साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक ५४.६६ अंकले बढेको छ।
नेप्से २.५२ प्रतिशतले बढेर २४२४.३२ विन्दुमा बन्द भएको छ।
नेप्से परिसूचक २७ महिनायताकै उच्च विन्दुमा पुगेको हो। यसअघि २०७९ वैशाख ११ गते २४२० विन्दुमा नेप्से पुगेको थियो।
त्यसयताको आज उच्च विन्दु हो।
बिहीबार कारोबार रकम गत ३५ महिनायताकै उच्च छ। आज १५ अर्ब ५४ करोड ८८ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यसअघि गत २०७८ भदौ १३ गते १५ अर्ब ६५ करोडको सेयर कारोबार भएको थियो।
आजको कारोबार त्यसयताकै उच्च हो।
बुधबार भने १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार ११३ रूपैयाँको सेयर कारोबार भएको थियो।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा तीन अर्ब ६० करोड रूपैयाँ वृद्धि भएको हो।
यस दिन ३१२ वटा धितोपत्रको तीन करोड ९९ लाख ३८ हजार २३७ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार १४३ कम्पनीको सेयर मूल्य बढेको छ भने ९५ वटाको घटेको छ। यस्तै, पाँच कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यसदिन पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल फाइनान्स, आँखुखोला जलविद्युत, उपकार लघुवित्त र थ्री स्टार हाइड्रोपावरको मूल्य १० प्रतिशतका दरले बढेको हो।
कुमारी सबल योजनाको मूल्य सर्वाधिक ५.७६ प्रतिशतले घटेको छ।
उक्त योजनाको मूल्य ९ रूपैयाँ ३३ पैसा कायम भएको छ।
यस्तै, सिन्धु विकास बैंक्को मूल्य ४.५७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ५०१ रूपैयाँ कायम भएको छ।।
बिहीबार नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य ९९७ रूपैयाँ ८० पैसामा ४२ करोड ४६ लाखको सेयर कारोबार भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा अपर तामाकोशी हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता १८८ रूपैयाँ ६० पैसामा ३८ करोड ९१ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
यसदिन बैंकिङ समूहमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ। उक्त समूहको परिसूचक सबैभन्दा धेरै ६.२८ प्रतिशतले बढेको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये वित्त र जलविद्युत समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
वित्त समूहको परिसूचक सबैभन्दा बढी १.२७ प्रतिशतले घटेको छ भने जलविद्युत समूहको परिसूचक शून्य प्रतिशतले घटेको छ।