२०७४ सालबाट सार्वजनिक वित्तमा समस्या आएको र अहिले यो गम्भीर बनेको राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष विश्व पौडेलले बताएका छन्।
आर्थिक पत्रकार समाजले आयोजना गरेको मौद्रिक नीतिसम्बन्धी छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन्।
उनले आन्तरिक ऋणको हिस्सा बढ्दै गएर कुल कर्जामा बाह्य कर्जाको हिस्सा बराबर नै भएकोले समस्या बढ्दै गएको बताएका छन्।
आन्तरिक ऋणको ब्याज उच्च हुने भएकोले सरकारलाई भार बढ्दै गएको उनको भनाइ छ।
उनले २०४६/४७ मा पनि अहिले जस्तै सार्वजनिक वित्तमा गम्भीर समस्या रहेको बताए।
उनले भने, 'सो समय आर्थिक गतिविधि बढाइयो। अर्थतन्त्रमा उदार नीति लिइएको थियो। बैंक, बीमा कम्पनीहरू खोलिए। अहिले पनि आर्थिक गतिविधि बढाउन नयाँ क्षेत्र खोल्नुपर्छ, नयाँ क्षेत्रहरू निजी क्षेत्रलाई खोलौं।'
सरकारले समेत खर्च बढाउनु पर्ने नत्र आगामी वर्षमा समेत यसको प्रभावको कारण आर्थिक शिथिलता रहिरहने उनको भनाइ छ।