ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्स तथा प्यासिफिक डेभलपर्सबीच हरित आवास कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।
उक्त समझदारी अनुसार बैंकले ललितपुर जिल्ला, गोदावरी नगरपालिका वडा नं ३, किटिनीस्थित भूमि डेभलपर्स तथा प्यासिफिक डेभलपर्सले निर्माण गर्ने वातावरण मैत्री आवासीय घर खरिदकर्ताहरूलाई सहज रूपमा कर्जा प्रवाह गर्नेछ।
बैंकले भूमि तथा प्यासिफिक डेभलपर्सले बिक्री गर्ने वातावरणमैत्री आवासीय घरहरू खरिद गर्न चाहने ग्राहकलाई तीन कार्य दिनभित्र सरल र सहज कर्जा प्रवाह गर्नेछ।
यसकासाथै ग्लोबल आइएमई बैंक भूमि तथा प्यासिफिक डेभलपर्सले निमाण गर्ने परियोजनाको बैंकिङ पार्टनरको रूपमा समेत रहनेछ।
उक्त समझदारी पत्रमा बैंकको तर्फबाट साना, मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र डेभलपर्सकातर्फबाट सञ्चालक वेंकटेश मुन्दराले हस्ताक्षर गरे।
बैंकले १२ करोड रूपैयाँसम्म प्रवाह गर्ने हरित आवासीय घर कर्जा ७ वर्षसम्मको अवधिका लागि ८.९९ प्रतिशत स्थिर ब्याजदर र सो पश्चात् कुल कर्जा अवधिको अधिकतम ३० वर्षसम्मका लागि १.७५ प्रतिशतको प्रिमियम दरमा उपलब्ध हुनेछ।
इको–फ्रेन्डली घर÷भवन र अपार्टमेन्टहरूको निर्माण गर्न, पर्यावरण–मैत्री व्यक्तिगत घर वा आवासीय अपार्टमेन्ट तथा फ्ल्याटहरू खरिद गर्नका लागि यो कर्जा लिन सकिनेछ।
यसका साथै वातावरणमैत्री उपायहरू अवलम्बन गर्ने क्रममा विद्यमान भवनहरूलाई पर्यावरणमैत्रीमा स्तरोन्नति तथा इको–फ्रेन्डली भवनहरूको मर्मतसम्भारका लागि समेत यस कर्जाको उपभोग गर्न सकिनेछ।
बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २७७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ।