भैरहवामा सञ्चालित आयुर्वेद औषधि तथा आयुर्वेद खाद्यपदार्थ उत्पादन गर्ने कम्पनी लुम्बिनी हर्बोस्युटिकल्सले पुँजी वृद्धि गर्दै आइपिओ जारी गर्ने भएको छ।
कम्पनीले यी सबै प्रक्रियाका लागि एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एडभाइजरी सेवासम्बन्धी सम्झौता गरेको छ।
यस सम्बन्धी सम्झौतामा एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य र लुम्बिनी हर्बोस्युटिकल्सका अध्यक्ष डा. ध्रुव भट्टराईले हस्ताक्षर गरे।
एलिट क्यापिटलले 'रोड टु आइपिओ' योजना अन्तर्गत लुम्बिनी हर्बोस्युटिकल्सलाई थप पुँजी जुटाउँदै पब्लिक कम्पनीमा रुपान्तरण गरी आइपिओ निष्कासन गर्न परामर्श सेवा प्रदान गर्नेछ।
एलिटले कम्पनीको पुँजीवृद्धि, व्यवसाय विस्तार, वित्तीय व्यवस्थापन र बजारीकरणका लागि समेत संस्थागत परामर्श सेवा उपलब्ध गराउने भएको छ।
यसबाहेक आइपिओ निष्कासन प्रयोजनका लागि बिक्री प्रबन्धक र अण्डरराइटरको व्यवस्थापन पनि एलिट क्यापिटलले नै गर्नेछ।
हाल १३ करोड चुक्तापुँजी रहेको यस कम्पनीमा नयाँ लगानीकर्ता थपिएसँगै पुँजीवृद्धि गरी नयाँ प्लान्टमार्फत् उत्पादन सुरू गर्न लागिएको छ।
पुँजी वृद्धिपछि यस कम्पनीले पब्लिक कम्पनीमा रुपान्तरण भई आइपिओ जारी गर्ने योजना बनाएको कम्पनीका अध्यक्ष डा. ध्रुव भट्टराईले जानकारी दिए।
रुपन्देहीको तिलोत्तमामा १५ मा आफ्नै भवनमा रहेको कारखानामा यस कम्पनीले विभिन्न ब्राण्डका करिब २ दर्जन आयुर्वेदजन्य औषधि तथा खाद्यपदार्थ उत्पादन गरिरहेको छ।
हालसम्म औषधिजन्य उद्योगहरू पब्लिक कम्पनीको रुपमा दोस्रो बजारमा छैनन्।
२ वटा औषधि उद्योगले आइपिओ जारी गर्नका लागि प्रक्रिया सुरू गरेका छन्। तर, आयुर्वेद औषधि उद्योगको रूपमा लुम्बिनी दोस्रो बजारमा आउने पहिलो कम्पनी हुनेछ।