असार २७ गते बिहीबार सेयर बजार परिसूचक नेप्से पहिलो पटक बजार बन्द हुँदा २२ सय माथिको विन्दुमा रोकिन सफल भयो।
यसअघि अन्तर दिनको कारोबारमा पटक–पटक २२ सय विन्दु माथि पुगे पनि नेप्से बजार बन्द हुने समयमा भने यो विन्दुबाट ओर्लिने गरेको थियो।
बिहीबार बजार बन्द हुँदा नेप्से २२०४ विन्दुमा छ। गत वर्ष साउन ७ गते यताकै उच्च विन्दुमा नेप्से आइपुगेको हो। गत साउन ७ गते नेप्से २२२७ विन्दुमा थियो।
अहिले नेप्से २२ सयको विन्दुभन्दा माथि नै रहे पनि अहिलेनै यो तहमा रहेको प्रतिरोध तोडिएको भन्न भने मिल्दैन।
किनभने प्रतिरोधको तह मानिएको विन्दुभन्दा १५/२० अंक माथि लागेपछि मात्रै बल्ल प्रतिरोध तोडिएको यकिन गर्न सकिन्छ। त्यसैले लगानीकर्ताले यसलाई ध्यान दिनुपर्ने हुन्छ।
बजार एक वर्षकै उच्च विन्दुमा आइपुग्दा केही कम्पनीले पनि वर्षको उच्च मूल्य पाएका छन्। नेप्सेको वेबसाइटमा उपलब्ध तथ्यांक अनुसार यस्ता प्रमुख तीन कम्पनीमा बलेफी हाइड्रो, जानकी फाइनान्स र न्यादी हाइड्रोपावर रहेका छन्।
बलेफी हाइड्रोपावर :
बलेफी हाइड्रोपावर कम्पनीको सेयर मूल्य कम्पनी सूचीकरण भएयताकै उच्च मूल्यमा आइपुगेको हो। बिहीबार कम्पनीको सेयर मूल्य चार सय २१ रूपैयाँ ५० पैसा छ।
कम्पनीको मूल्यले अन्तिम दुई दिनको कारोबारमा हरियो लामो आकारका दुई मैनबत्ती चित्र (क्याण्डल स्टिक) बनाएको छ। धागो रहित यी मैनबत्ती चित्रले बजारमा लगानीकर्ताहरू उच्च मूल्य तिर्न तयार रहेको देखाइरहेको छ। यी दुई दिनमा कारोबारमा पनि वृद्धि भएको छ। सामान्यतः केही हजार कित्ता सेयर कारोबार हुने गरेको यो कम्पनीको बिहीबार एक लाख कित्ताभन्दा धेरै सेयर कारोबार भएको छ।
मूल्य बढ्दो क्रममा रहेकोले सबैजसो प्राविधिक विश्लेषणले कम्पनीको अवस्था सकारात्मक नै देखाएको छ। तर, कम्पनी नोक्सानमा छ। कम्पनीको नोक्सानी हरेक त्रैमासमा बढिरहेको छ।
गत पुसमा १८ करोड नोक्सानमा रहेको कम्पनी गत चैतमा २६ करोड रूपैयाँ नोक्सनमा छ। कम्पनीसँग सञ्चित रहेको नोक्सानी ७० करोड रूपैयाँ पुगेको छ। विद्युत बेचेर हुने कमाई बढिरहेको भए पनि कम्पनी नाफामा आइसकेको छैन। गत चैतमा कम्पनीले विद्युत बेचेर ६९ करोड रूपैयाँ कमाएको थियो।
कम्पनी नोक्सानमा रहेकोले प्रतिसेयर आम्दानी पनि ऋणात्मक नै छ भने प्रतिसेयर नेटवर्थ मात्रै ६१ रूपैयाँ ४८ पैसा छ।
जानकी फाइनान्स
जानकी फाइनान्सको बिहीबार सेयर मूल्य सात सय ५५ रूपैयाँ ८० पैसा छ। यो एक वर्षयताकै उच्च मूल्य हो। कुनै समय कम्पनीको सेयर मूल्य आठ सय ३६ रूपैयाँसम्म पुगेको थियो।
कम्पनीको मूल्यले अन्तिम दुई दिनको कारोबारमा पहिलो दिन सानो हरियो र दोस्रो दिन लामो हरियो आकारका दुई मैनबत्ती चित्र (क्याण्डल स्टिक) बनाएको छ। यी मैनबत्ती चित्रले बजारमा लगानीकर्ताहरू उच्च मूल्य तिर्न तयार रहेको देखाइरहेको छ।
