सबैको लघुवित्त र साधना लघुवित्त संस्थाको मर्जरपछिको नाममा विवाद भएपछि संस्थाका कर्मचारीहरू आन्दोलनमा छन्।
मर्जरपछि सबैको साधना लघुवित्त वित्तीय संस्था लिमिटेड नाम राख्ने प्रस्ताव गत फागुन १९ गतेको साधारण सभामा लगिएको थियो।
सभाले यही नाम स्वीकृत गरे पनि राष्ट्र बैंकसमक्ष नाम पठाउँदा साधना लघुवित्त नै राखिएको भन्दै कर्मचारीहरूले कालो पट्टी बाधेर विरोध जनाएका छन्।
उनीहरूले असार ४ गते पेन डाउन गर्ने र त्यसपछि पनि मागको बेवास्ता गरे ९० वटै शाखा बन्द गर्ने समेत चेतावनी दिएका छन्।
राष्ट्र बैंकबाट साधना लघुवित्त नै स्वीकृत भएर आएसँगै संस्थाका उच्च व्यवस्थापनले हर्षबढाइँ गरेको र विभिन्न कार्यक्रममा तत्कालीन सबैको लघुवित्त संस्थाका कर्मचारीहरूको आत्मसम्मानमा ठेस पुग्ने अभिव्यक्ति दिएकोमा अपक्ति जनाएका छन्।