कर्जा लगानीको तुलनामा निक्षेप बढ्ने दर उच्च रहेपछि आइतबार बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा एकै दिन एक खर्ब २५ अर्ब रूपैयाँ राखेका छन्।
राष्ट्र बैंकबाट ३ प्रतिशत ब्याज पाइने स्थायी निक्षेप संकलन उपकरणमार्फत् बैंक तथा वित्तीय संस्थाले यो रकम राखेका हुन्।
राष्ट्र बैंकले हरेक आइतबार, मंगलबार र बिहीबार बैंक तथा वित्तीय संस्थाबाट अधिक भएको यस्तो रकम प्रशोचन गर्छ।
आइतबार उठाएको यस्तो रकम मंगलबार नै परिपक्व भएर बैंकहरूमा फिर्ता जान्छ भने मंगलबार उठाएको रकम बिहीबार परिपक्व हुन्छ। बीचमा बिदा पर्ने भएकोले बिहीबार उठाएको रकम भने अर्को साताको आइतबार परिपक्व हुन्छ।
गत फागुनबाट यो उपकरण अभ्यासमा ल्याइएको हो। बैंकहरूले दोस्रो पटक एकै दिन यत्रो रकम राखेका हुन्। यसअघि गत फागुन २० गते बैंकहरूले एक खर्बभन्दा धेरै रकम एकै पटक राखेका थिए।
बैंक तथा वित्तीय संस्थाहरूले पटक–पटक गरेर यो उपकरणमा राखेको रकम १९ खर्ब २१ अर्ब रूपैयाँ भएको छ।
यसमध्ये आइतबार राखिएको एक खर्ब २५ अर्ब रूपैयाँ राष्ट्र बैंकमा नै छ।
राष्ट्र बैंकले बैंकहरूबाट पैसा तानेपछि बैंक तथा वित्तीय संस्थाहरू एकआपसमा हुने अन्तर बैंक कारोबारको ब्याजदर भने २.९१ प्रतिशतबाट बढेर ३ प्रतिशतमा आएको छ।
राष्ट्र बैंकले अन्तर बैंक कारोबारको ब्याजदर ३ प्रतिशतमा सीमित पार्ने लक्ष्य लिएको भए पनि बेलाबेलामा यो ब्याजदर तोकिएको सीमाभन्दा तल ओर्लिंदै आएको छ।
हालसम्म राष्ट्र बैंकले नियमित निक्षेप संकलन विधिबाट समेत बैंकहरूबाट ११ खर्ब ५० अर्ब रूपैयाँ प्रशोचन गरेको छ। यसमध्ये ९० अर्ब रूपैयाँ भने अझै राष्ट्र बैंकमा छ।
यसरी हाल राष्ट्र बैंकमा बैंकहरूको फिर्ता हुन बाँकी रकम कुल दुई खर्ब १५ अर्ब रूपैयाँ छ।
मुलुकमा रेमिटेन्स भित्रिने दर उच्चले बढिरहेको कारण बैंकहरूमा निक्षेप बढेको छ। तर, सोही अनुसार कर्जा लगानी हुन सकेको छैन। विगत १८ महिनादेखि मासिक एक खर्बभन्दा धेरैले रेमिटेन्स भित्रिरहेको छ।
गत बुधबारसम्म बैंकहरूमा ६३ खर्ब २ अर्ब निक्षेप संकलन र ५१ खर्ब ४५ अर्ब कर्जा लगानी थियो।
असारमसान्तमा सरकारी खर्चमा हुने वृद्धिले समेत बैंकहरूको निक्षेप बढिरहेको छ। यता, वर्षान्त नजिकिएकोले बैंकहरूले बढ्दो खराब कर्जामा कम ल्याउन कर्जा लगानीमाभन्दा असुलीमा बढी ध्यान केन्द्रीत गरेका छन्।