यस साता नेप्से परिसूचक ३२ अंकले ओर्लिएको छ। साताको पहिलो दिन आइतबार १२२४ अंकमा रहेको परिसूचक अन्तिम दिन बिहीबार ११९१ अंकमा कायम भएको छ।
एक्सचेन्जमा साताभर १९१ कम्पनीहरुको दुई अर्ब ११ करोडको सेयर कारोबार भयो। कारोबार रकम गत साताको भन्दा ५८.४४ प्रतिशत बढी हो।
गत साता एक अर्ब ३३ करोडको सेयर किनबेच भएको थियो। यस साता वाणिज्य बैंक २७, विकास बैंक ३४, लघुवित्त ३०, होटल १४७, जलविद्युत ४३, बिमा २३१, उत्पादन ६०, अन्य समूह ७ अंकले ओर्लिए।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ६.६८ अंकले घटेर २५१.०५ अंकमा आईपुगेको छ।
यस साता कारोबार रकम (१५ करोड २५ लाख रुपैयाँ) को आधारमा एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ।
त्यसैगरी कारोबार भएको सेयर संख्या (तीन लाख ९० हजार कित्ता) को आधारमा कुमारी बैंक लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ। कारोबार संख्या (१४४९ वटा) को आधारमा रैरङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड अग्रस्थानमा रह्यो।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो। ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।