जेठमा १७ महिना यताकै उच्च आयात भएको छ।
जेठ एक महिनामा मात्रै एक खर्ब ५० अर्ब रूपैयाँ बराबरको सामान आयात भएको हो।
यसअघि २०७९ असारमा मासिक एक खर्ब ५७ अर्ब रूपैयाँ बराबरको आयात भएको थियो।
हालसम्म मासिक आधारमा सबभन्दा धेरै एक खर्ब ८८ अर्ब रूपैयाँ बराबरको आयात भएको छ। २०७८ कात्तिकमा सो रकम बराबरको आयात भएको थियो।
चालु आर्थिक वर्ष २०८०–८१ को ११ महिना (साउनदेखि जेठ) सम्ममा कुल आयात १.८ प्रतिशतले घटेर १४ खर्ब ५३ अर्ब रूपैयाँमा सीमित भएको छ।
निर्यात भने ३ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको यही अवधिमा एक खर्ब ४३ अर्बको आयात भएकोमा यो जेठसम्ममा एक खर्ब ३९ अर्बको निर्यात भएको हो।
त्यस्तै, आयात बढ्दै गर्दा अन्तिम उपभोग हुने वस्तुहरूको आउने क्रम बढ्न थालेको छ।
गत आर्थिक वर्षअन्त्यमा कुल आयातमा सोझै उपभोग हुने वस्तुको आयात ३८.३ प्रतिशत हाराहारी रहेकोमा यो ११ महिनामा बढेर ४१.९ प्रतिशत पुगेको छ। यस्तो सामानको आयात ७.६ प्रतिशतले बढेर ६ खर्ब आठ अर्ब रूपैयाँ बराबर भएको छ।
विशेष गरेर सोझै उपभोग गर्न सकिने टेक्सटाइल, जुत्ता, गहना, छाला पहिरन समग्री, यातायात, स्वास्थ्य, शिक्षा लगायतका सामग्रीको आयात बढेको हो।
गत आर्थिक वर्षअन्त्यमा स्थिर पुँजी निर्माण गर्ने खालका समग्रीको हिस्सा ८.४ प्रतिशतबाट बढेर ९.४ प्रतिशत पुगेको छ।
यस्ता सामग्रीको आयात १०.२ प्रतिशतले बढेर एक खर्ब ३६ अर्ब रूपैयाँ पुगेको छ।
यो अवधिमा मूल्य अभिवृद्धि गर्ने सामानको हिस्सा भने घट्दै गएको छ।
गत आर्थिक वर्षअन्त्यसम्ममा ५३.२ प्रतिशत रहेको यस्ता वस्तुको हिस्सा घटेर ४८.७ प्रतिशत भएको छ। यस्तो सामानको आयात १०.२ प्रतिशतले घटेर ७ खर्ब ८ अर्बमा सीमित भएको छ।
यसले कच्चा पदार्थ ल्याएर यही उत्पादन गर्ने उद्योगहरूको गतिविधि बढ्न नसकेको देखाउँछ।