वाणिज्य बैंकहरूले साउन महिनाको लागि ब्याजदर थप घटाएका छन्।
असारमसान्तमा सरकारी खर्च बढेसँगै बैंकमा थुप्रिएको निक्षेप थप बढिरहेको छ।
तर कर्जा अपेक्षित रूपमा बढ्न नसकेपछि लगानीयोग्य पुँजी बढ्दै गएको छ। अहिले बैंकिङ प्रणालीमा ६ खर्ब ६१ अर्ब बराबर कर्जा लगानी योग्य पुँजी छ।
लगानी योग्य रकम बढ्दै गएको अवस्थामा निक्षेपको ब्याजदर निकै न्युन तहमा आइसकेको छ।
तरपनि बैंकहरूले प्रत्येक महिना ब्याजदर घटाउने क्रमलाई निरन्तरता दिइरहेका छन्। साउन महिनाका लागि सबै बैंकले निक्षेपको ब्याजदर घटाएको सूचना निकालेका छन्।
असार महिनामा बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा अघिकतम ब्याजदर ७.६९ प्रतिशत दिएका थिए। यस्तो ब्याजदर औसतमा ६.९१ प्रतिशत थियो।
साउनको लागि बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ७.५३ प्रतिशत दिने भएका छन्। औसत ब्याजदर ६.६९ प्रतिशत छ।
एनएमबी र एनआइसी एशिया बैंकमा अहिले व्यक्तिगत मुद्दतिमा सबैभन्दा धेरै ब्याज पाइन्छ। साउनको लागि एनएमबी र एनआइसी एशिया दुवै बैंकले अधिकतम ७.५३ प्रतिशत ब्याजदर तोकेका छन्।
एभरेष्ट र कृषि विकास बैंकले ब्याजदर बढाएका छन्। लक्ष्मी सनराइज बैंक,स्ट्यान्डर्ड चार्टर्ड बैंक,नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल एसबिआई बैंकको ब्याजदर स्थिर छ।
राष्ट्र बैंकले समेत बैंकहरूले हरेक महिना मुद्दती निक्षेपको ब्याजदर १० प्रतिशतले मात्रै परिवर्तन गर्न सक्ने व्यवस्था गरिदिएको छ। यही नीति अनुसार बैंकहरूले ब्याजदर समायोजन गरेका हुन्।
कतिपय बैंकहरूले साधारण बचतमा न्युनतम ३ प्रतिशतसम्म मात्रै ब्याजदर दिन थालेका छन्। बैंकहरूले राष्ट्र बैंकबाट लिने तरलता सुविधाको न्युनतम ब्याजदर ३ प्रतिशत तोकिएकोले पनि योभन्दा कम नहुने गरेर साधारण बचतको ब्याजदर तोकेका हुन्।
त्यस्तै, संस्थागत निक्षेपकर्ताले व्यक्तिगत निक्षेपकर्ताको भन्दा एक प्रतिशत कम ब्याजदर पाइरहेको छन्।यस अनुसार उनीहरूले मुद्दतिमा औसतम ५.६४ प्रतिशत ब्याज पाउने भएका हुन्।
पछिल्लो समय लगानीकर्ताहरूको आत्मविश्वास घटेको, उपभोग नबढेको कारण बजार मागमा कमी आएको छ। यसले गर्दा बैंकमा कर्जा माग पनि घटेको छ। बैंकको कर्जा नबढ्ने तर निक्षेप थुप्रिने गरेकोले पनि निक्षेपको ब्याजदर घट्दो क्रममा रहेको हो।
बैंक | साउनकोको लागिब्याजदर (प्रतिशतमा) | असारको लागि ब्याजदर (प्रतिशतमा) |
एनएमबी | ७.५३ | ७.६९ |
एनआइसी एसिया | ७.५३ | ७.६९ |
सिटिजन्स बैंक | ६.७५ | ६.९ |
हिमालयन बैंक | ६.२५ | ७.६५ |
कुमारी बैंक | ६.५१ | ६.७६ |
माछापुच्छ्रे बैंक | ७ | ७.५ |
नबिल बैंक | ७ | ७ |
सिद्धार्थ बैंक | ६.७५ | ७ |
प्राइम कमर्सियल | ६.५ | ६.७५ |
सानिमा बैंक | ६.४ | ६.८ |
प्रभु बैंक | ७ | ७.५ |
लक्ष्मी सनराइज बैंक | ६.५ | ६.५ |
ग्लोबल आइएमई बैंक | ६.२५ | ६.५ |
स्ट्यान्डर्ड चार्टर्ड बैंक | ७ | ७ |
एभरेष्ट बैंक | ६.३ | ५.७५ |
नेपाल इन्भेष्टमेन्ट बैंक | ७ | ७ |
नेपाल बैंक | ६.२५ | ६.७५ |
राष्ट्रिय वाणिज्य बैंक | ६.२१ | ६.२२ |
नेपाल एसबिआई बैंक | ६.३ | ६.३ |
कृषि विकास बैंक | ६. २९ | ५.६६१ |
औसत | ६.६९ | ६.९१ |