पछिल्ला दस वर्षमा ऋण लिने घरधुरीको संख्या घटेको छ। लिएको ऋण तिर्न बाँकी रहेका घरधुरीको संख्या भने उच्च दरमा बढेको चौथो नेपाल जीवनस्तर सर्वेक्षणले देखाएको छ।
सर्वेक्षणले आर्थिक वर्ष २०७९/८० मा ६३.८ प्रतिशत घरधुरीले कम्तीमा एउटा ऋण लिएको देखाएको छ। यसअघिको (तेस्रो) सर्वेक्षणअनुसार वर्ष २०६७/६८ मा यस्तो ऋण लिने घरधुरी ६५ प्रतिशत थिए।
रोजगारीका लागि बिदेसिने दर बढेकाले रेमिटेन्स भित्रिने दर बढेको, कतिपयको पारिश्रमिक बढेकाले पनि ऋण लिने संख्या घटेको हुन सक्ने राष्ट्रिय तथ्यांक कार्यालयले बताएको छ।
ऋण तिर्न बाँकी घरधुरीको संख्या भने उच्च दरमा बढेको छ। तेस्रो सर्वेक्षण अनुसार ऋण लिनेमध्ये ६२.६ प्रतिशतले ऋण तिर्न बाँकी थियो।
अहिले भने ऋण लिएकामध्ये ९७.३ प्रतिशतले तिर्न बाँकी रहेको देखिएको हो।
'तर तिर्न बाँकी रहेकाको संख्यामा ऋण नतिरेकै घरधुरी मात्र पर्दैनन्,' राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख डा. हेमराज रेग्मीले स्पष्ट पारे, 'यसमा केहीले ऋण तिर्छु भनेर लिएको अवधि नसकिएको पनि हुनसक्छ।'
त्यस्तै ६.४ प्रतिशत घरधुरीले ६ वर्षअघि लिएको ऋण तिर्न बाँकी छ।
एक/दुई वर्षदेखि ऋण रहेका घरधुरी ४६.१ प्रतिशत छन्।
एक वर्ष नपुगेको ऋण भएका घरधुरी ४७.५ प्रतिशत छन्।
यो तथ्यांकले पुरानो ऋण धेरै बाँकी नरहेको देखाउँछ।
इष्टमित्र र साहुकारबाट ऋण लिने घटे, सहकारीबाट लिने बढे
ऋणी घरधुरीको ऋण लिने माध्यम भनेको इष्टमित्र, बैंक तथा वित्तीय संस्था, सहकारी, साहुकारहरू हुन्।
अहिले इष्टमित्रबाट ऋण लिनेको संख्या सबभन्दा धेरै, ४२.५ प्रतिशत छ। त्यसपछि बैंक तथा वित्तीय संस्थाबाट लिनेको संख्या २२.४ प्रतिशत छ। सहकारीबाट लिने घरधुरी १८.३ प्रतिशत र साहुकारबाट लिनेको संख्या ११.४ प्रतिशत छ।
इष्टमित्र, साहुकारबाट ऋण लिनेको संख्या यसअघिको सर्वेक्षणले देखाएकोभन्दा घटेको छ। तर त्यो समूह ऋणका लागि बैंक तथा वित्तीय संस्थामा भने आएको छैन। किनभने, यो अवधिमा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनेको संख्या दुई प्रतिशत मात्र बढेको छ।
ऋणको निर्भरता सहकारीमा भने बढ्न थालेको सर्वेक्षणले देखाउँछ। तेस्रो सर्वेक्षणले सो समय इष्टमित्रबाट ऋण लिने घरधुरी ५१.१ प्रतिशत, बैंकहरूबाट लिने २० प्रतिशत, साहुकारबाट लिने १५.१ प्रतिशत र सहकारीबाट लिने ५.१ प्रतिशत देखाएको थियो।
पछिल्लो आँकडाअनुसार ५५.८ प्रतिशतले व्यक्तिगत खर्चका लागि, २३.५ प्रतिशतले घर-व्यवहार चलाउन र २०.७ प्रतिशतले व्यवसायका लागि ऋण लिएको पाइएको छ।
त्यस्तै ६४.९ प्रतिशतले बिना धितो ऋण लिएका छन्। नातेदार र साहुकार लगायतबाट ऋण लिनेको संख्या उच्च नै रहेकाले बिना धितो ऋण लिनेको संख्या धेरै रहेको देखिएको हो। यसले अनौपचारिक माध्यमहरू नै ऋण स्रोतका रूपमा मौलाइरहेको देखिन्छ।
'यसरी ऋण लिनेमा पनि गरिब घरधुरीको संख्या सबभन्दा धेरै, ६९.६ प्रतिशत छ,' सर्वेक्षणमा भनिएको छ, 'यसले अनौपचारिक रूपमा कर्जा लेनदेन हुने प्रक्रिया उच्च रहेको देखाउँछ, विशेषगरी संवेदनशील जनसमुदायमा।'
घरजग्गाको धितोमा १७ प्रतिशतले, अन्य सम्पत्तिको आधारमा तीन प्रतिशतले र अन्य विभिन्न धितोका आधारमा १५.१ प्रतिशतले कर्जा लिएका छन्।
सर्वेक्षणले ९ हजार ६ सय घरधुरीमा यस्तो नमूना सर्वेक्षण गरेको थियो।