नेपाल क्लियरिङ हाउस (एनसिएचएल) र आइएमएस सफ्टवेयर आइएमएस)बीच आइएमएसको बिलिङ सफ्टवेयरमा डाइनामिक नेपालपे क्युआर इन्टिग्रेट गर्नको लागि सम्झौता भएको छ।
उक्त सम्झौता पत्रमा एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र आइएमएसका प्रबन्ध निर्देशक सन्तोश ताम्राकारले हस्ताक्षर गरे।
यस साझेदारीपछि आइएमएसका ग्राहकहरूले आफ्नो बिलिङ सफ्टवेयरमा नेपालपे क्युआर इन्टिग्रेट गरी आफ्नो तोकिएको बैंक खातामा सोझै भुक्तानी प्राप्त गर्न सक्छन्।
यस सेवाको सुरुवातसँगै आइएमएसका बिलिङ सफ्टवेयर प्रयोग गरी मर्चेन्टहरूलाई नेपालपे क्युआरमार्फत् सहज रूपमा भुक्तानी प्राप्त गर्ने सुविधा हुनुका साथै भुक्तानीकर्ताले पनि सजिलै आफ्नो मोबाइल बैंकिङ, वालेट वा कनेक्ट आइपिएसमार्फत् भुक्तानी गर्न सक्नेछन्।
आइएमएस सफ्टवेयर नेपालको एक अग्रणी सफ्टवेयर कम्पनी हो।
आइएमएसले ग्राहकहरूका लागि बिलिङ सफ्टवेयरका साथै सेल्स पिओएस सिस्टम पनि प्रदान गर्दै आएको छ।
आइएमएसले विभिन्न क्षेत्र, रिटेल बिजनेस, मर्चेन्ट गरी नेपाल, भारत, मलेसिया र जापानलगायतका देशहरूमा २० हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।
नेपाल पे क्युआर नेसनल पेमेन्ट स्वीचअन्तर्गत क्युआर भुक्तानीलाई एप वा मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने नेपाल–क्युआर स्ट्याण्डर्डको पूर्वाधार हो।
मर्चेन्ट र व्यवसायीहरूले नेपाल पे क्युआरमा आबद्ध भई ग्राहकहरूबाट क्युआरमार्फत् भुक्तानी प्राप्त गर्नका लागि आफ्नो बैंक तथा वित्तीय संस्थामा सम्पर्क गर्न सक्छन्।
क्युआर स्ट्यान्डी उपलब्ध गराई वा आफ्नो बिलिङ सिस्टममा डाइनामिक क्युआर इन्टिग्रेट गरी वा इ–कमर्स पोर्टलमा क्युआर गेटवे जोडी अथवा एण्डरोइड पिओएसमा इन्टिग्रेट गरी उक्त भुक्तानी सेवा सुरू गर्न सकिन्छ।
हालै भ्वाइसमा आधारित क्युआर नोटिफिकेसन पनि केहि बैंक वित्तीय संस्थाहरूले उपलब्ध गराइरहेका छन्।