सरकार परिवर्तन हुने भएपछि सेयर बजारमा उछाल आएको छ।
नेकपा एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनाउने सहमति भएपछि मंगलबार सेयर बजारमा रौनकता छाएको हो।
यसदिन सेयर बजार दुई पटक सकारात्मक सर्किट लागेर तल झरेको हो।
बजार खुलेको एक मिनेटमै ४ प्रतिशतले बजार बढेर २० मिनेटको लागि बन्द भयो। २० मिनेटपछि फेरि खुलेको बजारमा दोस्रो पटक पनि सर्किट लागेर ४० मिनेटको लागि बन्द भयो।
सो पछि भने बजार तल झरेको हो। उतारचढावमा रहेको मंगलबारको बजार अन्तिममा ४७.०४ अंकले बढेर बन्द भएको छ।
यसदिन नेप्से २.२९ प्रतिशतले बढेर २१००.४३ विन्दुमा बन्द भएको हो।
मंगलबार कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
सोमबार दुई अर्ब ९९ करोड ९९ लाख ६५ हजार २१ रूपैयाँको सेयर कारोबार भएकोमा मंगलबार चार अर्ब ५७ करोड ६८ लाख ३१ हजार ७२० रूपैयाँको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ५८ करोड रूपैयाँ वृद्धि भएको हो।
यस दिन ३१५ वटा धितोपत्रको एक करोड १६ लाख ४५ हजार ९०५ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार २२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १७ वटाको घटेको छ। यस्तै, ३ कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन हिमालयन डिष्टिलरीको सेयर मूल्य सर्वाधिक ८.५४ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार २४६ रूपैयाँ कायम भएको छ।
समाज लघुवित्तको सेयर मूल्य ६.९६ प्रतिशतले बढेर प्रति कित्ता मूल्य दुई हजार ७८० रूपैयाँ कायम भएको छ।
उपकार लघुवित्तको मूल्य सर्वाधिक ६.४६ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ८१५ रूपैयाँ ६० पैसा कायम भएको छ।
यस्तै, हिमालयन ऊर्जा विकास कम्पनीको मूल्य ६.२१ प्रतिशतले घटेर प्रति कित्ता मूल्य २८१ रूपैयाँमा झरेको छ।
मंगलबार एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य ६८० रूपैयाँ ५० पैसामा १२ करोड ३३ लाखको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३.६९ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा गुडविल फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६४५ रूपैयाँमा ११ करोड १० लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
यसदिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक ३.३० प्रतिशतले बढेको छ।