बोल-कबोल प्रणालीबाट सेयर मूल्य कायम हुनु भनेकै मूल्य निर्धारण (प्राइस डिस्कभरी) हुनु हो।
तोकिएका योग्य संस्थागत लगानीकर्ताले बोल-कबोल प्रक्रियामा सहभागिता जनाएर दिने दरको आधारमा मूल्य कायम हुने प्रक्रियालाई बुक बिल्डिङ प्रक्रिया भनिन्छ।
योग्य संस्थागत लगानीकर्ताले बोल-कबोलमा पेस गरेको मूल्यका आधारमा धेरै मूल्य तोक्नेलाई सेयर बाँड्दै जाँदा, जुन मूल्यमा आइपुग्दा निस्कासन गरिएको सेयर सकिन्छ, त्यो 'कट अफ प्राइस' का रूपमा रहन्छ। यस्तो कट अफ प्राइसमा १० प्रतिशत घटाएर सर्वसाधारणलाई सेयर जारी गरिन्छ।
अहिले रिलायन्स स्पिनिङ मिल्सको सेयर प्रतिकित्ता आठ सय २० रूपैयाँ ८० पैसा निर्धारण भएको छ। यो प्रक्रियाबाट मूल्य निर्धारण भइसकेपछि सूचीकरणको समयमा यस्ता कम्पनीको मूल्य फेरि तोक्न आवश्यक नभएको भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आन्तरिक तयारी भएको थियो। सो प्रक्रिया सञ्चालक समितिको बैठकमा पुगे पनि अनिर्णीत अवस्थामा छ।
अहिले नेप्सेले हरेक आइपिओपछि सूचीकरण हुन आउँदा, त्यस्ता कम्पनीको पछिल्लो अडिट भएको (परिस्कृत) वित्तीय विवरणमा उल्लेख प्रतिसेयर नेटवर्थको आधारमा मूल्य रेन्ज दिने गर्छ। कम्पनीको नेप्सेमा पहिलो कारोबारका लागि प्रतिसेयर नेटवर्थको तीन गुणासम्म मूल्य तोकिँदै आएको छ। त्यसपछि भने मूल्य बजारले नै निर्धारण गर्दै जान्छ।
सर्वसाधारणका लागि सेयर जारी गर्ने अनुमति पाएर प्रक्रियामा रहेको रिलायन्स स्पिनिङ मिल्स पनि केही समयपछि सेयर सूचीकरणका लागि जानेछ।
तर नेप्सेले यसको कुन नेटवर्थ लिन्छ, अहिले नै भन्न सकिने अवस्था छैन। कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रमा तीन तरिकाले नेटवर्थ निकालिएको छ।
एउटा तरिकाले निकालिएको नेटवर्थमा सम्पत्तिको पुनर्मूल्यांकनबाट हिसाबमा निस्किने रकम जोडिएको छैन। यस अनुसार प्रतिसेयर नेटवर्थ दुई सय ४२ रूपैयाँ ०५ पैसा छ।
सम्पत्तिको पुनर्मूल्यांकनबाट हिसाबमा निस्किने रकम जोडिएको प्रतिसेयर नेटवर्थ भने चार सय ३० रूपैयाँ ११ पैसा छ। यो दुवै आर्थिक वर्ष २०७९–८० को परिस्कृत वित्तीय विवरण अनुसार हो। आर्थिक वर्ष अन्त्य भएको केही महिनापछि मात्रै परिस्कृत वित्तीय विवरण सार्वजनिक हुन्छ।
त्यस्तै, कम्पनीले नेपाल विद्युत प्राधिकरणलाई तिर्न बाँकी बक्यौताका रूपमा समेत एक अर्ब ९४ करोड रूपैयाँ छ। व्यवसायी र प्राधिकरणबीच यो शुल्कमा अहिले पनि विवाद छ। भोलिका दिनमा यो शुल्क तिर्नुपर्दा कम्पनीको प्रतिसेयर नेटवर्थ पनि क्षय हुनेछ। यसै अवस्थालाई आधार मानेर कम्पनीको प्रतिसेयर नेटवर्थ आर्थिक वर्ष २०८०–८१ को अन्त्यसम्ममा एक सय ७२ रूपैयाँ ४४ पैसा हुने अनुमान गरिएको छ।
गत चैतमा यस आधारमा प्रतिसेयर नेटवर्थ एक सय ७९ रूपैयाँ ४५ पैसा छ।
नेप्सेले यी तीनमध्ये अब कुन प्रतिसेयर नेटवर्थ लिन्छ भन्ने यकिन हुन सकेको छैन।
'यस अघिसम्म हामीले उपलब्ध पछिल्लो परिस्कृत वित्तीय विवरणको नेटवर्थ लिने गरेका थियौं,' नेप्सेका एक उच्च अधिकारीले भने, 'यसमा पनि सम्पत्तिको पुनर्मूल्यांकनपछिकै नेटवर्थ लिने गरिएको थियो।'
यसअघि नेपाल रिपब्लिक मिडियाको पहिलो कारोबार मूल्य लिँदा पनि यसैलाई आधार लिइएको ती अधिकारी बताउँछन्। केही महिनाअघि नेपाल रिपब्लिक मिडियाको सेयर सूचीकरण हुँदा पहिलो कारोबारका लागि ८४ रूपैयाँ ४६ पैसादेखि दुई सय ५३ रूपैयाँ ४१ पैसा दिइएको थियो।
तर रिलायन्स स्पिनिङ मिल्सको विद्युत प्राधिकरणलाई तिर्न बाँकी बक्यौता दायित्वको रूपमा रहन सक्ने भएकाले कुन दर दिइन्छ, यकिन हुन नसकेको हो।
सम्पत्ति पुनर्मूल्यांकनबाट प्राप्त रकम नराखी हुने नेटवर्थ लिँदा रिलायन्सले पहिलो सेयर कारोबारका लागि दुई सय ४२ रूपैयाँ ०५ पैसादेखि सात सय ५३ रूपैयाँ १५ पैसाको रेन्ज पाउनेछ। सम्पत्तिको पुनर्मूल्यांकनबाट प्राप्त हुने रकम राखेर हुने नेटवर्थ लिँदा चार सय ३० रूपैयाँ ११ पैसादेखि एक हजार दुई सय ९० रूपैयाँ ३३ पैसा पाउनेछ।
विद्युत प्राधिकरणलाई तिर्न बाँकी बक्यौता समायोजनपछिको नेटवर्थ लिँदा रिलायन्सले पहिलो कारोबारका लागि एक सय ७९ रूपैयाँ ४५ पैसादेखि पाँच सय ३८ रूपैयाँ ३५ पैसा पाउनेछ।
अडिटरहरूले तयार गर्ने परिस्कृत वित्तीय विवरणमा यी मध्ये कुन नेटवर्थ तोकेर पठाउनेछ, त्यसैको आधारमा नै पहिलो कारोबार मूल्य तोकिने सम्भावना रहेको नेप्सेका ती अधिकारी बताउँछन्।
सम्पत्ति मूल्यांकनले कसरी फरक पर्छ नेटवर्थ?
पछिल्लो समय नेपालका विभिन्न कम्पनीहरूले वित्तीय विवरण तयार पार्दा नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) अनुसार गर्नुपर्ने भएको छ। कतिपयले स्वैच्छिक रूपमा समेत यस अनुसार विवरण तयार पार्छन्।
सेयर जारी गर्नुअघिको आह्वान पत्रमा पनि कतिपय कम्पनीहरूले एनएफआरएस अनुसार विवरण तयार पार्छन्। आह्वान पत्रमा एनएफआरएस अनुसार गरे पनि आफ्नो वार्षिक वित्तीय विवरणमा यो तरिका नअपनाएका कम्पनीहरूलाई पछि पनि यसै अनुसार वार्षिक वित्तीय विवरण तयार पार्नुपर्ने बाध्यता हुँदैन। तर एकपटक वार्षिक वित्तीय विवरण यसै अनुसार गरेपछि भने पछि पनि यही अनुसार गर्नुपर्छ।
अहिले बैंक तथा वित्तीय संस्था लगायतमा एनएफआरएस अनुसार नै वित्तीय विवरण तयार पार्न नियामकहरूले निर्देशन दिइसकेका छन्।
एनएफआरएसबाट वित्तीय विवरण तयार गर्दा यसअघिको तरिकाभन्दा केही फरक तरिका अपनाइन्छ। यसले गर्दा पनि कम्पनीका वित्तीय विवरण फरक पर्छन् र यसैले सेयर बजारमा महत्त्वपूर्ण मानिने नेटवर्थ जस्ता सूचकहरू पनि फरक परेका हुन्छन्।
‘एनएफआरएस आएपछि कम्पनीहरूले सम्पत्तिको पुनर्मूल्यांकन गर्न पाएका छन्,’ चार्टर्ड एकाउन्टेन्ट सञ्जीव लम्सालले भने, ‘नेपालमा विशेषगरी जग्गाको मूल्य नघट्ने, बरू बढ्ने भएकोले वित्तीय विवरण तयार गर्न यो विधि अपनाएको वर्ष कम्पनीहरूको सम्पत्तिको आकार निकै बढेको देखिन्छ।’
कम्पनीहरूको सम्पत्तिबाट दायित्व घटाएर नेटवर्थ निकालिएको हुन्छ। यस्तो नेटवर्थलाई कुल सेयर संख्याले भाग गरेपछि प्रतिसेयर नेटवर्थ आउँछ। त्यसैले कम्पनीको सम्पत्तिको पुनर्मूल्यांकनको कारण बढ्ने सम्पत्तिले नेटवर्थ बढ्ने सम्भावना हुन्छ।
जग्गाबाहेक अन्य सम्पत्तिको पनि पुनर्मूल्यांकन भएको हुन्छ। यस्ता अन्य सम्पत्तिको आयुको आधारमा हुन सक्ने ह्रास र त्यसबापत राख्नुपर्ने प्रावधानलाई दायित्व राखेर सम्पत्तिबाट घटाइएको हुन्छ। यसरी एकपटक पुनर्मूल्यांकन भएका र आयु रहेका सम्पत्तिको मूल्य प्रक्षेपणमा फरक आएको लागेमा त्यसपछिका अन्य वर्षमा पनि पुनर्मूल्यांकन गर्दै जानुपर्ने व्यवस्था छ।
कतिपय कम्पनीले भने यसैमा पनि चलाखी गर्ने गरेको यसअघि देखिएको थियो। विशेष गरेर यस्ता आयु भएका सम्पत्तिहरूको आयु पहिलेकोभन्दा बढेको देखाएर पनि सम्पत्ति वृद्धि भएको देखाइने गरिएको थियो।