राष्ट्र बैंकले तिहारको लागि सुनका असर्फी र चाँदीका सिक्काको बिक्री गर्न सुरू गरेको छ।
राष्ट्र बैंकले आजदेखि कात्तिक २४ गतेसम्म सिक्का बिक्री गर्ने भएको हो। २.५ ग्राम, ५ ग्राम र १० ग्रामका सुनका सिक्का बिक्री भइरहेको बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले बताए।
राष्ट्र बैंकले बिक्री गर्ने सुन र चाँदी दुवै उच्च कोटीको ९९९ टचको हुने उल्लेख छ। सामान्य भाषामा यसलाई २४ क्यारेटका सुन-चाँदी भनेर चिनिन्छ। सुनको मूल्य भने हरेक दिन सुन चाँदी व्यवसायी महासंघले तोके अनुसार परिर्वतन हुन्छ।
गाई, गणेश र गजलक्ष्मी अंकित चाँदीका सिक्का बिक्री भइरहेको छ।
प्रक्तिव्यक्ति सुनको असर्फी एक सेट (१० ग्राम, ५ ग्राम र २.५ ग्रामको एक/एक वटा) खरिद गर्न पाउने गरेर सीमा तोकिएको छ।
चाँदीमा पनि गाई अंकित २५ र १० ग्राम, लक्ष्मी अंकित १० ग्राम, गणेश अंकित १० ग्राम र गजलक्ष्मी अंकित १० ग्राम सहितको एक सेटसम्म मात्र खरिद गर्न सकिने गरी सीमा तोकिएको छ। यस्ता असर्फी र सिक्का क्युआर कोडबाट भुक्तानी गरेर पनि खरिद गर्न सक्ने सुविधा छ।
नियमित दिनहरूमा एक सय/डेढ सयको संख्यामा बिक्री हुने यस्ता असर्फीको बिक्री तिहारका दिनहरूमा भने दैनिक ४/५ सयको संख्यामा हुने गरेको छ। तिहारको धनवन्तरी तथा धनतेरसमा विशेष रुपमा सुन, चाँदी लगायतका धातुका सामान खरिद गर्ने परिपाटी छ।
राष्ट्र बैंकले चलनचल्तीतका सिक्काहरू टक्सार गर्नुभन्दा पहिलेदेखि नै यो विभागबाट यस्ता सुन चाँदीका असर्फी तथा सिक्का बनाएर बिक्री गर्ने गर्दथ्यो।
उपत्यकाका सम्भ्रान्त वर्गहरूले समेत बच्चाहरुलाई पहिलो पटक अन्नप्रासन गर्दा चाँदीका सिक्काहरूको प्रयोग गर्ने, विवाहमा हुने ढोगभेट वा ठूला चाडपर्वमा राजपरिवार, राणा परिवार लगायतकहाँ यस्ता सुन चाँदीका यस्ता असर्फीले ढोग गर्ने चलन समेत थियो।
अहिले पनि यस्ता अवसरमा समेत राष्ट्र बैंकबाट निष्कासन हुने यस्ता असर्फीहरूको प्रयोग हुने गरेको छ। राष्ट्र बैंकले बिक्री गर्ने सुन, चाँदीको शुद्धता उच्च कोटी (९९९.९ टच)को हुने भएकोले पनि यहाँबाट यस्ता सिक्का खरिद गर्ने प्रचलन छ।
तस्बिरहरू: