करिब ६ महिनादेखि रोकिएको सेयर निष्कासनको स्वीकृति प्रक्रिया अगाडि बढ्न थालेको छ।
गत पुसयता पहिलो पटक असार ७ गते बोर्डले हकप्रद सेयर जारी गर्न एक कम्पनीलाई स्वीकृति दिएको थियो।
आइपिओमा भने केही मापदण्ड अनुसार मूल्यांकन भइरहेकोले यसमा केही समय लाग्न सक्ने नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले जानकारी दिए।
उनले भने, 'यसअघि लेखा समितिले दिएका केही निर्देशनलाई कार्यान्वयन गर्नुपर्ने भएकोले आइपिओको स्वीकृतिको प्रक्रियामा केही समय लाग्न सक्छ।'
लेखा समितिको निर्देशनअनुसार धितोपत्र बोर्डले मापदण्ड पुगेका र नपुगेका कम्पनीहरूलाई अलग्याएर हेरिरहेको उनले बताए।
सार्वजनिक लेखा समितिले प्रतिसेयर नेटवर्थ ९० भन्दा बढी भएका कम्पनीलाई मात्र आइपिओ जारी गर्न सक्ने व्यवस्था गर्न, यस्तो नेटवर्थ कम्पनीले पुनर्मूल्यांकन नगरेको हुनुपर्ने तथा वास्तविक हुनुपर्ने र प्रिमियममा प्राथमिक सेयर जारी नगरेर बुक बिल्डिङ प्रक्रियाबाट सेयर जारी गर्ने लगायतका व्यवस्था गर्न धितोपत्र बोर्डलाई निर्देशन दिएको थियो।
अहिले धितोपत्र बोर्डमा २७ अर्ब ९२ करोड रूपैयाँको आइपिओ अनुमति प्रक्रियामा छन्।
यसरी अनुमति माग्ने ३५ वटा कम्पनीमा चार वटा कम्पनीले मात्रै प्रिमियम मूल्यमा सेयर जारी गर्ने गरी अनुमति मागेका छन्।
बाँकी २९ वटा (रिलायन्स स्पिनिङ बाहेक) ले अंकित मूल्यमै सेयर जारी गर्ने गरी अनुमति मागेका छन्।