यी दुई दिनमा पनि कम्पनीको कारोबार यसअघि जस्तै उच्च नै छ। केही दिनदेखि कम्पनीको कारोबार दैनिक दुई लाख कित्ता हाराहारी भइरहेको छ।
मूल्य बढ्दो क्रममा रहेकोले सबैजसो प्राविधिक विश्लेषणले कम्पनीको अवस्था सकारात्मक नै देखाएको छ। तर, यो कम्पनी पनि नोक्सानमा छ। गत चैतमा कम्पनी १० करोड रूपैयाँ नोक्सनमा छ।
कम्पनीसँग सञ्चित रहेको नोक्सानी ४५ करोड रूपैयाँ पुगेको छ। कम्पनीको मुख्य आम्दानीको स्रोत ब्याज आम्दानी अघिल्लो वर्षको चैतको तुलनामा बढेको छ। अघिल्लो वर्ष चैतमा ४२ करोड ५३ लाख ब्याज आम्दानी गरेको कम्पनीले गत चैतमा ४३ करोड १३ लाख आम्दानी गरेको छ।
कम्पनीको खराब कर्जा खासै सुधार हुन सकेको छैन। कम्पनीको खराब कर्जा कुल कर्जाका करिब २९ प्रतिशत बराबर छ। कम्पनी नोक्सानमा रहेकोले प्रतिसेयर आम्दानी पनि ऋणात्मक नै छ भने प्रतिसेयर नेटवर्थ मात्रै ७६ रूपैयाँ ९४ पैसा छ।
न्यादी हाइड्रोपावर कम्पनी
न्यादी हाइड्रोपावर कम्पनीको सेयर मूल्य एक वर्ष यताकै उच्च मूल्यमा आइपुगेको हो। बिहीबार कम्पनीको सेयर मूल्य तीन सय ६१ रूपैयाँ ९० पैसा छ।
कम्पनीको यसअघि पाँच सय ६६ रूपैयाँसम्म मूल्य पुगेको छ। कम्पनीको मूल्यले अन्तिम तीन दिनको कारोबारमा डेलिब्रेसन बियरिश आकृति बनाएको छ।
यसमा तीनै दिन हरियो मैनबत्ती बनेको हुन्छ। तर, पहिलो दुई दिन हरियो लामो आकारका दुई मैनबत्ती चित्र (क्याण्डल स्टिक) बनेको हुन्छ। पहिलो मैनबत्तीको शरीरको आकृति नटुंगिदै अर्को मैनबत्ती बन्न सुरू गरेको हुन्छ।
अन्तिम दिनमा भने दुवैतर्फ लामा धागो र शरीर सानो भएको मैनबत्ती बनेको हुन्छ। अन्तिम दिनको मैनबत्तीले मूल्य बढ्न अवरोध गरेको मानिन्छ। यसले मूल्य घट्न सक्ने संकेत गर्छ। यो संकेत मध्यम मानिन्छ। मूल्य यसपछि पनि बढ्न त सक्छ तर मूल्यको बुलिश प्रवृत्ति कमजोर भइरहेको यसले देखाउँछ।
बिहीबार कम्पनीको सेयर कारोबार बुधबारको भन्दा घटेको पनि देखिन्छ। बुधबार कम्पनीको करिब ५९ हजार कित्ता सेयर कारोबार भएकोमा बिहीबार ३९ हजार कित्ता सेयर किनबेच भएको छ।
यो कम्पनी पनि नोक्सानमा छ। कम्पनीको नोक्सानी हरेक त्रैमासमा बढिरहेको छ। गत पुसमा १० करोड नोक्सानमा रहेको कम्पनी गत चैतमा १५ करोड रूपैयाँ नोक्सनमा छ।
कम्पनीसँग सञ्चित रहेको नोक्सानी ४९ करोड रूपैयाँ पुगेको छ। विद्युत बेचेर हुने कमाई सामान्य घटेको छ। गत चैतमा कम्पनीले विद्युत बेचेर ४३ करोड रूपैयाँ कमाएको थियो।
कम्पनी नोक्सानमा रहेकोले प्रतिसेयर आम्दानी पनि ऋणात्मक नै छ भने प्रतिसेयर नेटवर्थ मात्रै ६७ रूपैयाँ ०५ पैसा छ।