पछिल्लो समय सेयर बजार बढ्दो क्रममा देखिएको छ।
नेप्से २७ महिना यताकै उच्च विन्दुमा पुगेको छ भने दैनिक कारोबार रकम ३५ महिना यताकै उच्च पुगेको छ।
नेप्से २४२४ विन्दुमा आइपुग्दा कारोबार रकम साढे १५ अर्ब रूपैयाँ पुगेको छ। बजार बढेसँगै लघुवित्त कम्पनीहरूको सेयर मूल्य पनि बढ्न थालेका छन्।
लघुवित्त समूहको परिसूचक गत चैत २२ गते यता मात्रै एक हजार तीन सय २२ अंकले बढेको छ।
थोरै पुँजीका यी कम्पनीहरूमा सेयर आपूर्ती कम हुने भएकोले पनि आकर्षण उच्च छ। अहिले बजारमा मूल्यका आधारमा सबैभन्दा धेरै मूल्य हुने कम्पनीहरूमा यही समूहका कम्पनीहरूको बाहुल्यता छ।
सूचीकृत ५० मध्ये सात वटा कम्पनीको मूल्य दुई हजार माथि छ। त्यस्तै, दुई हजारभन्दा कम एक हजारभन्दा माथि मूल्य हुने कम्पनी संख्या २८ कम्पनीको मूल्य हजार रूपैयाँ माथि छ।
कतिपय लघुवित्त कम्पनीहरूको लाभांश क्षमता पनि राम्रै देखिएको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमास (साउनदेखि चैतसम्म) को वित्तीय विवरणमा लाभांश क्षमता समेत प्रकाशित गरेकामध्ये ३१ वटाले ०.३८ देखि शत प्रतिशतसम्म लाभांश क्षमता देखाएका छन्।
यिनमा १० प्रतिशतभन्दा धेरै लाभांश दिन सक्ने क्षमताका लघुवित्त भने मात्रै १५ छन्।
युनिक नेपाल, छिमेक, जीवन विकास, साना किसानको लाभांश क्षमता उच्च छ। युनिक नेपालको क्षमता सबैभन्दा धेरै शतप्रतिशत छ। छिमेक लघुवित्तको ६४.९९, जीवन विकासको ४८.५५ प्रतिशत, साना किसानको ४०.५५ प्रतिशतसम्म लाभांश क्षमता देखिएको छ।
उच्च लाभांश क्षमता देखिए पनि यी कम्पनीले क्षमता अनुसार सबै लाभांश दिन भने पाउँदैनन्।
यी कम्पनीहरूले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।
आरएसडिसी लघुवित्तले भने गत आर्थिक वर्षअन्त्यसम्मकै आधारमा लाभांश क्षमता प्रकाशित गरेको छ। कम्पनीको लाभांश क्षमता १०.८७ प्रतिशत छ।
लघवित्त कम्पनीहरूमा लगानी गर्दा अहिले लगानीकर्ताहरूले अन्य कुरामा पनि ध्यान दिनुपर्ने हुन्छ। तेस्रो त्रैमासमा पनि कतिपय कम्पनी नोक्सानमा देखिएका छन्।
तर, तिनको मूल्य भने उच्च नै देखिएको छ। सेयर आपूर्ति कम भएकै आधारमा यसरी मूल्यलाई लगानीकर्ताहरूले उचाईमा पुर्याएका छन्।
त्यस्तै, गत असोज वा चैतमा कतिपय लघुवित्त कम्पनीहरूको खराब कर्जा बढेको छ। यसमा कतिको सुधार देखिँदै गएको छ भन्ने बुझेर नै लगानी गर्नु सही हुन्छ।