आइएमई समूहले निर्माण गर्न थालेको ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत आयोजनामा लगानी जुटाइएको छ।
शुक्रबार वित्तीय व्यवस्थापन गर्न सहवित्तीयकरणका बैंकहरू र प्रवर्द्धक कम्पनीले ऋण सम्झौतामा हस्ताक्षर गरेका छन्।
सम्झौतामा हाइड्रो सपोर्टको तर्फबाट आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंकको तर्फबाट सहवित्तीयकरणको लिड बैंक नबिल बैंकका प्रमुख कार्यकारी ज्ञानेन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।
सहवित्तीयकरणका बैंकहरूको अगुवाइ नबिल बैंकले गरेको छ भने अन्य सहभागी बैंकहरूमा एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंक रहेका छन्।
आइएमई समूहको कम्पनी हाइड्रो सपोर्टमार्फत् म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका कालीगण्डकी नदीमा निर्माण गर्न लागिएको हो।
निर्माण अवधिको ब्याज बाहेक १२ अर्ब ९३ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा ७५ प्रतिशत ऋणबाट र २५ प्रतिशत स्वपुँजी (इक्विटी) बाट जुटाइएको छ। इक्विटीमा आइएमई समूह र सर्वसाधारणको लगानी रहने उल्लेख छ।
सहवित्तीयकरणका बैंकहरूले आयोजनामा निर्माण अवधिको ब्याजसहित ११ अर्ब १२ करोड रूपैयाँ ऋण लगानी गर्ने छन्।
कुल ऋणमध्ये नबिल बैंकको ३ अर्ब १२ करोड, एभरेष्ट बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक प्रत्येकले २ अर्ब र नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंक, प्रत्येकले १ अर्ब रूपैयाँ रहने छ।
आयोजनाको निर्माण सन् २०२४ बाट सुरू भई ४ वर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
नेपाल विद्युत प्रधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता हुँदा हिउँदयामको विद्युत खरिद दर ८.४० रूपैयाँ र वर्षायामको दर ४.८० रूपैयाँ कायम भएको आधारमा आयोजनाबाट हिउँदमा १३० गिगावाटबाट १ अर्ब ९ करोड रूपैयाँ आम्दानी हुने बताइएको छ।
वर्षामा २७७ गिगावाटबाट १ अर्ब ३३ करोड रूपैयाँ आम्दानी भई वार्षिक कुल ४०७ गिगावाट विद्युत उत्पादनबाट २ अर्ब ४२ करोड रूपैयाँ आम्दानी हुने उल्लेख छ।