित्तको खराब कर्जामा उच्च वृद्धि देखिएको थियो। त्यसमा केही सुधार हुन सक्ने अपेक्षामा लगानीकर्ता रहेका छन्।
राष्ट्र बैंकले मौद्रिक नीतिमा समग्र सेयर बजारलाई सकारात्मक प्रभाव पार्ने गरी यसअघिका कडिकडाइमा केही लचिलो हुने सम्भावना रहेको बजारमा विश्लेषण हुन थालेको छ।
यसले समग्र सेयर बजार बढ्ने र यसको लाभ साना पुँजीका लघुवित्त कम्पनीमा समेत हुन सक्ने लगानीकर्ताहरूको बुझाइ छ।
लघुवित्त कम्पनीहरूमा लगानी गर्दा अहिले लगानीकर्ताहरूले अन्य कुरामा पनि ध्यान दिनुपर्ने हुन्छ। तेस्रो त्रैमासमा पनि कतिपय कम्पनी नोक्सानमा देखिएका छन्। तर, तिनको मूल्य भने उच्च नै देखिएको छ। सेयर आपूर्ति कम भएकै आधारमा यसरी मूल्यलाई लगानीकर्ताहरूले उचाइमा पुर्याएका छन्।
त्यस्तै, गत असोज वा चैतमा कतिपय लघुवित्त कम्पनीहरूको खराब कर्जा बढेको छ। यसमा कतिको सुधार देखियो भन्ने कुरा वित्तीय विवरण आएपछि नै थहा हुने भएकोले बुझेर लगानी गर्नु सही हुन्छ।