असार ३१ गते वाणिज्य बैंकहरूमा ५७ खर्ब ५५ अर्ब रूपैयाँ निक्षेप संकलन र ४५ खर्ब ७१ अर्ब रूपैयाँ कर्जा लगानी थियो।
तर, साउन ४ गते आइपुग्दा नपुग्दै निक्षेप २९ अर्बले घटेर ५७ खर्ब ५५ अर्बमा सीमित भयो। कर्जा लगानी पनि २१ अर्ब रूपैयाँले घटेर ४५ खर्ब ५० अर्ब रूपैयाँमा खुम्चियो।
बैंकहरूमा असार मसान्तको अन्तिम दिन कृत्रिम कर्जा लगानी भएकोले पनि यस्तो तथ्यांक देखिएको हो।
'बैंकहरूका शाखालाई हरेक वर्ष कर्जाको लक्ष्य दिइएको हुन्छ,’ एक बैंकरले भने, 'यस्तो शाखा पूरा गर्न बैंकका शाखा प्रबन्धकहरूले आफ्नो कुरा खाने ग्राहकहरूलाई एक दुई दिनको लागि मात्रै भए पनि ओभरड्राफ्ट (अधिविकर्ष) कर्जाको लिमिट अनुसार कर्जा लिइदिन आग्रह गर्छन्।'
यसरी लिइएको कर्जा भोलि वा पर्सिपल्टै तिरिँदा असार मसान्त कटेको एक दुई दिनमै कर्जा रकम उच्चले घटेको देखिने गरेको छ।
यस्तो ओभरड्राफ्ट कर्जाको रूपमा लिएको रकम बैंकमै निक्षेप राखिने भएकोले निक्षेप पनि एक दुई दिनलाई बढ्ने र पछि घट्ने ती बैंकरको भनाइ छ।
अहिले बैंक तथा वित्तीय संस्थाहरूको शाखा संख्या ११ हजारभन्दा धेरै छन्। वाणिज्य बैंकहरूको शाखा मात्रै पाँच हजार हाराहारी छ।
त्यसैले हरेक शाखामा एक/दुई करोड रूपैयाँले कर्जा बढेको देखिएमा नै केही अर्ब रकम कर्जा थपिएको देखिन सक्ने ती बैंकर बताउँछन्।
बैंकहरूमा यस्तो प्रवृत्ति रहेको पूर्व बैंकरहरू समेत बताउँछन्।
पूर्व बैंकर भुवन दाहाल भन्छन्, 'म पहिले नबिल बैंक हुँदा पनि यस्तै थियो, पछि हामीले यस्तो प्रवृत्ति रोक्न वर्षभरीको कर्जा वृद्धिको औसत लिएर कर्मचारीहरूको मूल्यांकन गर्न थाल्यौं, सानिमा बैंकमा आएपछि पनि मैले यही नीति लिएँ।'
ओभरड्राफ्ट कर्जामा ग्राहकले लिनसक्ने लिमिट अनुसार ऋण एकैपटक लिनुपर्छ भन्ने हुँदैन। ग्राहकले यस्तो कर्जा आवश्यकता अनुसार लिदै जान्छ। यही व्यवस्थाको फाइदा लिँदै शाखा प्रमुखहरूले अन्तिम दिन आफ्नो लक्ष्य अनुसार कर्जा पुगेको देखाउने गरेका छन्।
ऋणीले यस्तोमा सहयोग गरेबापत भोलिका दिनमा कर्जाको ब्याजदर वा शुल्कमा हेरिदिने चलन छ।
साउन लागे पनि कर्जा विस्तारमा सुधार भने नदेखिइसकेको बैंकरहरू बताउँछन्।
'साउन भर्खर नै लागेको छ,' एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने, 'अहिले नै कर्जाको विस्तार देखिदैन, तर यसपटक गत आर्थिक वर्षभन्दा कर्जाको वृद्धिदर केही न केही बढ्छ।'
अधिक तरलताले राष्ट्र बैंकमै थुप्रियो ४ खर्ब
कर्जा लगानी नबढ्ने र निक्षेप थुप्रिने प्रवृत्ति कायमै रहँदा बैंकहरूले राष्ट्र बैंकमा ४ खर्ब राखेका छन्।
बैंकहरूले साउन २ गते राष्ट्र बैंकमा ३४ अर्ब २५ करोड राखेका हुन्। औसत २.९९ प्रतिशत ब्याजमा बैंकहरूले २० दिनको लागि यति रकम राखेका हुन्।
त्यस्तै, बैंकहरूले स्थायी निक्षेप सुविधाअन्तर्गत पनि ३ खर्ब ६५ अर्ब रूपैयाँ राखेका छन्। आज मंगलबारसम्मको लागि यति रकम राखेका हुन्। साउन लागेमात्रै राष्ट्र बैंकले बैंकहरूबाट पटक–पटक गरेर ११ खर्ब पाँच अर्ब उठाएको छ। तीन देखि चार दिनको लागि राष्ट्र बैंकले ३ प्रतिशत ब्याजदरमा यो रकम उठाउँछ।
बैंकहरूमा रहेको अधिक तरलता खिच्न राष्ट्र बैंकले यस्तो उपकरण सञ्चालनमा ल्याएको हुन्छ।