आगामी आर्थिक वर्षको लागि ल्याइएको बजेटबाटै ब्याज आम्दानी, लाभांश र दीर्घकालीन पुँजीगत लाभमा कर बढाएर १० प्रतिशत पुर्याउनु पर्ने गरी दिइएको सुझाव सार्वजनिक भएसँगै सेयर बजार प्रभावित भएको छ।
यो समाचार तयार पार्दासम्म सेयर बजार १३ अंकले घटेको छ।
पूर्व अर्थसचिव विद्याधर मल्लिकको नेतृत्वमा गठित कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिको प्रतिवेदनले ५० लाखभन्दा माथिको ब्याज आम्दानी, लाभांश र दीर्घकालीन पुँजीगत लाभकर बढाउनुपर्ने सुझाव दिएको थियो।
प्रतिवेदनले ब्याज, लाभांश र दीर्घकालीन पुँजीगत लाभ करलाई क्रमशः यसै वर्षदेखि आगामी पाँच वर्षमा १० प्रतिशतसम्म पुर्याउने गरी करको दरमा वृद्धि गर्न सुझाव दिएको हो।
एक वर्षभन्दा बढी अवधिको लागि ७.५ प्रतिशत र सोभन्दा कम अवधिको लागि १० प्रतिशत कर लगाउन सुझाव दिएको छ।
र, वर्ष अन्त्यमा कुल कारोबारको २ प्रतिशतका दरले न्यूनतम वैकल्पिक कर लगाउन सुझाव दिएको छ। यस्तो करमा नोक्सान समेत समायोजन गर्न पाइन्छ।
त्यस्तै, प्राकृतिक व्यक्तिले व्यावसायको रूपमा घरजग्गा, सेयर र विभिन्न सम्पत्तिको खरिद बिक्री गरिरहेकाले यस्तो सम्पत्तिको निसर्गबाट प्राप्त लाभलाई समेत व्यावसायको आयको रूपमा गणना गर्न सुझाव दिइएको छ।
यसको लागि एक वर्षभित्र खरिद गरेको यस्तो सम्पत्तिमा वार्षिक कारोबार अंक तथा कारोबारको पटक संख्याको सीमा व्यावसायिक आय मान्ने व्यवस्था गर्न सुझाएको छ।
प्रतिवेदनमा भनिएको छ, 'घरजग्गा, सेयर र विभिन्न सम्पत्तिको खरिद बिक्री एवं सम्पत्ति निसर्ग बमोजिमको वार्षिक कारोबार अंक तथा कारोबारको पटक संख्याको सीमा निर्धारण गरी त्यस्तो बिक्री र निसर्गबाट प्राप्त लाभलाई व्यावसायिक आय मानी करारोपण गर्न र प्राकृतिक व्यक्तिले वार्षिक ४० लाख रूपैयाँभन्दा बढीको आयको अनिवार्य रूपमा आय विवरण दिने व्यवस्थाको अनुपालनामा जोड दिन सुझाव गरिएको छ।'
यिनै व्यवस्थाको कारण लगानीकर्ताहरू आत्तिएका छन्।