बैंकहरूले निक्षेपको ब्याजदर घटाएपछि सेयर बजारमा सूचीकृत ऋणपत्रमा लगानीकर्ता आकर्षित भएका छन्।
बिहीबार सेयर मूल्य सबैभन्दा धेरैले बढ्ने धितोपत्रमा प्रमुख ११ वटामा १० वटा ऋणपत्र छन्।
यी १० ऋणपत्रको वार्षिक ब्याजदर १० देखि ११ प्रतिशतसम्म छ। जेठको लागि वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा औसत ७.०६ प्रतिशत ब्याजदर दिइरहेकोमा यस्तो ब्याजदर घटेको हो।
बैंकहरूले असारको लागि प्रस्ताव गरेको औसत ब्याजदर ६.८८ प्रतिशत छ।
बैंकको ब्याजदरमाभन्दा धेरै प्रतिफल हुने भएपछि लगानीकर्ताहरू ऋणपत्रमा आकर्षित भएका हुन्। अझ यस्तो ऋणपत्रको मूल्यमा हुने परिवर्तनले सेमत थप लाभ हुने गर्छ।
यसैबीच बिहीबार नेप्से परिसूचक ८.२४ अंकले घटेको छ।
यसदिन नेप्से ०.४० प्रतिशतले घटेर २०५१.९२ विन्दुमा बन्द भएको छ।
यस दिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
बुधबार चार अर्ब पाँच करोड ८० लाख ४७ हजार ७३४ रूपैयाँको सेयर कारोबार भएकोमा बिहीबार तीन अर्ब ७१ करोड ५९ लाख तीन हजार ८२४ रूपैयाँको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ३४ करोड रूपैयाँ कमी आएको हो।
यस दिन ३३३ वटा धितोपत्रको ८९ लाख एक हजार १९५ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार ४७ कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ वटाको घटेको छ। यस्तै, ११ कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन त्रिशूली जलविद्युतको सेयर मूल्य सर्वाधिक ७.०९ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४९९ रूपैयाँ ९० पैसा कायम भएको छ।
११% माहालक्ष्मी डिबेञ्चर २०८९ को सेयर मूल्य ६.०२ प्रतिशतले बढेर प्रति डिबेञ्चर मूल्य एक हजार १४४ रूपैयाँ कायम भएको छ।
नेपाल फाइनान्सको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ९२९ रूपैयाँ ७० पैसा कायम भएको छ।
यस्तै, शिवश्री हाइड्रोपावरको मूल्य ७.८१ प्रतिशतले घटेर प्रति कित्ता मूल्य १७७ रूपैयाँमा झरेको छ।
बिहीबार नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य ९२९ रूपैयाँ ७० पैसामा २२ करोड ७६ लाखको सेयर कारोबार भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन रिइन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५५३ रूपैयाँमा २१ करोड ४१ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये तीन समूहको परिसूचक १ प्रतिशतभन्दा कमले बढेको छ भने बाँकी १० समूहको परिसूचक घटेको हो।
यसदिन वित्त समूहको परिसूचक सर्वाधिक २.२३ प्रतिशतले घटेको छ।